रमेश समर्थनमेरो छायाको आत्मकथा
एउटा कविता
आँधीहरू आए र गए
हुरीहरू आए र गए
पर्खालहरू ढले, फेरि ठडिए
यस्तै क्रमहरू चलिरहे र चलिरहने छन्
युगदेखि युगसम्म ।
पर्खाल त मेरो आँगनको पनि ढालियो
किलो त मेरो साँधको पनि उखेलियो
मेरो विश्वासले जगाउन खोज्यो
तर म
आत्मसम्मानमा निरन्तर गाउँदै रहें
साम्राज्य दुई हारे हारेन सान हाम्रो ।
मैले रोपेका काँक्रा र फर्सीहरू
जसलाई मलजल म गर्छु किनभने
तिनको जरा मेरै माटोमा गडेको छ
तर ती
मेरो बेरामा फल्नै चाहन्नन्
ती लहरिँदै पुग्छन् छिमेकीको छानातिर
र त्यहीँ फल्छन् पनि
अनि उसको बारीमा उम्रेका ऐँजेरुका लहरा
आउँछन् मेरो घरको छानामा र
प्वाल पारेर ठाउँ ठाउँमा
जरा गाड्छन् दारा धस्छन्,
म र मेरो छिमेकी
असल मित्र पनि हौँ, त्यसैले
ऊ लुटिरहन्छ म लुटिइरहन्छु र पनि
गाउँछु
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
एक दिन
मेरो घरलाई
ढाक्ने छन् लहरैलहराले
ऐँजेरु र बनमाराका झ्याङहरूले
अनि म अन्धकारमा
घरबाट विस्थापित भई निस्कँदा पनि
गाइरहेको हुनेछु
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
धैर्य मेरो धर्म
घरै पोलियोस् केही छैन
चेलीबेटी लुटियून् केही छैन
म
अस्मिताहीन र आश्रयहीन भएर पनि
गाउन छाड्ने छैनँ
अतिथिदेवो भव ।
चन्द्रनिगाहपुर, रौतहट
Subscribe
Login
0 Comments
Oldest








































