साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घिच्नुहोस् हजुर

Nepal Telecom ad

अरुले जेसुकै गरुन्
बाँचे बाँचून या मरे मरुन् 
घिच्नु तपाईंको महान् उद्देश्य,
यो धर्तीमा तपाईंको पदार्पण 
सिरिफ घिच्नका लागि मात्रै भएको हो 
घिच्नु तपाईंको महान् कर्म
यो मुलुकमा तपाईंको जन्म 
सिरिफ लाद्रो भर्नका लागि मात्रै भएको हो 
अघाएर गलगिद्ध भएको गोजेरो 
यता पल्टाउनुहोस्– तपाईंकै जयजयकार
उता पल्टाउनुहोस्– तपाईंकै जयजयकार
राखेर गणेशहरूलाई ओरिपरी
डम्म भएको पेट हल्कासँग थिच्नुहोस्
घिच्नुहोस्, हजुर ! घिच्नुहोस् ।

यताबाट हान्नुहोस् अनि उताबाट तान्नुहोस्
निचोर्नुहोस् अनि चिथोर्नुहोस्
कसैका बाबुको केही लाग्नेवाला छैन
तपाईंका बाबुको पनि केही जानेवाला छैन
उपाय हजार छन् हसुर्नका लागि 
विरोध गर्छन–घिच्न नपाउने र घिच्न नसक्ने लाछीहरू
ती लाछीहरूलाई
चेपुवामा चेपेर घाँटी नै थिच्नुहोस्
खानुको मज्जालाई माथ गरेर
घिच्नुहोस् हजुर ! घिच्नुहोस् ।

आँखाले देख्न भ्याए जति जम्मै कुरा
उदरस्थयोग्य वस्तुहरू हुन् तपाईंका
मनले चिताउन सके जति जम्मै कुरा

 

घिच्नयोग्य वस्तुहरू हुन् तपाईंका
योजना सोझ्याउनु होस्– विकास बजाउनु होस्
दातासँग भीख मागेरै भए पनि 
आए र पाए जति सबै सिध्याउनु होस्
त्यति मात्रैले पापी पेट कहाँ भरिन्छ र हजुरको
व्यर्थै मर्ने शहीदहरूका सपना पिउनुहोस्
विचल्लीमा छन् उनीहरूका आफन्तजन
अवोध नानीहरूका विपना सिउनुहोस्
कति स्वादिलो छ हजुरको घिच्ने क्रिया !
मूल्य र मान्यताकै रट लगाउदै 
बेसकन त्यसैको घाँटी थिच्नुहोस्
घिच्नुहोस् हजुर ! घिच्नु होस् ।

पागुर मार्नुहोस्, मस्तसँग उग्राउनुहोस्
कहिल्यै नमेटिने भोक
झन् पछि झन् जगाउनुहोस्
विचरो अख्तियार हेरेको हेर्यै छ 
तपाईं आनन्दसँग घिचेको घिच्यै हुनुहुन्छ 
घिच्नु अपराध हो भनेर भाषण पनि गर्दै हुनुहुन्छ
अनि घिच्ने क्रियालाई पनि जारी राखेको राख्यै हुनुहुन्छ 
धन्य धन्य छ तपाईंको घिचाइ–क्रम
तपाईंको घिचाइ–क्रिया रोकिएको दिन
हाम्रो लोकतन्त्रको आयु सकिने छ ।
कसैको आयु सकियोस्
अथवा कसैको वायु उत्रियोस्
घिच्नमा माहिर महोदय !
गर्धन फुलाएर विरोधलाई ह्याकुलाले मिच्नुहोस्
घिच्नुहोस् हजुर ! निर्धक्कसँग घिच्नुहोस् ।

 काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x