साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर, डाँका र बगलीमारा

Nepal Telecom ad

यत्र, तत्र र सर्वत्र कालाबजारीको उन्मुक्त बखान भइरहेको याममा मैले मात्र केही किन नभन्ने ? मलाई के लाग्छ भने नेपालका तमाम कालाबजारीहरू वस्तुत कालाबजारी नै हुन् । यस्तो नभएको भए यिनीहरूलाई श्वेतबजारी पनि भन्न सकिने थियो । अथवा लालबजारी नै भन्नोस् । यस्तै पीतबजारी, नीलबजारी, हरितबजारी इत्यादि । अब यसको सतही आवरणको रंगरोगनतर्फ नजाने हो भने एउटा अर्को वैकल्पिक शब्द पनि यो समाजमा उत्तिकै वजन एवं गरिमाका साथ प्रचलनमा रहेको पाइन्छ । अर्थात् चोरबजारी ।

मलाई त कालाबजारीभन्दा वैकल्पिक शब्द चोरबजारी भन्नु नै अपेक्षाकृत बढी यथार्थवादको नजिक हुने लाग्छ । परन्तु हामीकहाँ (राजधानी काठमाडौंदेखि लिएर ससाना गाउँसम्म) जुन हिसाबले दनादन कालाबजारी जारी छ, त्यसले यसलाई चोरबजारी नभनेर एकैचोटि डाँकाबजारी नै किन नभन्ने ? किन्तु मेरो यो विनम्र प्रस्ताव अर्थात् चोरबजारीको साटो डाँकाबजारी भन्ने कुरासँग सकल डाँकाजन सहमत होलान् जस्तो मलाई लाग्दैन ।

‘तपाईंको कुरा पुराका पुरा गलत हो ।’ यही सन्दर्भमा मेरो एक परिचित डाँकाले मलाई भन्यो ।
‘के गलत डाँकाज्यू ?’ मैले भनें ।
‘यो कालाबजारीलाई हामीसँग जोडेर हेर्ने फजुल काम नगर्नोस् तपाईं ।’
‘किन डाँकाज्यू ?’
‘हेर्नोस्, कालाबजारी कुनै हालतमा पनि डाँकाबजारी हुन सक्दैन ।’ अलिकति जोसका साथ तातियो पनि, ‘हामी डकैती गर्ने बेलामा कुनै बजार–सजारलाई हेर्दैनौं ।’
‘वर्तमान युगलाई बजारको युग भनिन्छ ।’ मैले उसतिर हेरेर जिरह गरें, ‘त्यसैले कालामा यही बजारको बजारी थपेर कालाबजारी भनिएको हो डाँकाज्यू ।’
‘तपाईंको कुरा सोहै्रआना सही भए पनि म मान्दिनँ ।’ डाँकाले आँखा तरेर मतिर र्हेयो, ‘मसँग डाँकाबजारीको कुरा नगर्नोस् तपाईं ।’
‘मैले भन्न खोजेको कुरा के हो भने डाँकाज्यू बजार…।’ मलाई हठात् बीचमै रोकेर पड्कियो ऊ ‘चुऽऽऽप ।’

हुन त मअघि बसेको डाँका रिटायर डाँका थियो । पोहोरदेखि नै डाँकागिरीको पुरै त्याग गरिसकेको भन्थ्यो । तथापि उभित्र बाँकी रहेको पुरानो डाँकापन खुलेर प्रस्तुत हुने खतरा बढेको थियो । त्यसकारण मैले डाँकाले भनेबमोजिम नै गरें । अर्थात् भयभीत भएर चुप लागेँ ।

‘तपाईंको कुरा ठिकै हो ।’ केही बेरपछि डाँकाले नै हामीबीच एउटा दूरी बनाएर लम्पसारिएको मौनतालाई भंग गरेर भन्यो ।
‘निकै सोचविचार गरेपछि मलाई के लाग्यो भने तपाईंको कुरा बेठीक होइन ।’ म चुपचापको अवस्थामै रहेकाले उसले फेरि भन्यो ।
‘के कुरा डाँकाज्यू ?’ मैले बिस्तारै भनें ।

‘अब डाँकाहरूको जमाना रहेन ।’ उसले उदास भएर भन्यो, ‘कालाबजारीले हामीलाई पुरै उछिनिसकेको छ ।’ उसको पीडा ह्वात्तै बढ्यो, ‘धन, जबरजस्ती, मोजमज्जा, शक्ति, क्रुरता, पहुँच, अमानवीयता सबैमा हामी धेरै नै पछाडि परिसकेका छौं ।’ घोर वेदनामा देखिन्थ्यो डाँका, ‘तपाईंले भनेजस्तै यो बजारको युग हो ।’ भन्दाभन्दै उसको स्वर मन्द भयो, ‘मेरो मतलव, कालाबजारीहरूका युग हो ।’ र दुवै आँखा बन्द गरेर चुप लाग्यो ।

उसले निकै बेरसम्म पनि आँखा नखोलेकाले म पनि चुपचाप डाँका भवनबाट बाहिरिएँ ।

अन्त्यमा
यहाँ चोरबजारी र डाँकाबजारीको विशद चर्चा भएकाले बगलिमाराहरू मसँग रुष्ट हुन सक्छन् । तसर्थ बगलीमाराबारे एकाध कुरा । जब कालाबजारीलाई चोरबजारी र डाँकाबजारी भन्न सकिन्छ भने बगलीमाराबजारी किन भन्न सकिँदैन ? अझ चोर र डाँकाको तुलनामा बगलीमाराहरू नै बजारसँग डाइरेक्ट जोडिएका हुन्छन् ।

अब बजार नै नभए कहाँ गएर बगली मार्ने ? जे होस् चोर, डाँका र बगलीमाराहरूका गुणवत्ता सहितको समष्टि नै वर्तमान बजार हो । याने बजारवाद । यो एउटा चोरजस्तै हाम्रो बगलीमा सुटुक्क पसेर खुलमखुला डकैती गर्ने गर्छ । अर्थात् कुनै पेसेवर बगलीमाराले झैं कुशलतापूर्वक बगली मारिरहेको छ । यही त हामीले अहिले भोगिरहेको कालाबजारी हो । होइन र ?

कान्तिपुर, मङ्सिर १२, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x