लेख निरौलातेल यज्ञमा
थियो लाम लामै भरूँ तेल भन्दा
मियो छैन जस्तो नियालेर गन्दा
नलागूँ कहाँ तेल पाइन्न फेरि
म लागूँ कहाँ खै निकै लाम हेरी ।।
छिरूँ सुट्ट आफू अरू झैँ सबेरै
फिरूँ झट्ट चाडो भरी तेल धेरै
यही भावनाले पसेँ लामभित्र
पुगेँ अन्त्यमा नै म लाटो विचित्र ! ।।
थिए अग्रवर्ती कयौँ मित्र जस्ता
कतै भक्त साक्षात् मठाधीश जस्ता
जटाजूट मुन्द्रा कतै ब्रह्मचारी
तिनैको इसारा सबै लामपारि ।।
झरी मेघ वर्षा सबै ताप खप्दै
बसेँ मौनमा तेलको मन्त्र जप्दै
छुटाएँ कयौँ काम जो माम दिन्थे
तिनै दृश्य हेर्दै त्यहाँ जे गरिन्थे ।।
म हेर्थेँ कयौँ भक्त छिर्थे सुटुक्क
सुधापान गर्ने गरी झैँ घुटुक्क
उही दृश्य देखेँ तिनै भक्त जस्ता
जहाँ अर्चनाको थियो खात दस्ता ।।
पुगे सामु कोही अहो ! चण्ड मुण्ड
सबै थर्थरायो अनौठो छ दण्ड
जहाँ साधु जस्ता तिनैमाथि दण्ड
कतै क्रोधको ताप आफै प्रचण्ड ! ।।
न सर्थ्यो कतै लाम आफ्नो अचम्म !
न गर्थ्यो कुनै पक्षले न्याय सम्म
बिताएँ रमाएँ जपी दिव्य मन्त्र
तिनै भक्तको भो सबै यज्ञ तन्त्र ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































