स्नेह सायमिबन्दुक र रातो गुराँस
प्रिय !
मेरो प्यारो मान्छे
प्रत्येक बर्ष आउंछ १४ फेब्रुअरी
र त्यहीबेला आउँछ फागुन १
म एकै पटक सम्झन्छु त्यो जंगलको गुराँस
र तिमीसँगको प्रणय
हामीले भिरेको बन्दुक
र देश प्रतिको प्रेम
म सम्झन्छु,
जंगलमा हिँड्दाका थकित दिनहरू
भोक, तिर्खा र मारिने डर
त्यतिखेरै सम्झंछु
तिम्रो प्रेमपुर्ण नजर
मेरा दुइ सपना
मेरो देशको मुक्ति
र मेरो प्रेमको सफलता
मसँग हुन्थे एक रातो गुराँस र एक बन्दुक
सोह्र बर्षमा टेकेकी थिएँ
दससम्म पढेकी थिएँ
आमाको काख र
स्कुल छोडेर युद्धमा होमिएकी थिएँ
मेरो भोक, मेरो शिक्षा, मेरो परिवार भन्दा ठुलो
मेरो देशको मुक्ति
मैले नगरे कसले गर्छ ?
मैले नलडे कसले लड्छ ?
मैले यहि सिकेकी थिएँ
चार बर्षपछि तिमीलाई भेटेकी थिएँ
घोप्टे भिरमा भाग्दा भाग्दै जब चिप्लियो मेरो खुट्टा
तिमीले मलाई अचानक अँगालेर उडेका थियौ
मैले मेरो झरिसकेको जिन्दगी र तिम्रो अँगालो पाएकी थिएँ
बन्दुक भिरेरै
मनमा रातो गुराँस फुलाएकी थिएँ
मेरो प्यारो मान्छे
मेरो कमरेड
अहिले त बुझाईसकें बन्दुक र त्यसप्रतिको आस्था
र पुरानो सपना पनि
अहिले फर्केर आएको छ भोक
र म खोजिरहेछु एउटा रोजगार
मलाई चाहिएको छ
सीप र ज्ञान
पल्टाई रहेछु पाठ्यपुस्तकहरू
तिमी मेरो अगाडि भएको भए के भन्थ्यौ कुन्नि
कमरेडहरू पनि
पुरानै स्कुल गैरहेछन्
पुरानै डिग्रीमा गौरब गरिरहेछन्
पुरानै सिंहदरबार मर्मत गरिरहेछन्
म
सिंह दरबारको गेट अगाडि
भारतीय मेवा र चाइनिज स्याउ बेचेर
गुजारा गरिरहेछु
मलाई थाहा थिएन
युद्ध र प्रणय दिवस
सँगसँगै आउँदो रहेछ
म सम्झिरहेछु उही गुराँस उही बन्दुक
मेरो प्यारो मान्छे
म तिमीलाई संझिरहेछु ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































