प्रल्हाद पोखरेलछन्दका तिन टुक्रा
१. जसको लठ्ठी उसको भैँसी
ताला डम्म विवेकमा हृदयका ढोका सबै बन्द छन्
बोलीका व्यवहारका लयहरू सम्पूर्ण बेछन्द छन्
के आयो अनपामरी चलन यो अस्तित्व नै सिद्धिने
लठ्ठी बोक्तछ जो दरो किसिमको भैँसी उसैको हुने !
२. सत्यको सातो
जो सन्देश थियो अतीततिरको हेर्दै नहेरे भयो
सम्झायो इतिहासले जुन कुरा टेर्दै नटेरे भयो
प्राणीका हितको छ चिन्तन कहाँ सोध्दै नसोधे भयो
सातो उड्दछ सत्यको जब सधैँ के मात्र सद्दे रह्यो ?
३. अर्थहीन वाणी
हेरी दूर भविष्यतर्फ सपना देख्दै नदेखे भयो
पोखी भाव नयाँ सुरम्य कविता लेख्दै नलेखे भयो
मान्छेभित्र मनुष्यता जति थियो खोल्दै नखोले भयो
वाणी छन् जब अर्थहीन अधुरा बोल्दै नबोले भयो !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































