प्रदीपरत्न शाक्यनव वर्ष
विवेकहरूको
भग्नावशेषमा छु
मात्र स्मरण फुल्छ र घोचिन्छ,
त्यहाँ सपना नै कहाँ जन्मन्छ ?
भो कल्पना नजगाऊ !
अश्रुधार भो जिन्दगी
सिंचाई पारी बगिरहेको पीडामा,
हो, बगैँचाको सपनामा
अब म रम्दिन ।
दुर्गन्धसँग बग्नै पर्ने
बाध्यता
म अब भएको छु ।
ब्रम्हाण्ड जोड्ने लक्ष !
तँ नआइज !
आँधी, डढेलोको बोलवालामा छु
बहार नै यहाँ
कहाँ देखिन्छ र
त्यो सपनामा जस्तै ।
हुँ चेतना
थोत्रे घडी जस्तै
क्षितिज बन्न चाहन्न ।
झुल्कने छैन
घाम
मेरो निधारमा अब
बिहानी नै खरानी भइरहेको
यो बेलामा ।
नव वर्ष !
तिम्रो आत्मियता
आज स्वीकार्दिन ।
घाउ आलै छ
गत वर्षले दिएको ।
सायद यी पुरिने छैन !
हो आँसुमा
तिमी चम्किने छैनौ ।
हाँसोमा म चम्किने छैन ।
गर्व, लालित्य
परस्पर दुश्मन भइरहेको
यो बेलामा ।
हो म भन्न चाहन्न
तैपनि भनी हाल्छु
किनकि
यो असह्य पीडा
मलाई ब्युँझाई रहन्छ
त्यो शकुनीको पासाले झैँ,
कतै फेरि पनि
मेरो धरतीको चीर हरण त
हुन गइरहेको छैन ! ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































