तिरस्कृत कलमबाट
(२० वर्ष अगाडि लेखिएको कविता)
अरू क्षेत्र सम्मानित हुँदा
साहित्य भएन
योभन्दा ठुलो दुःख
अरू केही लागेन
ठिकै सुनेको रहेछु
भानुभक्तहरू उपेक्षित भएको
देवकोटाहरू पागल भएको
र गोकुल जोशीहरू भोकभोकै मरेको
बिलकुलै साँचो सुनेको रहेछु
आज प्रमाणित भयो
आफ्नै आँखाले देखियो ।
चर्चा चल्यो
शिक्षाको
पत्रकारिताको
खेलकुदको
राजनीतिको
चुनाव र उप चुनावको
सगरमाथाको
र सगरमाथाभन्दा पनि अग्लो
शहीदहरूको गाथाको
योग्यताको
व्यक्तित्वको
चर्चा चल्नैपर्थ्यो, चल्यो
तर कसैले चर्चा गरेन
साहित्यको
स्रष्टाहरूको
योगदानको
कलम र शब्दहरूको
कसैले एक शब्द पनि उच्चारण गरेन
मानौँ साहित्य केही हुँदै हैन
अरू क्षेत्र वाहवाही हुँदा
साहित्यको भएन
योभन्दा गहिरो घाउ
अरू केही लागेन ।
सत्तालाई साहित्य
घाँडो हुन्छ क्यारे !
तगारो हुन्छ क्यारे !
नत्र बारम्बार किन यस्तो हुन्छ ?
सत्ता साहित्यसँग किन डराउँछ ?
प्रतिबध्दता बोकेकाहरू पनि
कुर्सी भेट्टाएपछि
चटक्कै बिर्सिँदारहेछन् साहित्यलाई
रौँ बराबर पनि गन्दारहेनछन्
जब ढल्लान् माथिबाट
भानुभक्तहरूलाई सम्झेर रोलान्
देवकोटाहरूलाई सम्झेर छाती पिट्लान्
गोकुल जोशीहरूलाई सम्झेर चुकचुकाउलान्
र फेरि प्रतिबध्द भएको स्वाङ रच्लान्
बिर्सने क्रम दोहरिएला
तेहरिएला
कैलेसम्म ?
प्रश्न अनुत्तरित छ
अरू क्षेत्रको प्रशंसा हुँदा
साहित्यको भएन
योभन्दा गहिरो चोट
अरू केही लागेन ।
२०५३ माघ १६
हेटौँडा