धनराज गिरीशठ जति सबै पण्डित भए
कठै नेपालीको रहर किन हो मासिन गयो
नदी सेती जस्तै तल तल अहो भासिनगयो
खरानी भो सारा अनल जगमा दन्किन गयो
हरे मान्छे आफैं किन किन त्यसै सन्किन गयो
छ जो लाटो सोझो दलित बिचरो रुन्छ मनमा
न पायो साथीले तिउन गतिलो बस्त्र तनमा
अभावै भो साथी दिन दिन अझै आश तुहियो
सुकुम्बासी बन्दै वन वन डुल्यो बास चुहियो
न गाई गोठैमा न त पशु कुनै पाल्न सकियो
अभागी खम्बा त्यो न धन बटुली ढाल्न सकियो
अहो हेर्दा हेर्दै जगत सजिलै फेरिन गयो
नेपाली माटो यो किन किन सखे घेरिन गयो
न हामी बैरी हौँ मनुज सबको यो जगतमा
न बोकी हिड्छौं रे जहर बदलाको रगतमा
सह्यौं पीडा धेरै तर पनि हिड्यौं अग्नि पथमा
न पायौ गाडा नै न त टक टके अश्व रथमा
मनीषी नेपाली अनसन बसे दण्डित भए
हरे के हो पारा ? शठ जति सबै पण्डित भए
बिलौना के लेखौं ? गह दह भयो ताप थपियो
अरे मान्छे तेरो मन गगनमा पाप थपियो /
चितवन
Subscribe
Login
0 Comments
Oldest








































