सुलसुलेमहान् राष्ट्रसेवकहरू
आज बिहान चिया पसलमा चिया खाने क्रममा एक जना ‘बा’ सँग भेट भो, उनीसँग भएको गफको सारांश :
मैले सोधेँ– बा तपाई त बहुत सुखी जस्तो देखिनु हुन्छ , के गर्छन् तपाईका छोरा छोरी ?
बा : हो नि बाबू, मेरा छोरा छोरी सबै राम्रो ईलममा लाइरेछन्, देशको सेवा गर्ने राष्ट्र सेवकहरू पो हुन् त तिनेरू । म त खुशी छु ।
जेठो नापिको खरीदार हो, तलप जम्मै बचाउँछ, अरुनै आम्दानीले त्यसको घर खर्च चल्छ । माइलो घरेलुमा सुब्बा छ, बड़ो समाज सेवी छ बाबू त्यो । मोरोको आपिसमा बाहिरी कमाई त तेस्तो हुँदो रैनछ , तर अहिले … पार्टीमा लागेर कर्मचारी संगठनको अदक्ष कि के जातिमा जिती रछ, त्यो मोरो त कहिले मन्त्री, कहिले सचिप भेट्न गैरन पर्दो रछ, उसको घरमा त कर्मचारीहरूको भिड नै हुन्छ, बरा सबै मान्छेको काम गर्दिन्छ, काम गरे बापत आएको पैसा पनि “मलाई त कत्ति पनि चाहिन्न, यो सबै पार्टीलाई दिनु पर्छ” भन्छ ।
त्यो पोस्टमा पुगेपछि पन्ध्र दिनको बीचमा एउटा नाती, एउटा उसैको सालो र भाञ्जो अनि कुन चाहिँ एउटी पोइ छोडेर बसेकी आइमाईलाई मन्त्रीलाइ भनेर जागीर लाइदियो ।
कान्छो चाहि माल अड्डामा छ । अर्को पार्टीको सरखार आएपछि, तँ सधै काठमांडूमै बसेर खाने ? भनेर बाहिर जिल्ला सरुवा गर्दिया थे, अहिले उसको पार्टीको सरखार आएपछि फेरि जागीर काठमांडू ल्याई रछ, उसकी दुलई पनि हेलफसमा नर्सनी थी, हप्ते पिछे जागीरमा हाजिर गर्न जान्थी, पापीहरूले जागीर खाएपछि दिन दिनै आपिस जानु पर्दैन ? भन्दै दुख दिन्थे, आइमाई मान्छे दिनदिनै घर छोडेर आपिस जान सक्छन त, बाबू ? अहिले जेठाजुले चुनाउ जितेसी तिमीले पिर नमान बुहारी, सबै म मिलाउँला भनिरछ । नाति नातिना सबै काठमांडूमा बोर्डिङ र पलस टूमा पढ्छन्, हामी बुढा बुढीलाई हाईसन्चो छ बाबू ।”
म : ल तपाईंले महान् राष्ट्रसेवकहरू जन्माउनु भएछ, बधाई छ बा ।
अनि म “सरखारी सेवा गर्न नपाउने हामी जस्ता नामर्दको के काम” भन्दै बाटो लागेँ ।
–रामहरि
Subscribe
Login
0 Comments
Oldest











































