साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ३६१ औँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं, ०७३ असार ४ । साहित्य सन्ध्याको नियमित मासिक कार्यक्रमको ३६१ औँ शृङ्खला शनिवार सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । कवि, समालोचक एवम् प्राज्ञ डा.अमर गिरीले ‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयमा विश्लेषण गर्नु भएको थियो ।

गोष्ठीमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य, सहप्रा. एवम् कवि डा.षडानन्द पौडेलद्वारा लिखित ‘देवव्रतको नेपाल यात्रा’ कविता सङ्ग्रहको समेत लोकार्पण एवम् परिचर्चा गरिएको थियो ।

उत्तर आधुनिकतावादको प्रभाव विषयमा चर्चा गर्नु हुँदै समालोचक एवम् प्राज्ञ डा.अमर गिरीले यसको आक्रमण शक्तिशाली बन्दै गएको बताउनु भयो । ‘वर्गीय आन्दोलनबाट किनारा लागेर सामाजिक सांस्कृतिक आन्दोलनतर्फ लाग्नु, मुख्य विषय छाडेर झिना मसिना कुरामा लाग्नु, वर्गलाई होइन वर्णलाई अस्तित्वमा ल्याउन खोज्नु उत्तर आधुनिकतावादको प्रभाव हो’ गिरीले भन्नु भयो ।

प्राज्ञ डा.अमर गिरीले डा.षडानन्द पौडेलद्वारा लिखित ‘देवव्रतको नेपाल यात्रा’ कविता सङ्ग्रहको लोकार्पण गर्नु भयो । लोकार्पित कविता सङ्ग्रहमाथि उपप्रा.मुक्तराज उपाध्यायले समीक्षा गर्नु हुँदै समाजमा विद्यमान विकृतिका प्रतिको आक्रोश, श्रमको सम्मान नभएको प्रति चिन्ता र आक्रोश कवितामा आएको बताउनु भयो ।

कवि पौडेलले ढिलो प्रकाशन गर्दा कविता सिर्जनाको समय क्रमसँगै सान्दर्भिकता पनि परिवर्तन हुँदो रहेछ भन्नु भयो । बालकवि नम्रता श्रेष्ठको कविताबाट कविता वाचन प्रारम्भ गरिएको थियो भने अन्य कविहरू ओमप्रसाद कोइराला, लीलाराज दाहाल, पूर्ण विराम, बलराम विष्ट, अतृप्त पाण्डेय, राधिका आचार्य, बैरागी जेठा, रामबहादुर पहाडी, सुरज आचार्य, अमर राई, प्रदीप मैनाली, भुवन सिवाकोटी, नवराज श्रेष्ठ, कणाद महर्षि, रामदेव पाण्डे, गोविन्द नेपाल, उमेश उपाध्याय, कल्पना काफ्ले, रमेश गौतम पाल्पाली, नीलहरि सुवेदी, धनबहादुर मगर, गोपाल नेपाल, विष्णु अधिकारी, नारायण भण्डारी जनकपुरे, जयन्ता पोखरेल, तारा गाउँले, अशोक कुँवर, अमृता स्मृति, भावना न्यौपाने, माधव पोखरेल, डिल्लीराज अर्याल, चूडा निर्भीक, ध्रुवराज घिमिरे, पुण्य गौतम ‘विश्वास’ र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित रचनामाथि डा.नारायण गड्तौलाले टिप्पणी गर्नु हुँदै वाचित कवितामा देशको समसामयिक परिवेश चित्रण, युगको विचलन आदिलाई विचारको माध्यमबाट चुनौतीका साथ सम्प्रेषण गर्दै रूपान्तरणको आग्रह गरिएको उल्लेख गर्नु भयो ।

गोष्ठीका सभाध्यक्ष राम विनयले सहभागी सवैप्रति धन्यवाद ज्ञापन गर्दै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने जानकारी दिनु भएको थियो ।

–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x