साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक नाजी छायाँ

Nepal Telecom ad

ऊ मेरो बाको घर आवत-जावत चल्ने साथी थियो। एकताक ऊ मेरो घरमा आइरहन्थ्यो। र, बासँग एकाध घण्टा बस्थ्यो। बा पनि ऊ आएपछि हँसिलो बन्नुहुन्थ्यो। र, ऊसँग थुप्रै शीर्षकअन्तर्गत गफ थाल्नुहुन्थ्यो। विशेषत: धर्म, दर्शन र देश, देशान्तरका राजनीति र गतिविधिका गफहरु उहाँहरुबीच चल्थ्यो। बाटोमा देख्दा चाहिँ ऊ मलाई सोधिहाल्थ्यो,
\’बालाई सञ्चै छ ?\’
म भन्थेँ,
\’हजुर सञ्चै छ।\’
यो कुरो म बालाई पनि सुनाउँथें। र, बा खुसी हुनुहुन्थ्यो।
ऊ हाम्रो घरमा अक्सर साँझ आउँथ्यो। मेरो बा पनि उसको घरमा साँझा नै जानुहुन्थ्यो। बा घर अबेला आएको बेला आमाले कारण सोध्दा उहाँ भन्नुहुन्थ्यो,
\’राम कँड़ेलकाँ गएको थिएँ।\’
सायद ऊ पनि आफ्नो घरमा यस्तै जवाफ दिँदै भन्थ्यो होला,
\’हरिभूषणकाँ गएको थिएँ।\’
तर एक साँझ बा र ऊबीच देशको राजनीतिसम्बन्धमा निक्कै चर्काचर्की चलेको थियो। रात राम्रै पर्दासम्म ऊ र बाबीच एउटै कुरोमा बहस चलिरह्यो। पछि ऊ गएपछि बाले निकै खल्लो मान्नु भयो। त्यो रात बाले केही खानु भएन। हामीलाई पनि निकै खल्लो लाग्यो।
त्यो रातपछि ऊ हाम्रो घरमा फेरि आएन।
त्यसपछि यता मैले उसलाई देख्न छाडेको पनि चार वर्ष भैसकेको थियो। त्यसकारण ऊ पनि दिवंगत भैसक्यो होला भन्ने मैले सोचेको थिएँ। तर, त्यस दिन फुटपाथमा उसको वृद्ध अनुहार एक्कासी देख्दा म झस्केको थिएँ। यथार्थमा ऊ मेरो अगाडि जीवित थियो। मलाई ऊसँग \’ यतिन्जेल कहाँ हुनुहुन्थ्यो ?\’ भन्ने सोध्न मन लागेको थियो। तर, मैले ऊसँग त्यस्तो केही सोधिन। बरु पहिलेझैं श्रद्धासाथ हात जोड्दै भनेको थिएँ,
\’नमस्कार हजुर। \’
यसपछि गम्किएर उसले सोधेको थियो,
\’बाउको के छ नि खबर ? \’
मैले दु:ख भरिएको मुद्रामा भनेको थिएँ,
\’बा त वित्नु भयो…।\’
तर उसले यस्तो भनेको थियो,
\’बल्ल मरे छ त्यो कम्युनिष्ट ? \’
त्यसपछि त्यो नाजी छायाँ हाँसेजस्तो लाग्यो मलाई ।

(\’नेपाल\’२०६०,माघ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x