सुलसुलेकेशवराजका दुई हास्यव्यङ्ग्य कृति विमोचन
काठमाण्डौ, ज्योति साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हास्यव्यङ्ग्यकार केशवराज अर्याल ‘निश्चल’का दुईवटा हास्यव्यङ्ग्य कृति विमोचन गरिएका छन् । प्रतिष्ठानले आफ्नो साहित्य गतिविधिको ७७ औं श्रृङ्खलामा केशवराजको ‘आन्द्राभुँडी’ कवितासङ्ग्रह र ‘३७ महापुराण’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह सार्वजनिक गरेको हो । प्रा.डा. रामकुमार पाँडेले कृतिहरू लोकार्पण गर्नुभएको हो ।
कृति लोकार्पण गर्दै मन्तव्यका क्रममा रामकुमार पाँडेले देश झन् पछि झन् गाईजात्रामय बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । हाम्रो सामाजिक राजनीति विद्रूपमाथि हास्यव्यङ्ग्यकारहरूले अझ सशक्त प्रहार गर्नु पर्ने बताउँदै नवागत हास्यव्यङ्ग्यकार अर्याललाई शुभकामना र बधाइ दिनुभएको थियो ।
लोकार्पित कृतिमाथि ज्ञानुवाकर पौडेल, कमला रिसाल, पवन आलोक श्रीहरि फुँयाल, मुरारी सिग्देल, बाबु त्रिपाठी, डम्बर घिमिरे, बलराम दाहाल, प्रभाती किरण, राजेश खनाल, मणिराज सिंह लगायतले टिप्पणी गर्दै कृतिकारलाई बधाइ दिएका थिए ।
ज्योति साहित्य प्रतिष्ठानको यस विशेष शृङ्खलामा बाबु त्रिपाठी, राजुराज स्वयं, संगीता थापा, भुवनहरि सिग्देल, प्रीति कौर, उराठ लगायतले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए ।
केशवराज अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य कृति ‘आन्द्राभँुडी’मा सामाजिक, राजनीतिक विकृति र जीवनका अनेक पक्षलाई व्यङ्ग्यको झटारो हान्दै रचना गरिएका तीन दर्जनभन्दा बढी हास्यव्यङ्ग्य कविता सङ्कलित छन् । त्यसै गरी लोकार्पित कृति ‘३७ महापुराण’मा ‘क’ देखि ‘ज्ञ’ सम्म र थप ‘अ’ समेत गरी जम्ममा ३७ वटा अक्षर वर्णमालाबाट अक्षर अनुप्रास मिलाएर नयाँ खाले प्रविधि अपनाई ३७ वटा निबन्धहरूको सङ्ग्रह गरिएको कुरो सुलसुलेले चाल पाएको छ ।
(सुलसुले)
Subscribe
Login
0 Comments
Oldest












































