डा. टीकाराम पोखरेलहड्डीमा राष्ट्रिय सहमति
केही दिन अगाडि अचानक “सिंहदरबारमा एउटा ठूलो हड्डी फेला पर्यो” भन्ने सनसनीपूर्ण समाचार आयो । टेलिभिजनका स्क्रिनहरूमा ब्रेकिङ न्यूज भन्दै हड्डी फेला परेको समाचार महत्वका साथ प्रसारण हुँदै थियो । हेर्दाहेर्दै एकैछिनमा ब्रेकिङ न्यूजका नयाँ संस्करणहरू देखिन थाले, ल हड्डीका दाबेदारहरू देखिन थाले भन्ने सुनियो । केही छिनमा त फेला परेको हड्डी तँ खाने कि म खाने भन्ने तँछाड मछाडको स्थिति छ भन्ने समाचारहरू एकपछि अर्को गर्दै आए ।
टेलिभिजनका स्क्रिन, रेडियोका तरङ्गहरू र पत्रपत्रिकाका पानाहरूमा यही हड्डी फेला परेको समाचारले पहिलो प्राथमिकता पायो । केही दिनको अन्तरालमा हड्डी फेला परेको न्यूज भन्दा पनि हड्डी खान पाउने कसको अधिकार हो भन्ने समाचारले समाचार माध्यम भरिए । हड्डीप्रेमीहरू त हड्डी खान राष्ट्रिय सहमतिको खोजिमा लागेका छन् रे भन्ने कुरा पनि प्रकाशमा आए । तर सबै हड्डीप्रेमीहरूको एउटै दाबी थियो, हड्डी आफूले नै पाउने कुरामा राष्ट्रिय सहमति हुनुपर्छ । यस अर्थमा सबैको विचार मिलेको थियो । सबै अरुले खाने होइन म नै खाने भन्ने दाबी प्रस्तुत गर्दै थिए ।
हड्डीको हारालुछमा देशका विभिन्न समूह उपसमूहहरू देखा परे । हड्डीको महान् पारखी देशकै गौरवशाली र क्रान्तिकारी हड्डीप्रेमी समूहको महान् र शक्तिशाली हड्डीप्रेमीले भने– “यो देशका हड्डीप्रेमी समूहमध्ये सबैभन्दा ठूलो हड्डीप्रेमी समूहको सबैभन्दा ठूलो हड्डीप्रेमी म हुँ । यही हड्डीका लागि मेरै नेतृत्वमा एक वर्षदेखि आन्दोलन भैरहेको छ । त्यसैले यो हड्डीको सबैभन्दा खरो दाबेदार म हुँ ।”
यो कुरा भुइँमा खस्न नपाउँदै सोही समूहका अर्का हड्डीप्रेमीले आफ्ना समूहका पहिलो दाबेदारलाई भने– “अहँ ! तँबाट हड्डी खान सक्ने संभावना छैन । पहिला पनि तैले एउटा हड्डी फेला पारेको हो, राम्रोसँग चपाएर खान सकिनस् । फेरि यो हड्डी खान त राष्ट्रिय सहमति चाहिन्छ, तेरो चपाउने दाँत कमजोर भएकाले तेरो नाममा राष्ट्रिय सहमति जुट्दैन, मेरा नाममा जुट्छ, त्यसैले हड्डी म खान्छु ।”
आफ्नै समूहमा आपूmभन्दा जुनियर अर्को हड्डीको दाबेदार निस्केको देखेर सिनियर हड्डीका दाबेदारलाई मन परेन । उनी रातोपिरो देखिए । जोशले कड्की हाले । बसेको ठाउँबाट जुरुक्क उठेर जुनियर दाबेदारलाई हातले लोप्पा दिँदै भने– “इस् ! खालास् तँ हड्डी । म जेठो बाठो हड्डी खाने हुँदाहुँदै त माहिलो पनि होइन साहिलो भएर हड्डी दाबी गर्ने ? तँलाई त दिन्न दिन्न । बरु आफू खान सकिनँ भने म अर्कै समूलाई खा भनिदिन्छु ।”। एउटै समूहमा दुई हड्डी दाबेदार देखिएपछि द्वन्द्व चर्कियो । एउटै समूहभित्र पनि हड्डीमा तँछाड मछाड भएपछि अरु हड्डीप्रेमी समूह रमाए र हड्डीमा आफ्नो दाबा प्रस्तुत गरे ।
हड्डीको प्रबल दाबेदारको रुपमा आफूलाई ऐतिहासिक समूह भनेर दाबी गर्ने अर्को एउटा समूह निस्कियो र त्यस समूहको एउटाले भन्यो– “हामी यो देशको सबैभन्दा पुरानो हड्डीप्रेमी समूह हौँ । इतिहासमा हामीले पटक पटक हड्डी खाइसकेको भए पनि वर्तमान परिप्रेक्ष्यमा फेला परेको जुन हड्डी छ त्यो हामीले एक पटक पनि खान पाएको छैन, त्यसैले हड्डी यसपटक हामीले पाउनुपर्छ । यतिखेर हाम्रो समूहको सबैभन्दा प्रभावशाली म हुँ । त्यसैले मलाई सबैले मेरो समूहको नेतामा निर्वाचित गरेका छन् । मैले मेरै पार्टीका सिनियर भनाउँदालाई समेत हराइदिइसकेको छु । त्यसैले यतिखेर मेरा नाममा राष्ट्रिय सहमति बन्नुपर्छ ।” यो सुन्नेबित्तिकै सोही समूहको अर्को जंगियो र भन्यो– “ए ! बकवास नगर । हाम्रो समूहमा म वरिष्ट हुँदाहुँदै तँ हड्डीको दाबी गर्ने ? हेर त मर्यादाक्रममा को अगाडि छ, हाम्रो समूहमा ।”
यसरी यो समूहमा पनि तँछाडमछाड हुुँदै थियो । तेस्रो हड्डीप्रेमी समूहको एउटा प्वाक्क बोल्यो– “ए ! तिमीहरूको हड्डी खाने विषयमा निकै झगडा भो । एउटै समूहमा २÷२ जना उम्मेदवार भयौ । ल, मलाई देओ हड्डी, म खान्छु । मेरो समूहमा म एकल दाबेदार छु । मेरा समूह भित्रका प्रतिद्वन्दी कोही चुनाव हारेर आफ्नो खप्परलाई दोष दिँदै बसेका छन् कोही भर्खरै हड्डी चपाएर थाकेका छन् । यस्तो बेलामा सबैभन्दा उत्तम उपाय मेरो नाममा सहमति हुनुपर्छ ।”
तर फेरि पहिलो र दोस्रो समूहका हड्डीप्रेमी किन मान्थे । खबरदारी गरिहाले । भने– “यस अगाडि पनि तिमीहरूकै समूहकोले हड्डी खायो, भर्खरै तिमीहरूको समूहको एउटा हड्डी चपाउँदा चपाउँदा थाकेर बसेको छ, फेरि पनि तिमीहरूकै समूहको कसरी हुन्छ हड्डी ? अहँ, कदापि हुन सक्तैन ।”
यी तीन ‘ठूला’ नामधारी हड्डीप्रेमी समूहभित्रका हड्डीप्रेमीहरूको हड्डी आफ्नो पक्षमा पार्न तँछाड मछाड चल्दै थियो । अरु केही हड्डीप्रेमी च्याऊ समूह सल्बलाए, र भने– “ल यी ठूला भनाउँदाहरूको कुरा मिल्दैन । त्यसैले हामी खाऊँ हड्डी ।” च्याऊहरूको संयुक्त वैठक बस्यो, च्याऊहरूले वैठकबाट यस्तो निष्कर्ष निकाले– “हामी च्याऊ हौ, च्याऊ–च्याऊ मिलेर च्याऊ समूह भएका छौँ । च्याऊ सिजनल हुन्छ । सिजनमा जताततै उम्रन्छ । आज हामी जताततै उम्रेर देशमा थुप्रै च्याऊहरू देखिएका छौँ । तर च्याऊको के भर हुन्छ र ? उमेर पनि लामो हुन्न । भोलि हामी सबैको अस्तित्व रहन्छ रहन्न । त्यसैले यतिखेर हामी च्याऊहरू मिलेर बनेको च्याऊ समूहबाट हड्डीमा दाबी प्रस्तुत गरौँ । अब पालो पनि हामीहरूकै हो । पाएको बेलामा खाइहाल्नुपर्छ हड्डी ।”
अब च्याऊ समूहले पनि धुवाँ छुट्ने गरी हड्डीमाथि आफ्नो दाबी प्रस्तुत गर्यो र भन्यो– “ए, ठूला भनाउँदा हड्डीप्रमी हो ! हड्डी तिमीहरू छोड, तिमीहरूसँग यो हड्डी चपाउन सक्ने क्षमता छैन । हामी चपाएर देखाइदिन्छौँ । हाम्रा दाँत बलिया छन् हड्डी चपाउन ।”
हड्डी कसले खाने खेल टुङ्गो लागि सकेको थिएन । टेलिभिजनका स्क्रिनहरूमा, रेडियोका तरङ्गहरूमा अनि पत्रपत्रिकाका पानाहरूमा एकपछि अर्को ब्रेकिङ न्यूज आउँदै थियो । एकपछि अर्को हड्डी दाबेदारका दार्शनिक तर्कहरू प्रस्तुत हुँदै थिए । तर्कहरू हेर्दै थिएँ, सुन्दै थिएँ र पढ्दै थिएँ । हरेक हड्डीका दाबेदारका तर्कमा त हड्डीको लोभमा निस्किएको रयालै रयाल पो रहेछ । रयाल ज्यादै चिप्लो थियो । राष्ट्रिय सहमति त यही हड्डीको लोभमा निस्किएको चिप्लो रयालमा चिप्लिँदै पो रहेछ ।
हाल : काठमाडौ
Subscribe
Login
0 Comments
Oldest









































