मुसहर बस्तीको रामखेलावण
बूढो हुँदै गएको मुसहर बस्तीको रामखेलावन !
राति जाडोले गर्दा आँखा झिमिक्क पार्न नपाउँदै, {{read_more}}
मिरमिरे उज्यालोमा कुखुराको भाले नबास्दै,
आफ्नो साइकिल पछाडि कोदालो झुण्ड्याएर
चीसो सिरेटोको सेकाई सहँदै,
ओठमा कलेटी परेको मुहार बोकेर
दुबोले सेतो फेटा गुँथे झैं,
घाँटीमा झुण्ड्याइएको
गम्छा नाक र टाउको छोपिने गरी बाँधेर
सुटुक्क घरबाट निस्केको छ ।
जस्तो उसको नियति,
त्यस्तै थोत्रो साइकलको नियति भएर नै होला,
बाटोभरि कहिले साइकिलले उसलाई बोक्छ,
कहिले उसले साइकिललाई बोक्छ ।
घुँडाको जोर लगाएर पाइडल मार्दै, घिसार्दै,
कहिले झरेको चैन इँटाले ठोकेर मिलाउँदै,
आफ्नो पसिनाको मोल पाउन
बिराटनगरको भूमि प्रशासन चोकमा
हतारिँदै आई ठिङ्ग उभिन्छ
बिहानै रामखेलावन !
दिनहुँको यो उरेठलाग्दो जीवनबाट
मन भरिएर उकुसमुकुस हुँदा पनि
कतै ओकल्ने ठाउँ नपाउँदा
जीवन बोझिलो भएर
सोचाइका त्यान्द्राहरूलाई तन्काउँछ रामखेलावन !
“जन” खोज्दै सहरियाहरू आउँछन्,
तर उसको
बुढो हुँदै गएको जीउ हेरेर
मोलभाउसम्म गर्दैनन् ।
एकपटक फेरि
मन भरिएर आउँछ रामखेलावनको ।
आफ्नो स्वार्थका लागि राति प्रयोग गरेको फूल
त मानिसले मिल्काइ दिन्छ
चुसेर रस भमराले त लत्याइदिन्छ !
कुुुखुराको भालेको भुत्ला जस्तो
तिरस्कृत जीवन उसलाई अब
अस्वीकार भएकोले नै होला
फेरि जस्तोसुकै शर्तमा,
जुनसुकै काम गर्न पंजाब लैजाने
ठेकेदारको खोजीमा लागेको छ रामखेलावन !
गाउँमैं परिवारसँग बस्ने सपना,
फुटेको चूूरा झैँ चकनाचूर भएर
मनमनै भुतभुताउँछ,
रिसाउँछ रामखेलावन !
जति गर्दा पनि, कतै केही नलागेर
आँसु चुहाउँदै
खुइय ! लामो सुस्केरा तान्छ
मुसहर वस्तीको रामखेलावन !!
विराटनगर