प्रेम ओली ढकलपुरेबिर्खेको हलो
पोहर खेत जोत्दै गर्दा बिर्खे
काङ्ग्रेसीहरू आए
जमिन जोत्नेको
घर पोत्नेको भनी
मिठा नाराहरू घन्काए
उसलाई बेसरी उक्साए
उसकै घरमा बसी
मासु भात खाए,
विचरो बिर्खेलाई
पर्चाहरू बोकाए, ठेलीहरू थमाए
बमहरू थमाए, पुलिसले उसैलाई समाए
प्रजातन्त्र ल्याएपछि छानी छानी
नेताले राम्रो पद लत्याए
बिचरा बिर्खेलाई त्यही खेतमा हुत्याए ।
अस्ति फेरि
बिर्खे बारी जोत्दै गर्दा
मालेहरू आए
उसको हलो समाए
कामहरूमा सघाए
दाल भात खाए
नक्कली पूर्जा थमाए
फेरि उसलाई मनाए,
त्यसपछि उसलाई
रातभरि हिँडाए
किताबहरू बोकाए
ठेलीहरू बोकाए
तालीहरू ठोकाए
झन्डाहरू थमाए
फेरि पुलिसले समाए
पुनःप्रजातन्त्र आएपछि
नेताहरूले राम्रो पद खाए
बिचरा बिर्खेलाई त्यही हलो थमाए ।
हिजो फेरि बिर्खे खलोमा नै थियो
माओहरू आए
हातहरू मिलाए
काँधहरू मिलाए
बुढो बिर्खेलाई पानी पनि पिलाए
जे पाक्यो त्यै खाए
क्रान्तिको गीत सुनाए
उसलाई फेरि उक्साए,
त्यसपछि
पार्टीका नाराहरू घोकाए
थोत्रा बन्दुकहरू बोकाए
डोका नाम्लाहरू बोकाए
घाइतेहरूलाई बोकाए
मृतकहरूलाई बोकाए
लोकतन्त्र पनि आयो
गनतन्त्र पनि आयो
कसैले मन्त्री पाए
कसैले के खाए
सबैले छानी छानी पाए
विचरो बिर्खेलाई
सबैले कजाए, सबैले कमाए
अन्तमा फेरि त्यही नै हलो थमाए ।
आज बिर्खे विरामी पर्दा
न काङ्ग्रेसहरू आए
न मालेहरू आए
न माओहरू आए
मृत्यु शैयामा लडिरहेको बेला
वीर पुरुष लेखिएको हलो
उसको छोरोलाई थमाए ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































