सुलसुलेमैथिली जागरण मञ्चको अन्तर्राष्ट्रिय मातृभाषा दिवस
मैथिली जागरण मञ्चको अन्तर्राष्ट्रिय मातृभाषा दिवस
मैथिली जागरण मञ्च राजविराजले शुक्रवार जिल्ला विकास समिति सप्तरीमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको खबर छ | कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् मैथिली अभियानी प्राध्यापक जनआनन्द मिश्रले मैथिली भाषाको विकासमा राज्यपक्ष उदासिन रहँदैआएको चर्चा गर्दै मैथिली भाषीहरुसमेत एकतावद्ध भएर भाषिक अधिकारका लागि जाग्नुपर्ने आवश्यकता औंल्याए । शिक्षाको माध्यम बन्न नसकेका कारण मैथिली भाषाको अपेक्षाकृत विकास हुन सकेन–उनले भने– प्राथमिक तहदेखि उच्च शिक्षा मैथिली भाषामा हुन सके मात्र मैथिलीको विकास हुन सक्छ ।
मातृभाषाहरुलाई जीवन्त राख्नका लागि राज्यपक्ष गम्भीर बन्नुपर्नेमा जोड दिँदै प्रा. मिश्रले भाषाहरु प्रयोगमा आउन नसकेका कारण विश्वका सयौं भाषाहरु लोप भइसकेको तथा कतिपय लोप हुने अवस्थामा रहेको जानकारी गराए । मातृभाषाहरुको संरक्षण गरिएन भने पाँच दशकको अन्तरालमा ९० प्रतिशत भाषा लोप हुने दावी गर्दै मातृभाषाहरु संकटमा रहेकोले यसलाई बचाउनुका साथै विकास गर्नु राज्यको दायित्व भएको उनले बताए ।
मैथिली साहित्य परिषद्का अर्का पूर्व अध्यक्ष एवम् मैथिली जागरण मञ्चका सल्लाहकार प्रा. अमरकान्त झाले अंग्रेजी भाषाको बर्चस्वका कारण विश्वका अधिकांश भाषाहरुको अस्तित्व समाप्त भएको बताए । भाषाको सम्मान नभएसम्म भाषिक समुदायको सम्मान सुरक्षित नहुने बताउँदै उनले भाषालाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
अन्तरर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झाले भाषाको आधारमा बङ्गलादेश, पाकिस्तान लगायतका देशहरु अलग भएको तथा हाल तेलाङ्गना र गोर्खाल्याण्डको समेत माँग भइरहेको चर्चा गर्दै नेपालमा समेत मिथिलाराज्यको आवश्यकता औंल्याए । मैथिली भाषाको विकासका लागि मैथिली भाषीहरु स्वयं एकजुट भएर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।
मञ्चका अध्यक्ष आसिन मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रा. मिथिलेश यादव, राजनीतिकर्मी बिशेश्वर रजक, साहित्यकार नन्दलाल आचार्य, मैथिली साहित्य परिषद्का अध्यक्ष बिवेकानन्द मिश्र, कोषाध्यक्ष शुभचन्द्र झा, कवि सत्येन्द्रनाथ चौधरी, पत्रकार दिनेश शम्र्मा, कार्टुनिष्ट दिवाकर साहलगायतकाले मातृभाषाको महत्वमाथि प्रकाश पारेका थिए । मञ्चकी सह–सचिव बिमला देवद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव श्यामसुन्दर यादवले गरेका थिए ।
-नन्दलाल आचार्य
Subscribe
Login
0 Comments
Oldest












































