रुद्र ज्ञवालीनयाँ नेपाल
ऊ र म समसामयिक विश्व परिवेश र देशको राजनैतिक स्थितिको विषयमा चर्चा गर्दै थियौं, स्कुलको होमवर्क गर्दै गरेकी मेरी छोरी आस्था हातमा कागजको पाना लिएर हामी भएको ठाउँमा आई र त्यो कागजको पाना मेरो हातमा दिई ।
कागजको पाना हातमा लिएर हेरें । नेपालको भू–प्राकृतिक नक्शासँग मिल्दाजुल्दो आकृति कोरिएको थियो, कागजमा । सरसर्ती हेर्दा नेपालको नक्शासँग मिलेमिले जस्तो लागे पनि उत्तरी सिमाना बाहेक अरु कतैको पनि रेखाङ्कन मिलिरहेको थिएन । छोरीले कोरेको नक्शा नेपाल बाहेक अरु कुनै देशसँग मिलेजस्तो पनि लागेन, मलाई । मेरी छोरीको उमेर खासै धेरै नभए पनि ऊ भूगोल र समसामयिक राजनैतिक विषयमा गहिरो चाख राख्छे । खै यो के नक्शा वनाई छोरीले ? नजानेर बनाएको भनौं नेपालको साविक नक्शासँग भिडाउँदा उत्तरी सिमाना ठ्याक्कै भिड्छ । जानेर बनाएको भनौं अरु तीनतिरको सीमारेखा ठ्याम्मै मिल्दैन ।
“हैन यो कहाँको के नक्शा बनायौ छोरी तिमीले ?” मैले सोधें ।
“त्यत्ति पनि चिन्नु भएन ? नेपालको नक्शा ।” छोरीले दर्विलो जवाफ दिई ।
“नेपालको नक्शा ? मिलेन यो त । ऊ त्यो भित्ताको नक्शा हेर त ! त्यो नक्शासँग यो नक्शा भिडाउँदा त धेरै ठाउँको रेखाङ्कन मिल्दैन है । यो कस्तो नक्शा बनायौ हँ, तिमीले ? जाऊ गएर अर्को नक्शा बनाऊ ।’ मैले स्नेहात्मक आदेश दिएँ ।
“बाबा पनि… ! कुरा लोकतन्त्र, अग्रगमन र नयाँ नेपालको छ । अब पनि प्रतिगमनको पछि लागेर हुन्छ ? भित्ताको नक्शा धेरै पुरानो भइसक्यो । मैले बनाएको नक्शा त नयाँ नेपालको नक्शा अर्थात् अग्रगामी नक्शा पो हो त । म नयाँ नेपालको नक्शा कोर्दैछु । बाबा पुरानै नेपालको कुरा गर्दै हुनुहुन्छ ।” मेरी छोरीले गजक्क पर्दै आफ्नो तर्क राखी ।
“खै ? खै ? म पनि त हेरुँ, छोरीको नयाँ नक्शा ।” मेरो साथीले त्यो कागजको पाना मेरो हातबाट तानेर लग्यो र मुसुमुसु हाँस्दै भन्न थाल्यो– “पूर्वतर्फ मानेभञ्ज्याङ् र जङ्गपिलर आदि इत्यादि माइनस, पश्चिमतर्फ लिपुलेक, कालापानी एवं टनकपुरको सेरोफेरो माइनस, दक्षिणतर्फ मोटामोटी सवै दशगजाक्षेत्र शुक्लाफाँटा, त्रिवेणीसुस्ता हुँदै मेचीसम्मका विभिन्न अतिक्रमित क्षेत्र माइनस । यी सवै कित्ताकाट गरेर वनाएको नक्शा जस्तो छ, यो । ल, मानें छोरीें मैले तिमीलाई । यति सानै उमेरमा यस्तो संवेदनशीलता र यो तार्किकता ! यी सवैक्षेत्रका कित्ताकाट गर्ने हो भने यो देशको मानचित्र यत्ति पनि रहने हो होइन ? शङ्कै छ ।”
मेरो साथीको सर्मथनबाट गज्किएकी छोरी मख्ख पर्दै कोठातर्फ लागी र ऊ पनि आफ्नो बाटो लाग्यो । मेरो माथिङ्गलमा भने भित्तामा टाँगिएको नेपालको साविक नक्शा र छोरीले भर्खरै स्केच गरेर देखाएको नयाँ नेपालको नक्शा पालैपालो नाच्न थाले ।
Subscribe
Login
0 Comments
Oldest







































