रुद्र खरेलअथ भागबन्डा अध्याय
तेरो बाउलाई पाता कसेर गोर्खेलौरी लाउँदै डँडाल्लामा चार कोर्रा बजारिहाल, घोक्रेछुत्ती लाउँदै लगिहाल् नरक, नेपाल महात्म्यको अन्तिम अध्याय भागबन्डा हो भन्नेसम्म पनि हेक्का नराख्ने स्वाँठ्लाई ।

जेमराजले मृतकलाई सनाखत गर्दै भने- ‘उत्तर आधुनिक युगको सबैभन्दा पछिल्लो महात्म्य कुन हो ?’ मृतकले भन्यो- ‘नेपाल महात्म्य हो, प्रभो !’ ‘नेपाल महात्म्यको अन्तिम अध्यायको नाउँ भन् त ?’ मृतकले पिण्ड चपाउँदै भन्यो थाहा छैन प्रभो !’ जेमराज जंगिए- ‘थुइक्क साला ! त्यति पनि थाहा छैन तँलाई ?’ मृतकले सोह्र सराद्धमा चढाएको कालो दालका गेडा र टपरीको चामल मऱ्याङ-मऱ्याङ चपायो र फुरौलासँग सुलुत्त निल्दै सहानुभूतिको लागि अनुनयपूणर् आँखाले कोधित जेमराजलाई हेर्यो । जेमराजले आँखाबाट आगाका फिलुङ्गा बर्साउदै निजी सचिव कर्मचण्डाललाई हुकुम दियो ‘ए, सुनिस् त्याँ को छ ? याँ आओ झट्ट, कोरा ठोक्दै लैजाओ यस असत्तीलाई नर्कमा ।’ मृतकले भन्यो- प्रभो भुल भो, माफ पाऊँ । अर्का जन्ममा म कण्ठ गरुँला ।’ जेमराजले भन्यो- ‘इस् ! गर्छौ कण्ठ । तिमेरु नेपालीहरू ! तिमेर्को अध्ययन संस्कार नै छैन । तिमेरलाई स्वर्ग ढाँट्न एउटा भगवानको पुस्तक र मर्त्यमण्डल ढाँट्न एउटा मुलुकी ऐन भए पुग्छ । तिमेरु जस्तो चिटचोर, किताबचोर, अरूको अनुसन्धान चोर दुनियाँमा अरू कोही छैन ।’ मृतकले धुकधुक गर्दै अपमानवाणी सुनिरह्यो । ‘थुइक्क कर्मचण्डाल गोरु ! लाटीले पापा हेरेझैँ के गरेर बसेको त ? तेरो बाउलाई पाता कसेर गोर्खेलौरी लाउँदै डँडाल्लामा चार कोर्रा बजारिहाल, घोक्रेछुत्ती लाउँदै लगिहाल् नरक, नेपाल महात्म्यको अन्तिम अध्याय भागबन्डा हो भन्नेसम्म पनि हेक्का नराख्ने स्वाँठ्लाई ।’
’प्राणनाथ, त्यो त मलाई पनि था छैन । कुन जन्तुको नाउ हो, त्यो भागबन्डा ? त्यो अफ्रिकाको टाइने जातको हुँडार हो कि नेपालको हिउँचितुवा जस्तो हो ?’ हिराको आमखोराले पानी हालेर गोडा धुँंदै जेमराजनीले प्रश्न गरिन् । ‘लाटी, त्यो कहाँ जनावर हो र ? बरु त्यो पिउठाने मुला जस्तो स्वादिलो चिज हो’ जेमराजले कुरा नटुङ्ग्याउँदै जेमराजनीले भनिन्- ‘अचे ! हो त साँच्चि पिउठाने मुला, मेरो त नाम सुन्दै जिब्रो रसायो । हजुर, सुनिस्योस् त अचेल किन जेमलोकमा पिउठाने मुला नपाइएको हँ ?’ जेमराजले भन्यो- ‘लाटी, पृथ्वीमा मान्छेले किटनाशक ओखती बनाइसके भन्ने तिमीलाई था छैन ? अब पिउठानमा मुला मदैं मदैन । खुम्रे किरा मरेर सत्यानास ! अहिले जेमलोकमा जता हेयो उतै खुम्रे किरा छ्याप्छ्याप्ती छन् ।’ ‘अः हजुर पनि मलाई बित्थामा उल्लीबिल्ली पारिसिन्छ । खै काँ छ खुम्रे किरा ?’ जेमराजले ग्वाम्म अँगालो हाल्दै भन्यो- ‘ई. तिम्रो दिमागमा क्या !’ फेयर एन्ड लभ्लीले सिनित्त परेका गालामा चोरऔंलाले प्याट्ट पार्दै लिपिस्टिक लाका ओठमा जेमराजले ओठ जोड्न थाल्यो । जेमराजनीले पर्तिर धकेल्दै भनिन् ‘छिः हजुर पनि ।’ ’जेमलोककी मौसुफ पटबन्धा महारानी सरकार । नरिसाइस्योस् । मौसफ सरकारलाई भागबन्डाको तत्त्वबोध गराउन चौधै भुवनका मानिसको मुटु ढुकढुक गराउने ताकत भएको यमलोकपति स्वस्ती श्री गिरिराजमणि चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली ओजश्वी राजन्य प्रोज्ज्वल यमलोक तारा ॐ राम पट्ट आयो टिप्यो लग्यो भट्ट, गोदुभाभाप शट्ट मनोभक्त अंति प्रवल गोदवा दक्षिण वाहु नर्क श्रीपद, अन्धकारमय त्रिशक्तिपट्ट श्री श्री श्री श्री महाराज यमराज सेवामा हाजिर छ प्रिये !’ यमराजनीले भनिन्- ‘उस् ! नबताइस्येर फुल्स्याइस्येको ।’
तहाँ उप्रान्त मौसुफ सरकार जेमराज स्वयम् नेपाल महात्म्य बताउन थाल्यो- ‘जेमराजनी महारानी, मौकाको घरी दया होस् प्राणप्यारी ! आज म तिमीलाई उत्तरआधुनिक समयको भागबन्डा महाकाव्य सुनाउँछु । यस काव्यका नायकहरू अश्वघोषको ‘बुद्धिचरितम्का बुद्ध भन्दा पनि तपस्वी तत्त्वज्ञानी छन् भने रामलाई माथ गर्ने हरामहरू पनि छन् । हनुमानहरू, सुग्रीवहरू, जाम्बवानहरू आ-आफ्नो भाग पाएर मखलेल छन् ।’ जेमराजले बोल्दा बोल्दै घाँटी सुकेको अनुभव गरे । ख्याक् ख्याक् गर्दै आफ्नी कान्छी पियारीलाई हल्का पोस्टमोडर्निस्ट ढिस दिने सङ्केत गरे । त्यसपछि जेमराजले फेयर एन्ड लभ्लीले सिनित्त भएको गालामा आलुदम चाट्दा जस्तो स्वादिलो पाराले अंग्रेजी वणर्मालाको डब्ल्यु जस्ता उत्तानो जुँगा ट्याप्प टाँस्यो । खैनी, खोयाविर्के र गुट्काको अर्धगन्धमा जेमराजनी एक छिन चुर्लुम्म डुबिन् । विभिन्नखाले गन्धले फोरम बनाएर विद्रोह गरेको रेकर्ड जेमराजको जाँचबुझ आयोगलाई के पत्तो ? जेमराजनी ओठभरि लतपतिएर अमूर्त चित्रकला जस्तो बनेको लिपिस्टिक मिलाउन शृङ्गार कोठामा सवारी होइस्येकाले बिचमा सानो कुरमुरे ब्रेक भयो ।
तहाँ उप्रान्त महारानीबाट आसन ग्रहण गरिवक्स्यो । ब्वाइलरको फिलो हाब्रोमा हालेपछि जेमराजबाट महारानी जेमराजनीलाई तत्त्वबोध निगाह व्यक्त भयो- ‘हे जेमराजनी महारानी, नेपालले गर्व गर्ने पाँचवटा उत्तिकै महत्त्वपूणर् कुराहरू छन् । पहिलो भागबन्डा, दोस्रो भ्रष्टाचार, तेस्रो सगरमाथा, चौथो गौतम बुद्ध र पाँचौ पशुपतिनाथ ती हुन् । जेमराजनीले अचम्म मान्दै भनिन्- ’स्वामी, हजुरले सगरमाथा, गौतमबुद्धभन्दा पनि पहिलो अगाडि पहिलो नम्बरमै भागबन्डा राखिस्यो । सगरमाथा, गौतमबुद्ध भन्दा पनि भागबन्डा ठूलो हो र ख्वामित ?’ ‘नेपालका लागि ठूलो हो प्रिये ! वास्तवमा नेपाल भनेको सांच्चै नै पिउठाने मुला नै हो ! अस्ति नेपालबाट आएको एउटा मृतकले मसँग भन्यो ‘मुलुकलाई बिलो लगाउनु हुन्न ।’ उता नेपाललाई पिउठाने खान चाहनेले गरेको भागबन्डाको विरोधको के अर्थ छ र प्रिये ! अनि उता त्यसको अर्को साथी सिंहदरबारमा फरमाउदै “चाइन्जो कुराले, जसले मुलाको माथिल्लो टाउको बिलो पाउँछ, त्यसले टाउका मुनिका अरू टुका पाउनु पर्छ । यो अन्तर्राष्ट्रिय नियम हो ।’
भागबन्डा अध्याय बिलो प्रकरण भन्दाभन्दै, अरु त के निठुरी भन्दा निठुरी जेमराजले पनि अँध्यारो मुख लायो । हिरा जडित स्वणर् चसकभरी रेड एकै सासमा सिनित्त पार्दै त्यसको कडा हस्को हावामा छोड्न मुख किच्च पार्यो । बाजेको पसलमा तयार गरेको धराने सुंगुरको सितन मुखमा हालेर चर्याम चर््याम चपाउँदै जेमराजले भन्यो- “भागवन्डालाई कुनै समयको खराबी भन्नेहरू पनि नभएका होइनन् । उनीहरू सिद्धान्तका प्रथाको विरोध गर्छन् तर खराब कुरा भएर पनि मुलुकले अपनाउन आवश्यक ठान्दछन् । तर अर्काथरी नारा लाउछन्- अहिले जसरी युगयुगसम्म आफन्तहरूले मन्त्री, योजना आयोगको सदस्य विश्वविद्यालयको पदाधिकारी के पाइरहनु पर्छ । संसारका सबै भागबन्डाको विचार श्रेष्ठतम विचार हो । नेपालका सबै प्रकारका पथहरू भन्दा भागवन्डा पथ प्रमुख हो, जो चक्रपथ पश्चिम ढोकाबाट सिंहदरवार पस्यो । आहा ! क्या राम्रो सिद्धान्त ! भाँडमा जाओस् माक्र्सवाद, भाँडमा जाओस् लोकतन्त्रको मूल्य मान्यता, भर्सेलो परोस् माक्र्सवाद, भर्सेलो परोस् नैतिकता । आइन्डरे कुराले यसले के नै पो लछार्छ र ? नेपालको मौलिक दर्शन भनेको भागबन्डा हो जो राष्ट्रवादभनदा माथि छ । हनुमान, जामवानदेखि लिएर पहलवान् बुद्धिवानसम्म, कानुनीदेखि लिएर खजान्ची तबल्ची यामरीवाज, कलमबाज चुक्लीबाजसम्म, रेक्टर डाइरेक्टरदेखि लिएर प्रोफेसरसम्म, पत्रकारदेखि लिएर साहित्यकारसम्म वामपन्थीदेखि हामपन्थी, झ्वामपन्थीसम्मले हदैदेखि एउटै नारा लाइरहेका छन्- भागबन्डा अमर रहोस् ! मेरो भाग सुरक्षित रहोस् ! सात दलको एकता हुनैपर्छ ! भागबण्डा रगतलाई ! धन्यवाद दसबर्खे रगतलाई ! धन्यवाद जनआन्दोलनको रगताम्य सडकलाई ! जसले मुलुकलाई भागबन्डा प्रदान गर्यो ।‘
तहाँ उप्रान्त भावुक हुँदै जेमराजले थपे- ‘सुन्यौ, मेरी छिमेकी सबैभन्दा प्यारी रानी ! अहिले जम्बुद्विपको नेपाल भनिने देशमा हजार जवानको स्रेस्ता अभिलेख गायब छ । ती मान्छे यमलोक आएका छन्, आफन्तहरू सिउपुरीको ज.गल खोस्रदै छन् । हामीसँग पनि तिनको सनाखत स्रेस्ता नभएकाले मृतक फर्ममा दर्ता गरेर पिण्ड पानीको व्यवस्था मिलाइदिन सकेका छैनन् । यसबाहेक नेपालका मान्छे ठेलमठेल गर्दै दिनहुँ यमलोक आइरहेका छन् । कोही भन्छन्- कोब्राले मार्यो, कोही भन्छन्- भाइपरले मार्यो, कसैलाई अजिङ्गरले, कसैलाई गोहीले । मेरिबास्सै मारिनेहरूको कति लामो लर्को ! मृतकहरूको भीड ! यमलोक सप्तरी लाहान एक्सप्रेस रेल नै पो चलाउन पर्ने हो कि ! जेमराजले घोप्टो परेर रुवाइ रोक्यो । आँखामा आँसु नभए पनि । गाँठी कुरो आँखामा आँसु रसाउंथ्यो भने ऊ कहिल्यै जेमराज हुन सक्दैनथ्यो ।
पहिलोपटक ‘स्मृतिमा रुद्र खरेल’ (२०७१) ग्रन्थमा प्रकाशित
Subscribe
Login
0 Comments
Oldest







































