साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ भागबन्डा अध्याय

तेरो बाउलाई पाता कसेर गोर्खेलौरी लाउँदै डँडाल्लामा चार कोर्रा बजारिहाल, घोक्रेछुत्ती लाउँदै लगिहाल् नरक, नेपाल महात्म्यको अन्तिम अध्याय भागबन्डा हो भन्नेसम्म पनि हेक्का नराख्ने स्वाँठ्लाई ।

Nepal Telecom ad

जेमराजले मृतकलाई सनाखत गर्दै भने- ‘उत्तर आधुनिक युगको सबैभन्दा पछिल्लो महात्म्य कुन हो ?’ मृतकले भन्यो- ‘नेपाल महात्म्य हो, प्रभो !’ ‘नेपाल महात्म्यको अन्तिम अध्यायको नाउँ भन् त ?’ मृतकले पिण्ड चपाउँदै भन्यो थाहा छैन प्रभो !’ जेमराज जंगिए- ‘थुइक्क साला ! त्यति पनि थाहा छैन तँलाई ?’ मृतकले सोह्र सराद्धमा चढाएको कालो दालका गेडा र टपरीको चामल मऱ्याङ-मऱ्याङ चपायो र फुरौलासँग सुलुत्त निल्दै सहानुभूतिको लागि अनुनयपूणर् आँखाले कोधित जेमराजलाई हेर्‍यो । जेमराजले आँखाबाट आगाका फिलुङ्गा बर्साउदै निजी सचिव कर्मचण्डाललाई हुकुम दियो ‘ए, सुनिस् त्याँ को छ ? याँ आओ झट्ट, कोरा ठोक्दै लैजाओ यस असत्तीलाई नर्कमा ।’ मृतकले भन्यो- प्रभो भुल भो, माफ पाऊँ । अर्का जन्ममा म कण्ठ गरुँला ।’ जेमराजले भन्यो- ‘इस् ! गर्छौ कण्ठ । तिमेरु नेपालीहरू ! तिमेर्को अध्ययन संस्कार नै छैन । तिमेरलाई स्वर्ग ढाँट्न एउटा भगवानको पुस्तक र मर्त्यमण्डल ढाँट्न एउटा मुलुकी ऐन भए पुग्छ । तिमेरु जस्तो चिटचोर, किताबचोर, अरूको अनुसन्धान चोर दुनियाँमा अरू कोही छैन ।’ मृतकले धुकधुक गर्दै अपमानवाणी सुनिरह्यो । ‘थुइक्क कर्मचण्डाल गोरु ! लाटीले पापा हेरेझैँ के गरेर बसेको त ? तेरो बाउलाई पाता कसेर गोर्खेलौरी लाउँदै डँडाल्लामा चार कोर्रा बजारिहाल, घोक्रेछुत्ती लाउँदै लगिहाल् नरक, नेपाल महात्म्यको अन्तिम अध्याय भागबन्डा हो भन्नेसम्म पनि हेक्का नराख्ने स्वाँठ्लाई ।’

’प्राणनाथ, त्यो त मलाई पनि था छैन । कुन जन्तुको नाउ हो, त्यो भागबन्डा ? त्यो अफ्रिकाको टाइने जातको हुँडार हो कि नेपालको हिउँचितुवा जस्तो हो ?’ हिराको आमखोराले पानी हालेर गोडा धुँंदै जेमराजनीले प्रश्न गरिन् । ‘लाटी, त्यो कहाँ जनावर हो र ? बरु त्यो पिउठाने मुला जस्तो स्वादिलो चिज हो’ जेमराजले कुरा नटुङ्ग्याउँदै जेमराजनीले भनिन्- ‘अचे ! हो त साँच्चि पिउठाने मुला, मेरो त नाम सुन्दै जिब्रो रसायो । हजुर, सुनिस्योस् त अचेल किन जेमलोकमा पिउठाने मुला नपाइएको हँ ?’ जेमराजले भन्यो- ‘लाटी, पृथ्वीमा मान्छेले किटनाशक ओखती बनाइसके भन्ने तिमीलाई था छैन ? अब पिउठानमा मुला मदैं मदैन । खुम्रे किरा मरेर सत्यानास ! अहिले जेमलोकमा जता हेयो उतै खुम्रे किरा छ्याप्छ्याप्ती छन् ।’ ‘अः हजुर पनि मलाई बित्थामा उल्लीबिल्ली पारिसिन्छ । खै काँ छ खुम्रे किरा ?’ जेमराजले ग्वाम्म अँगालो हाल्दै भन्यो- ‘ई. तिम्रो दिमागमा क्या !’ फेयर एन्ड लभ्लीले सिनित्त परेका गालामा चोरऔंलाले प्याट्ट पार्दै लिपिस्टिक लाका ओठमा जेमराजले ओठ जोड्न थाल्यो । जेमराजनीले पर्तिर धकेल्दै भनिन् ‘छिः हजुर पनि ।’ ’जेमलोककी मौसुफ पटबन्धा महारानी सरकार । नरिसाइस्योस् । मौसफ सरकारलाई भागबन्डाको तत्त्वबोध गराउन चौधै भुवनका मानिसको मुटु ढुकढुक गराउने ताकत भएको यमलोकपति स्वस्ती श्री गिरिराजमणि चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली ओजश्वी राजन्य प्रोज्ज्वल यमलोक तारा ॐ राम पट्ट आयो टिप्यो लग्यो भट्ट, गोदुभाभाप शट्ट मनोभक्त अंति प्रवल गोदवा दक्षिण वाहु नर्क श्रीपद, अन्धकारमय त्रिशक्तिपट्ट श्री श्री श्री श्री महाराज यमराज सेवामा हाजिर छ प्रिये !’ यमराजनीले भनिन्- ‘उस् ! नबताइस्येर फुल्स्याइस्येको ।’

तहाँ उप्रान्त मौसुफ सरकार जेमराज स्वयम् नेपाल महात्म्य बताउन थाल्यो- ‘जेमराजनी महारानी, मौकाको घरी दया होस् प्राणप्यारी ! आज म तिमीलाई उत्तरआधुनिक समयको भागबन्डा महाकाव्य सुनाउँछु । यस काव्यका नायकहरू अश्वघोषको ‘बुद्धिचरितम्का बुद्ध भन्दा पनि तपस्वी तत्त्वज्ञानी छन् भने रामलाई माथ गर्ने हरामहरू पनि छन् । हनुमानहरू, सुग्रीवहरू, जाम्बवानहरू आ-आफ्नो भाग पाएर मखलेल छन् ।’ जेमराजले बोल्दा बोल्दै घाँटी सुकेको अनुभव गरे । ख्याक् ख्याक् गर्दै आफ्नी कान्छी पियारीलाई हल्का पोस्टमोडर्निस्ट ढिस दिने सङ्केत गरे । त्यसपछि जेमराजले फेयर एन्ड लभ्लीले सिनित्त भएको गालामा आलुदम चाट्दा जस्तो स्वादिलो पाराले अंग्रेजी वणर्मालाको डब्ल्यु जस्ता उत्तानो जुँगा ट्याप्प टाँस्यो । खैनी, खोयाविर्के र गुट्काको अर्धगन्धमा जेमराजनी एक छिन चुर्लुम्म डुबिन् । विभिन्नखाले गन्धले फोरम बनाएर विद्रोह गरेको रेकर्ड जेमराजको जाँचबुझ आयोगलाई के पत्तो ? जेमराजनी ओठभरि लतपतिएर अमूर्त चित्रकला जस्तो बनेको लिपिस्टिक मिलाउन शृङ्गार कोठामा सवारी होइस्येकाले बिचमा सानो कुरमुरे ब्रेक भयो ।

तहाँ उप्रान्त महारानीबाट आसन ग्रहण गरिवक्स्यो । ब्वाइलरको फिलो हाब्रोमा हालेपछि जेमराजबाट महारानी जेमराजनीलाई तत्त्वबोध निगाह व्यक्त भयो- ‘हे जेमराजनी महारानी, नेपालले गर्व गर्ने पाँचवटा उत्तिकै महत्त्वपूणर् कुराहरू छन् । पहिलो भागबन्डा, दोस्रो भ्रष्टाचार, तेस्रो सगरमाथा, चौथो गौतम बुद्ध र पाँचौ पशुपतिनाथ ती हुन् । जेमराजनीले अचम्म मान्दै भनिन्- ’स्वामी, हजुरले सगरमाथा, गौतमबुद्धभन्दा पनि पहिलो अगाडि पहिलो नम्बरमै भागबन्डा राखिस्यो । सगरमाथा, गौतमबुद्ध भन्दा पनि भागबन्डा ठूलो हो र ख्वामित ?’ ‘नेपालका लागि ठूलो हो प्रिये ! वास्तवमा नेपाल भनेको सांच्चै नै पिउठाने मुला नै हो ! अस्ति नेपालबाट आएको एउटा मृतकले मसँग भन्यो ‘मुलुकलाई बिलो लगाउनु हुन्न ।’ उता नेपाललाई पिउठाने खान चाहनेले गरेको भागबन्डाको विरोधको के अर्थ छ र प्रिये ! अनि उता त्यसको अर्को साथी सिंहदरबारमा फरमाउदै “चाइन्जो कुराले, जसले मुलाको माथिल्लो टाउको बिलो पाउँछ, त्यसले टाउका मुनिका अरू टुका पाउनु पर्छ । यो अन्तर्राष्ट्रिय नियम हो ।’

भागबन्डा अध्याय बिलो प्रकरण भन्दाभन्दै, अरु त के निठुरी भन्दा निठुरी जेमराजले पनि अँध्यारो मुख लायो । हिरा जडित स्वणर् चसकभरी रेड एकै सासमा सिनित्त पार्दै त्यसको कडा हस्को हावामा छोड्न मुख किच्च पार्‍यो । बाजेको पसलमा तयार गरेको धराने सुंगुरको सितन मुखमा हालेर चर्‍याम चर्‍्याम चपाउँदै जेमराजले भन्यो- “भागवन्डालाई कुनै समयको खराबी भन्नेहरू पनि नभएका होइनन् । उनीहरू सिद्धान्तका प्रथाको विरोध गर्छन् तर खराब कुरा भएर पनि मुलुकले अपनाउन आवश्यक ठान्दछन् । तर अर्काथरी नारा लाउछन्- अहिले जसरी युगयुगसम्म आफन्तहरूले मन्त्री, योजना आयोगको सदस्य विश्वविद्यालयको पदाधिकारी के पाइरहनु पर्छ । संसारका सबै भागबन्डाको विचार श्रेष्ठतम विचार हो । नेपालका सबै प्रकारका पथहरू भन्दा भागवन्डा पथ प्रमुख हो, जो चक्रपथ पश्चिम ढोकाबाट सिंहदरवार पस्यो । आहा ! क्या राम्रो सिद्धान्त ! भाँडमा जाओस् माक्र्सवाद, भाँडमा जाओस् लोकतन्त्रको मूल्य मान्यता, भर्सेलो परोस् माक्र्सवाद, भर्सेलो परोस् नैतिकता । आइन्डरे कुराले यसले के नै पो लछार्छ र ? नेपालको मौलिक दर्शन भनेको भागबन्डा हो जो राष्ट्रवादभनदा माथि छ । हनुमान, जामवानदेखि लिएर पहलवान् बुद्धिवानसम्म, कानुनीदेखि लिएर खजान्ची तबल्ची यामरीवाज, कलमबाज चुक्लीबाजसम्म, रेक्टर डाइरेक्टरदेखि लिएर प्रोफेसरसम्म, पत्रकारदेखि लिएर साहित्यकारसम्म वामपन्थीदेखि हामपन्थी, झ्वामपन्थीसम्मले हदैदेखि एउटै नारा लाइरहेका छन्- भागबन्डा अमर रहोस् ! मेरो भाग सुरक्षित रहोस् ! सात दलको एकता हुनैपर्छ ! भागबण्डा रगतलाई ! धन्यवाद दसबर्खे रगतलाई ! धन्यवाद जनआन्दोलनको रगताम्य सडकलाई ! जसले मुलुकलाई भागबन्डा प्रदान गर्‍यो ।‘

तहाँ उप्रान्त भावुक हुँदै जेमराजले थपे- ‘सुन्यौ, मेरी छिमेकी सबैभन्दा प्यारी रानी ! अहिले जम्बुद्विपको नेपाल भनिने देशमा हजार जवानको स्रेस्ता अभिलेख गायब छ । ती मान्छे यमलोक आएका छन्, आफन्तहरू सिउपुरीको ज.गल खोस्रदै छन् । हामीसँग पनि तिनको सनाखत स्रेस्ता नभएकाले मृतक फर्ममा दर्ता गरेर पिण्ड पानीको व्यवस्था मिलाइदिन सकेका छैनन् । यसबाहेक नेपालका मान्छे ठेलमठेल गर्दै दिनहुँ यमलोक आइरहेका छन् । कोही भन्छन्- कोब्राले मार्‍यो, कोही भन्छन्- भाइपरले मार्‍यो, कसैलाई अजिङ्गरले, कसैलाई गोहीले । मेरिबास्सै मारिनेहरूको कति लामो लर्को ! मृतकहरूको भीड ! यमलोक सप्तरी लाहान एक्सप्रेस रेल नै पो चलाउन पर्ने हो कि ! जेमराजले घोप्टो परेर रुवाइ रोक्यो । आँखामा आँसु नभए पनि । गाँठी कुरो आँखामा आँसु रसाउंथ्यो भने ऊ कहिल्यै जेमराज हुन सक्दैनथ्यो ।

पहिलोपटक ‘स्मृतिमा रुद्र खरेल’ (२०७१) ग्रन्थमा प्रकाशित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x