सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सालिक बोल्यो !

“बहुलाहरूको सङ्ख्या पनि हिजोआज त नेपालमा अति नैं बढ्यो ।” मेरो पछाडिबाट आएको वाक्य मैले च्वाट्ट सुनें । यसो फर्की हेरें- दुई जना पुण्यात्माहरू सायद बागमती नुहाउन जान लागिरहेका थिए ।

Nepal Telecom ad

ओहो । त्यस रातको घटनालाई अझै पनि खूब याद छ । सम्झँदा रौं अझै पनि ठाडा भएर आउँदछन् । भूतप्रेतको अस्तित्वसम्म पनि नमान्ने म यौटा नास्तिक, थालिरहेछु स्वयं नै आज भूतप्रेतकै कहानी सुनाउन तपाईंलाई, कस्तो अचम्म ।

म एउटा कथाशिल्पी भन्ने त तपाईंलाई थाहै होला । जुन बेला पनि तानाबाना बुनिरहने मेरो बानी । त्यस रात पनि मलाई एउटा कहानी गढ्नमा तन्मय हुनुपरेको थियो तर के गर्नु र । चिचिभुँडीको क्योंक्यों- म्याम्याँ, श्रीमतीजीको नून-तेलको मागलवाइ । कताको प्लट, कताको कहानी, कहाँ भाषाको सजीवता सारा भए रफ्फू चक्कर । एउटा साहित्यिकले हाम्रो देशमा आफ्नो कलाको कुन मूल्य पाइरहेछ थाहा पाउनुभएकै कुरा हो । अतः म तपाईंलाई आफ्नो आन्द्राभुँडी नै किन खोलिरहूँ, भैगो जान दिनोस् ।

मानिसहरूको धारणा छ कि चीजहरूको मूल्य घटबढ भएबाट त्यै हिसाबले मानिसहरू धनी र गरिब हुन्छन् । यो धारणा ठीक छैन । देशमा जबसम्म धेरै मानिसहरूले काम पाउँदैनन्, देशमा जबसम्म धेरै वस्तुको उत्पादन हुँदैन, राष्ट्र अमिर र उन्नत हुन सक्दैन । चामल भोलि चार पैसा मानुमै किन नपाइयोस् त्यो काम लाग्दैन, जबसम्म त्यो चामल किन्ने चार पैसा कमाउने बाटो तपाईंको कतै हुँदैन ।

अंत, मलाई त्यस रातभरिमै एउटा बुलन्दको कहानी नलेखी नहुने थियो । तर गर्नु के भन्या । श्रीमतीको नून-तेलको घाटा बजेटको पेशीले म लेख्ने मुडमै आउन सकिनँ । मलाई त झोक पनि चल्यो । बूढापाकाका डाँडाकाँडा ढाकोस् आसिक पनि मलाई नै किन यसरी खत्तिएको नि? चालीसको धक्का पनि लाग्न पाएको छैन यता पौने दर्जनको छुचुन्द्रे ताँती । यिनीहरूलाई अन्न, कपडा, शिक्षा-दीक्षाको समुचित प्रबन्धको त कुरै पर रहोस्, अब त राम्रो नाम दिनैलाई पनि परिसक्यो धौ-धौ ।

मैले सोचें, कुनै एकान्तको ठाउँमा गई किन एउटा बुलन्दको कहानी नसोचूँ । निस्केँ त्यही धुनमा मध्यरातमा घरबाट ।

टुडिखेलमा एक भयानक सन्नाटा छाएको थियो । त्यस रातको चादरमुनि वातावरणले एउटा विकराल स्वरूप लिइराखेको थियो । मैले टुडिखेलका सबै दूबोहरू रुन लागेको अनुभव गरें । प्रायः सबै नै दुबोमा अश्रुकणहरू टलपल-टलपल गरिरहेका देखिन्थे । त्यस अनौठो वातावरणमा म केही कष्टको अनुभव गर्दै विस्तार-बिस्तार अगाडि बढ्दो थिएँ । अस्पतालबाट बराबर बिरामीहरूको आर्तनाद अस्पष्ट स्वरमा निस्किरहेको थियो । मैले यसो आँखा उठाई अस्पतालतिर हेरेँ । “परमात्मा । यो के अचम्म ?” रोक्तारोक्तै पनि मेरो मुखबाट निस्क्यो । चन्द्रशमशेरको सालिक थिएन । यस मध्यरातमा त्यो निष्प्राण प्रतिमा आफ्नो ठाउँबाट घोडासमेत गायब हुनु कम आश्चर्यको कुरो थिएन । पहिले त मलाई आफ्नो आँखामा पनि विश्वास भएन । नगिचै गई आँखा राम्ररी मिची फेरि एक पटक नियालेर हेरें, सालिक घोडैसमेत गायब थियो । किंकर्तव्यविमूढ बनी म कति बेर त्यहाँ बसिरहें कुन्नि, मलाई थाहा छैन । एकछिनपछि मैले सोचें, ‘श्री ५ पृथ्वीवीरविक्रमको सालिक नि ?’ यो विचार मगजमा के उठ्नु थियो, म दगुरें त्यतैतिर । आश्चर्य ! महान् आश्चर्य श्री ५ को प्रतिमा पनि घोडैसुद्ध गायब थियो अनि त मेरो कुतूहलको पनि सीमा नै रहेन । दगुरें फेरि वीरशमशेरको सालिकतिर । त्यो सालिक पनि घोडै समेत गायब थियो अनि त हेर्दै हिँडें म रणोद्दीप, धीरशमशेर, जङ्गबहादुर, जुद्धशमशेर सबैको प्रतिमातिर, सुन्दा तपाईंलाई पनि आश्चर्य लाग्ला- मैले सबैका सालिकलाई गायब पाएँ । सायद तपाईंलाई त अझै विश्वास पनि लागेन मिलिटरी अस्पतालमाथिको बन्दूक काँधमा लिने त्यो सिपाहीदाइको मूर्तिसमेत गायव थियो । मैले सम्झें, खरीको रूखमुनिका चौतारामा पनि त दुई-चार सिपाहीहरूका मूर्ति छन् नि, हेरूँ ती पनि गायब छन् कि त !

म सशङ्कित हुँदै अगाडि बढ्न थालें । अलि टाढैबाट देखें- चौतारामा एउटा ठूलो जमघट थियो गामगुम-गामगुम कुरा गरेको अस्पष्ट शब्द पनि मैले सुन्न थालेँ ।

अनि बिस्तार-बिस्तार अगाडि बढें । मैले देखें रणोद्दीप, धीरशमशेर, वीरशमशेर जङ्गबहादुर, चन्द्रशमशेर, जुद्धशमशेर साराका सालिक सजीव बनी चौतारामा बसेका थिए । श्री ५ को सजीव सालिक बीचमा थियो अर्कोपट्टि शुक्रराज, धर्मभक्त, दशरथ चन्द, गङ्गालाल, थिरबम भोगेन्द्रमान, एउटा फौजी जवान, अठाह्रौं शताब्दीको नेपाली पोशाकका दुई-तीन जना र टोपी नलगाएका अरू पाँच-छ जना गरी करिब पन्ध्र-सोह्र आत्माहरू थिए । चौताराका हामीले सधै देखेका ती सिपाहीका प्रतिमाहरू लेफ्टराइट गर्दै पहरा दिइरहेका थिए । चौताराको उत्तरपट्टि ती सालिकमा छ घोडाका प्रतिमाहरू पनि सजीव बनी चर्न लागेका देखिए ।

चौतारामा खासखुस-खासखुस कुरा चलिरहेकै थियो । हुन त म भूतप्रेत केही नमान्ने एक नास्तिक मान्छे, तर पनि यस दृश्यले सारा रौं ठाडा भएर आए । एक मन त मलाई भाग्ने पनि भयो तर जे होस्, अब नतिजाको केही पर्वाह नगरी त्यो तमासा मैले अन्तसम्म हेर्ने निश्चय गरेँ ।

म बसेको ठाउँबाट ती आत्माहरूको कुरा स्पष्ट सुनिँदैनथ्यो, म त्यति सुरक्षित ठाउँमा पनि थिइनँ । एउटा आत्माको मात्र आँखा ममा परेमा पनि म त्यस आत्मा पार्टीको चमेना बन्नमा के बेर ? म घोप्टो परेर त्यहीँ दूबोमा सुतेँ र बलियो मुटु लिई बिस्तार-बिस्तार चौतारातिर घस्रन थालें । चौताराबाट अन्दाजी पन्ध्र-सोह्र हात बाँकीमा खरीको रूखको ओझेलमा पुगी म चउरमै लिपिस्स टाँसिई कुरा सुन्ने प्रतीक्षामा बसें ।

यत्तिकैमा मिलिटरी अस्पतालको त्यो सिपाहीको मूर्ति फटाफट आई चौतारामा उक्ल्यो र फौजी सलाम ठोकी टेनसेन् भई उभियो । “खोइ त भीमशमशेर आएनन् ?” जङ्गबहादुरको प्रतिमाले गम्भीर आवाजमा सोध्यो ।

सिपाहीले छोटो जवाफ दियो, “सवारी भएन, महाराज ।” “ऊ आउँदैन भन्ने त मलाई पहिल्यै थाहा थियो । बिचरालाई कान्छुले जाउलाखेलको एउटा ढोकामा लगेर ठड्याइदियो । एउटा घोडासम्म पनि थिएन, आओस् केमा चढेर !” धीरशमशेरको प्रतिमाले खिन्न स्वरमा भन्यो ।

“अँ, दाजुप्रतिको कान्छुको यो कार्य अलि न्यायपूणर् भएनछ । जङ्गबहादुरको सालिकले भन्यो ।

“घोडा त मैले पनि लिएको छैन जिजुबुबा । म हिँडेर आएँ । दाजी अहिले गाँजाको सुरमा होइबक्सेला । अनि आउन मन किन लाग्दथ्यो । वहाँले तीन वर्षसम्मको राजकाज पनि त गाँजाकै सुरमा चलाइबक्स्यो नि । वहाँले त्यही गाँजाको सुरमा खसलाई भोटे, भोटेलाई खस पनि बनाइबक्स्यो ।” जुद्धशमशेरको प्रतिमाले खरजको स्वरमा भन्यो ।

“नानी । तिमी मरिसक्यौ र पनि अझै केटाकेटी नै छौ, तिम्रो यही सानो ठूलो जातको भेदभावको नीतिले नै त हाम्रो हातबाट सत्ता गयो, भइगो यो चाइने कुरो छाडिदेऊ । एउटा सिपाहीमा काठी कसेर नानी भीमलाई लिन पठाऊ ।” चन्द्रशमशेरको सालिकले भन्यो ।

“चन्द्रशमशेर । भइगयो । अब समय धेरै छैन । छाडिदेऊ । गर बरू सभाको काम शुरु ।” श्री ५ पृथ्वीवीरविक्रम शाहको प्रतिमाले भन्यो । करुणानिधान ! म हजुरको जिजुबुबाको समकालीन नेपालको इतिहास प्रसिद्ध अमात्य हुँ । मेरो साहस, बहादुरी एवं चातुर्यको महिमा अझै पनि गोर्खालीहरूका घरघरमा गाइन्छ । मेरो व्यक्तित्वको दाँजोमा कुनै पनि नेपाली आजसम्म पुग्न सकेको छैन । आज यो माधवराजको छोरो, क्षुद्र शुक्रराज एक आर्यसमाजी, एक विधर्मी, मेरो ठाउँमा बस्न खोज्दछ इन्साफ होस्, सरकार !” जङ्गबहादुरको सालिकले भन्यो ।

“हो दयासागर ! यी हाम्रा गाथगादी ताक्ने, हामीले रूखमा फलाइएका, दुनियाँ भड्काउने, देशभाँडा यी बागीहरूले प्रतिरात आएर हामीलाई दुःख दिन थालेका छन् ।” धीरशमशेरको प्रतिमाले भन्यो ।

“यिनीहरू के भन्दछन् ?” श्री ५ को प्रतिमाले सोध्यो ।

“यी हाम्रा स्थानमा हामीसँग वा हामीलाई हटाएर बस्न खोज्दछन् सरकार ! राणाजीहरूको स्थानमा साधारण दुनियाँले बस्न खोज्नु कस्तो धृष्टता त ?” चन्द्रशमशेरको प्रतिमाले भन्यो ।

“अब तिमीहरू भन” श्री ५ को प्रतिमाले शुक्रराजप्रभृतितिर फर्केर सोध्यो ।

“हाम्रो माग त्यही हो, महाराज ! जो अहिले चन्द्रशमशेरजीले भन्नुभयो । हामी देशका निम्ति शहीद भएका हौं । यी राणाहरूले पाएसरह चौरस्ता र दोबाटोमा हामीले पनि स्थान पाउनुपर्छ । त्यस्ता ठाउँमा उभिएर अनन्तकालसम्म नै देशको स्थिति हेर्दै जाने हाम्रो अधिकार पनि छ ।” शुक्रराजको आत्माले जवाफ दियो ।

“सरकार । जङ्गबहादुरजीले जुन आफ्नो बहादुरी, साहस र चातुर्यको चर्चा गर्नुभयो ती सबै निजी स्वार्थपूर्तिको निम्ति सत्ता हत्त्याउने प्रपञ्चहरू मात्र थिए । वास्तवमा देशको निम्ति वहाँले केही त्यस्तो गर्नुभएको छैन । एक प्रकारले अङ्ग्रेजहरूलाई देश बेची उनीहरूकै आडभरोसा लिई कठपुतली बनी देश बिगार्नुभयो ।” गङ्गालालको आत्माले भन्यो-
“करुणानिधान ! यी राणाहरूले जनता चुस्नेसिवाय देशको निम्ति कुनै पनि किसिमको भलाइ गरेका छैनन् । यिनलाई घोडामा चढेर टुँडिखेलका वरिपरि बस्ने हक नै कताबाट छ ? देशको निम्ति छातीमा गोली थापेर मर्ने हामी, बहार लुट्ने भने अझै यी ? हुकुम मात्र होस्, आजै रातभरिमा यिनको सबै ठाउँमा हामी कब्जा जमाइसक्छौं ।” भोगेन्द्रमानको आत्माले उतसिँदै भन्यो ।

“शान्ति, शान्ति । आवेशमा नआऊ भोगेन्द्रमान । यसरी नहतारिऊ, कुराको हल मिलिजुली पो निकाल्नुपर्दछ ।” श्री ५ को प्रतिमाले सम्झाउँदै भन्यो ।

“उसो भए म एउटा सुझाव टक्रयाउँछु, सरकार । राणाहरूको घोडा भएको प्रत्येक सालिकको घोडा हटाइयोस् र प्रत्येक व्यक्तिलाई उभिन लगाइयोस् । स्थान प्रशस्त निस्कन आउँछ । जङ्गबहादुरसँग शुक्रराज, वीरशमशेरसँग दशरथ चन्द, रणोद्दीपसँग सुबेदारसाहेब, वीरशमशेरसँग भोगेन्द्रमान र जुद्धशमशेरसँग म ठिक्क भइहाल्छौं ।” थिरबमको आत्माले भन्यो ।

“यो हाम्रो अपमान हो, सरकार । एक साधारण दुनियाँको छोरो हामीसँग बराबरीमा बस्ने ? यो त हुनै नसक्ने कुरो हो । फेरि हाम्रो घोडालाई पनि कहाँ राख्नु ? हामीलाई यो मन्जुर छैन ।” राणाका प्रतिमाहरूले एकै साथमा भने । “राणामन्त्री हो । हेर, समय चिन । देशमा अहिले तिमीहरूको एकतन्त्री शासन छैन । सानो ठूलो भन्ने भेदभाव पनि अब हराइसकेको छ । तिमीहरूले यिनीहरूसँग मिली वस्तुमै कल्याण छ, समयको गतिलाई चिनी थिरबमको सुझाउ मान्नमा म कुनै क्षति देख्दिनँ ।” श्री ५ को प्रतिमाले भन्यो ।

राणाप्रतिमाहरूमा खलबली मच्चियो । सबै रिसले चुर भएका देखिए, जङ्गबहादुरको प्रतिमाले एक्कासि झोक्किदै भन्यो, “इन्साफ होस्, सरकार । हाम्रा दँजाइमा यी देशभाँडा कदापि आउन सक्तैनन् । यिनलाई किन हुकुम दिन सकिबक्सन्न कि प्रजातन्त्र सरकारको स्वायत्त शासन विभागमा आफ्नो दुःख पोख्न जाओ । अहिले त यिनको जनताको आफ्नो सरकार छ । देशका निम्ति शहीद भएका भन्ने यिनलाई घमण्ड, किन बस्ने स्थानसम्म पाउँदैनन् नि । आफ्नो माग आफैसंग राखेर यी फर्कन अब । हैन तगड-बगड नै गर्ने भनेर होस् अब कोतपर्वको पुनरावृत्ति नै यहाँ पनि गरिदिन सक्छु । यी जो यहाँ छन गोर्खाली मेरै भाइभतिजाबाट बनेका हुन् । यिनले अब अरुलाई के सरकार सम्मलाई पनि चौताराबाट ओर्लन दिने छैन । यी पूरा हाम्रा आज्ञाकारी छन् छन् ।” जङ्गबहादुरको प्रतिमाले कड्केर भन्यो ।

सारा आत्माहरूमा मुखामुख पर्‍यो । श्री ५ पृथ्वीवीरविक्रमको प्रतिमा पनि हडबडाएको जस्तो देखियो । यत्तिकैमा सुबेदारको आत्माले उठेर जङ्गबहादुर प्रभृति सबै राणा प्रधानमन्त्रीहरूलाई घेरामा हाल्ने अर्डर दियो । सिपाहीहरूले पनि सुबेदारको आदेश तुरुन्त पालन गरेको देखियो । सभामा फेरि शान्ति छायो ।

श्री ५ को प्रतिमाले एकछिनपछि एक विचित्र भेषमा बसेको प्रेतात्मालाई सोध्यो, “माथवरसिंह । तिमीलाई के भन्नु छ नि ?”

माथवरसिंहको प्रेतात्माले भन्न शुरु गयो, “भन्नु त धेरै नै थियो, सरकार तर अहिले समय पनि छैन । म दुई शब्दमा मात्र आफ्नो कुरो टुग्याउन चाहन्छु । मेरा मागहरू, एक भाग काठमाडौंमा मेरो पनि एक सालिक होस् भन्ने छ मेरो ठाउँ मेरै निम्ति मात्र एकलौटीको हुनुपर्छ । मलाई छलबाट मारी देशलाई आफ्नो क्रीडास्थलमा परिणत गर्ने जङ्गे र जङ्गेका सन्तानसम्मको मुख हेर्न चाहन्न । अतः मेरो स्थान त्यतै कतै हुनुपर्छ ।”

यसपछि फेरि अर्को एक आत्मा उठी कराउन थाल्यो, “सरकार । मेरो नाउँ लखन थापा हो । नेपालमा स्वतन्त्र- सङ्ग्रामको पहिलो व्यक्ति म हुँ । जङ्गबहादुरको निरङ्कुश शासनबाट देशको उद्धार गर्ने इरादाले मैले सङ्गठन यति राम्रो गरेको थिएँ तर जङ्गबहादुरको हातहतियारको अगाडि म निहत्थाको जोड चलेन । जङ्गबहादुरले मलाई पिंजडामा झुन्डयाई मार्‍यो । यी सँगै त के यिनका नगिच बस्नु पनि म आफ्नो अपमान सम्झन्छु । स्थान असनको डबलीमा बनाइयोस् र साथै महामात्य माथवरसिंहको स्थान इन्द्रचोकमा बनाइयोस् ।”

यत्तिकैमा अरू कैय्यन् आत्माहरू पनि कराउन थाले, “दया सागर हाम्रो पनि इन्साफ हुनुपर्छ । हामी त न घरका न घाटका भयौं । २००७ सालमा हामीले नेपालमा क्रान्ति चलायौँ । राणाशाहीका गोलीले हाम्रा छाती चाल्नु बने ।” सबैले छाती खोली देखाए । नभन्दै सबैका छातीमा तीन-तीन, चार-चार प्वाल थिए । सबै प्वालबाट भलभल रगत आइरहेको थियो । ती फेरि कराउन थाले, “प्रजातन्त्र पनि देख्न नपाईकन हाम्रो सास गयो । राणाशासनले हाम्रा लाशहरूलाई डढाएर कालै पारी फ्याँकिदिएकोले कसैले चिन्न नसकी सद्गतिसम्म हुन पाएन । माथवरसिंह, लखन थापा र शुक्रराजहरूले काठमाडौँको वरिपरि स्थान नपाएर पनि त्यति हानि छैन । सबैले इतिहासमा स्थान पाइसक्नुभएको छ । दुनियाँ कायम रहेसम्म वहाँहरूलाई इतिहासबाट हटाइने छैन । हाम्रो त यहाँ पनि कहीं स्थान भएन, इतिहासमा पनि नाम छैन । यहाँसम्म कि बालचन्द्र शर्माले लेखेको इतिहासमा पनि ठाउँ पाएका छैनौं । अब हुँदा-हुँदा काठमाडौँमा वितरण गरिने ठाउँको निम्ति पनि हाम्रो त नामै लिइन्न कस्तो अन्याय !”

यत्तिकैमा ढ्वाङ्ङ बिहानको तोप चल्यो । सालिक र प्रेतात्माहरूको भागाभाग पर्‍यो ।

म त एकछिन जिल्ल परेर हेरिरहें । चौतारा एक मिनटमै सुनसान भयो । मुटुलाई बलियो तुल्याई चौतारामा उक्लेर हेरेँ । पहरामा बसेका चारै सिपाही निश्चल मूर्ति बनिसकेका थिए । अनि म अरू सबै सालिक पनि जाँच्दै हिँडें । सबै यथास्थितिमै थिए । म पुगेँ जङ्गबहादुरको सालिकमन्तिर । “महाराज !” मैले सालिकलाई सम्बोधन गर्दै भनें, “समय चिन्नोस् । देश धेरै अगाडि बढिसकेको छ । देशमा अहिले जनताको सरकार छ । तपाईंको ठाउँमा अहिले एउटा साधारण दुनियाँको छोरो छ । ठूलो-सानो भन्ने जमाना अब छैन । शुक्रराजजीसँग मिल्नु नै तपाईंको कल्याण छ ।”

“बहुलाहरूको सङ्ख्या पनि हिजोआज त नेपालमा अति नैं बढ्यो ।” मेरो पछाडिबाट आएको वाक्य मैले च्वाट्ट सुनें । यसो फर्की हेरें- दुई जना पुण्यात्माहरू सायद बागमती नुहाउन जान लागिरहेका थिए । परिस्थिति सम्झन मलाई बेर लागेन । अनि त लाज पनि लागेर आयो । सुरुसुरु फर्कें त्यसपछि घरतिर । रातभरि गायब रहेकोमा नजाने श्रीमतीजीले के ठान्ने हुन् ।

०००
‘खै खै’ २०१७

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल