तिलक लुइटेलखेलोफड्को
कसरी कमायौ हौ दहीचिउरा खाने पैसा ? उनले तुरुन्तै जवाफ दिए- कुरो त यही हो नि । खेलोफड्को गर्नेले खान्छ त दहीचिउरा ।

बाउबाजेले जोडिदिएको उनको खेतबारी मनग्गे थियो । कुनै बेलामा गाउँघरले उनकै परिवारलाई आफ्नो आशाभरोसा मान्दथे । समय परिवर्तनशील छ । मानिसले सधैँ नौलो कुरा रुचाउँछ । नेपालका राजनीति गर्नेहरूले विदेशी पद्धति सिकेर मुलुक परिवर्तन गर्ने सपना देखेको जस्तै उनलाई पनि सुखी जीवन बिताउने रहर लाग्यो ।
उनले सुखले बसिखाने भनेर पहिले खेत बेचे । खेत बेचेपछि बल्ल थाहा भयो अन्न उब्जाउन नसके खान पाइने रहेनछ । अर्काकै अधियाँ ठेक्का गरुँ भनेर गोरु किने । अर्काकै खेत कमाएर केही समय चल्यो । गोरु पाल्न पनि अप्ठ्यारो नै भयो । घाँस पनि काट्नु पर्ने र गोबर पनि सोहोर्नु पर्ने । काम त सजिलो पो गर्नुपर्छ भन्ने लाग्यो ।
हलो भएपछि गोरु त अर्काकै चलाउँदा पनि भइहाल्छ नि भनेर गोरु पनि बेचिदिए । गोरु बेचेपछि हलो किने । हलो किनेर चलाउँदै काममा लागे । हलोले पनि खासै काम दिएन । आज यता एउटाको मेलो जोत्नु छ भोलि उता अर्काको । काँधमा बोकी बोकी हिँड्न कति झन्झट । आखिर हलो पनि बेच्ने सुर गरे र बजारमा लिएर गए ।
आखिर हलो विक्री भयो । दिउँसोको बाह्र बज्न लागिसक्यो । भोकले पेट कराउन थाल्यो । नजिकै पसलमा दहीचिउरा बेच्तै रहेछ । उनी त्यहीँ गए र दहीचिउरा खान थाले । खसखसे छिमेकीले देखेछन् । हतार गरेर सोधिहाले- हैन के छ हौ हालखबर, हिजोआज निकै खुसी देखिन्छौ । दहीचिउरा पनि खाँदै छौ । कसरी कमायौ हौ दहीचिउरा खाने पैसा ? उनले तुरुन्तै जवाफ दिए- कुरो त यही हो नि । खेलोफड्को गर्नेले खान्छ त दहीचिउरा ।
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest





































