सुलसुलेकवि सुवानन्द दासको मूर्ति अनावरण
डाक्टर पहाडीका अनुसार नेपाली कविताको प्रभातोदय धादिङको माटोबाटै भएको हो । आजसम्मको खोजबाट नेपाली कविताकै प्रथम निनाद यसै भूखण्डबाट गुञ्जित भएको थियो । प्राथमिक कालको आरम्भमात्र नभएर त्यस समयका प्रभावशाली लेखकहरू प्राथमिककालीन स्रष्टा दैवज्ञकेशरी अज्र्याल (१८२५) र उनकै छोरा विद्यारण्यकेशरी अर्ज्याल दुवैका अविस्मरणीय योगदान यहाँको माटोबाट उठेर नेपाली साहित्यकै समग्र परिधि ओगटेको डा. पहाडी बताउँछन् ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका, वडा नं-५ स्थित कटुन्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा (मूर्ति) अनावरण एवं पुस्तक विमोचन सम्पन्न भएको छ । सङ्घीय सांसद खेमप्रसाद लोहनी, पालिका अध्यक्ष दुगंकुमार शाक्य, साहित्यकार तथा अनुसन्धाता डा.नवीनवन्धु पहाडी एवं कवि राजु झल्लुप्रसादले संयुक्त रुपमा मूर्ति अनावरण गरेका हुन् ।
वि.सं. १८२५ आसपास कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह (राजैभक्तिकृत) कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ, जुन कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए । पृथ्वीनारायण शाहसँग सम्पर्क र सम्बन्ध भएकै कारणले दासले नेपाली भाषाकै प्रथम कविता पृथ्वीनारायण शाह (राजैभक्तिकृत) रचना गरेको डा. पहाडीले उल्लेख गरे ।
“इतिहासकार आचार्यले सुवानन्द दासकृत पहिलो कवि हुन् भनेर बताउनुभएको थियो, घटराज भट्टराईले नेपाली भाषाकै पहिलो कविता पृथ्वीनारायण शाह (राजैभक्तिकृत) हो भन्नुभएको थियो तर, दासको जन्म कहाँ र कहिले भएको थियो भन्नेबारे उहाँहरूले खुलाउनु भएको थिएन,” डा. पहाडीले अगाडि भने, “नेपाली भाषाको पहिलो कवि दास धादिङको माटो (कटुञ्जेको टोड्केमा) जन्मिएका थिए भनेर दावा पेश गर्ने पहिलो व्यक्ति म हो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा मैले अनुसन्धान गर्दा दासको जन्म धादिङको कटुञ्जेमा भएको पुष्टि हुन् पुग्यो । उनको जन्म कति सालमा भयो भनेर वंशावली खोज्ने काम अब अरू दासहरू हो ।” ऐतिहासिक पुष्टिका आधारहरू इतिहासकार डा.राजाराम सुवेदीबाट समेत प्राप्त भएको उनले उल्लेख गरे ।
डा. पहाडीले दासको परिवार धादिङ (हाल नीलकण्ठ नरपालिकाको साङ्कोष र कटुञ्जेको सीमा क्षेत्र)का बासिन्दा हुन् र उनको परिवार टोड्केमा व्यापार गर्ने बताए । “दासका परिवारिको व्यापारकै क्रममा गोर्खाली राजाहरुसँग सम्पर्क भएको हो । एकीकरण अभियानका क्रममा उनीहरुले नै धादिङमा राजाका लागि हतियार खरिदका निमित्त १/१ रुपैया उठाउन सघाएका थिए,” उनले अगाडि भने, “त्यसैले पनि सुवानन्द दासका लागि कविता लेखनका शास्त्रीय अनेक विषयहरु एवं तत्कालका लागि लेखनका अनेक आदर्शहरु हुँदाहुँदै पनि उनले पृथ्वीनाराण शाहलाई नायक मानेर कविता रचना गरेका हुन् ।”
टोड्के त्यतिबेला नै काठमाण्डौंबाट सुदुर पश्चिमसम्म आउजाउ गर्ने व्यापारिक नाका थियो । नुवाकोट हुँदै नेपाल खाल्डोसम्मका आउजाउ गर्ने मुलबाटो यहाँ नै पर्ने भएकाले यसको सामरिक महत्व पनि थियो । सोही सामरिक महत्वका कारण यस क्षेत्रका शिक्षित र चलाख व्यक्तिहरुसँग सम्पर्क गर्नु पृथ्वीनारायणको मूल ध्येय रहेको डा. पहाडीले बताए । यहाँका शिक्षित सुवानन्द दाससँग पृथ्वीनारायणले राम्रा सम्बन्ध स्थापित गरेको र दासबाट युद्धनिहित सूचना र सल्लाह लिन थालेका उनले बताए ।
डाक्टर पहाडीका अनुसार नेपाली कविताको प्रभातोदय धादिङको माटोबाटै भएको हो । आजसम्मको खोजबाट नेपाली कविताकै प्रथम निनाद यसै भूखण्डबाट गुञ्जित भएको थियो । प्राथमिक कालको आरम्भमात्र नभएर त्यस समयका प्रभावशाली लेखकहरू प्राथमिककालीन स्रष्टा दैवज्ञकेशरी अज्र्याल (१८२५) र उनकै छोरा विद्यारण्यकेशरी अज्र्याल दुवैका अविस्मरणीय योगदान यहाँको माटोबाट उठेर नेपाली साहित्यकै समग्र परिधि ओगटेको डा. पहाडी बताउँछन् ।
नेपाली भाषाको पहिलो कवि सुवानन्द दास धादिङको रहेको पुष्टि भएसँगै यस विषयमा रहेको यावत भ्रमहरू हटेको र यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान आवश्यक भएकाले प्रतिमा अनावरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले बताए ।
गाउँपालिकाको रु. ५ लाख लागतमा बनेको दासको मूर्ति अनावरण समारोहकै अवसर पारी गाउँपालिकाको एतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । अनुसन्धान प्रतिवेदन पहाडीले पेश गरेका हुन् । कार्यक्रममा कवि प्रभात तिमिल्सिना, लेखक महेन्द्र उपाध्याय, पत्रकार उत्तम अधिकारी, डालमाया तामाङ, जानी नेपाली, देउती विक, सानाकान्छा तामाङ लगायतका गाउँपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।
(साभार : साहित्यपोस्ट)
Subscribe
Login
0 Comments
Oldest












































