सुलसुलेप्रज्ञा-प्रतिष्ठानमा ‘योगदर्शनको सामाजिक प्रभाव’बारे बहस
विचार गोष्ठीको समुद्घाटन प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नु हुँदै योग, ज्ञान विज्ञान र दर्शनलगायतका सबै विषयको मूलस्रोत समाज नै हो भन्नु भयाे ।

काठमाडौँ, ०८० असार २१ । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले डा.टिपी धमलाद्वारा लिखित कार्यपत्र ‘योगदर्शनको सामाजिक प्रभाव’ विषयक विचार गोष्ठीको आयोजना गर्यो ।
विचार गोष्ठीको समुद्घाटन प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नु हुँदै योग, ज्ञान विज्ञान र दर्शनलगायतका सबै विषयको मूलस्रोत समाज नै हो भन्नु भयाे । पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेका छन् । योगको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले पूर्वीयदर्शनमा योगको सामाजिक प्रभावको व्यापकतालाई सुव्यवस्थित गर्नु सबैको दायित्व हो भन्नुभयो ।
गोष्ठीका अध्यक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले योगको सैद्धान्तिक, सामाजिक र व्यवहारिक पक्षलाई आत्मसात् गर्दै स्वच्छ र स्वस्थ जीवनयापनका लागि योगदर्शनको शिक्षालाई व्यापक तुल्याउन सक्नुपर्छ भन्नुभयो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य धर्मेश पोखरेलले योगदर्शन र साधना आत्मिक चिन्तन हो, यसको सामाजिक आयामका बारेमा व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै डा.टिपी धमलाले योगले चित्तका वृत्तिहरू, मनका गुणहरू, योगका विघ्नहरू, क्लेशहरू आदिको समाधान गरी चेतना विज्ञानको कार्य गर्दछ, यसले अज्ञान हटाई जीवनलाई दिव्य बनाउँछ, यी सम्पूणर् पक्षको उपलब्धि हासिल गर्नका लागि योगको आवश्यकता पर्दछ, जसले स्वस्थ शारीरिक, स्वस्थ मानसिकता, आनान्दानुभूति मानव, महामानव र दिव्यमानव बनाउन सक्छ भन्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै डा. माधवप्रसाद उपाध्यायले योग साधना स्वास्थ्यवर्द्धक, भौतिक उन्नति, आत्मिक चेतना र सांस्कृतिक लगायतका क्षेत्रमा व्यापक छ, यसको सामाजिकीकरणका बारेमा थप व्याख्या हुनुपर्यो भन्नुभयो ।
गोष्ठीका सहभागी सर्वराज आचार्यले नेपाल बहुसामाजिक, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सामाजिक विभेद र असमानताका विषयलाई चित्रण गर्नुपर्दछ भन्नुभयो ।
अर्का सहभागी प्राडा श्रीराम उपाध्यायले योग र ध्यानको बहुआयामिक र सामाजिक प्रभावलाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो भने आनन्द गैह्रेले सहभागिताका क्रममा योगको सामाजिक र आध्यात्मिक तत्त्वबारे व्यापक खोजी हुनुपर्ने बताउनुभयो । अर्का सहभागी श्रीराम पाण्डेले योगका बारेमा विज्ञानले पुष्टि गरेका विषयवस्तुको अध्ययन अनिवार्य छ भन्नुभयो ।
समग्रमा योगदर्शनको सामाजिक प्रभाव र महत्त्वका विषयमा सो विचार गोष्ठी केन्द्रित रह्यो । योगदर्शनले सांस्कृतिक र जातीय विविधता, स्वास्थ्य, आर्थिक, राजनीतिक, वैज्ञानिक, वैदिक सनातन, सामाजिक समानता र असमानता लगायतका विषयमा व्यापक प्रभाव पारेको छ । यसबारेमा समग्र प्राज्ञिक अनुसन्धान हुनुपर्ने गोष्ठीको निष्कर्ष रह्यो ।
०००
– चेतनाथ धमला
Subscribe
Login
0 Comments
Oldest











































