हरिशंकर परसाईंक्रान्तिकारीको कथा
उसले सोध्यो- “होइन ? त्यसो भए म के हुँ त ?” पत्नीले भनिन्- “तिमी एउटा स्वाँठ बुर्जुवा हौ । तैपनि म तिमीलाई माया गर्छु ।”

अनुवाद : आर.सी. रिजाल
‘क्रान्तिकारी’ उसले उपनाम राखेको थियो । खुब पढेलेखेको युवक । स्वस्थ, सुन्दर । जागिर पनि राम्रो । विद्रोही । मार्क्स लेनिनको उदाहरण दिन्थ्यो, चे ग्वेवाराको खास भक्त ।
कफी हाउसमा धेरैबेरसम्म बस्थ्यो । खुब कुरा गर्थ्यो । सधैँ कसरी उग्र क्रान्तिकारी बन्न सकिन्छ भनेर तनावमा रहन्थ्यो र भन्थ्यो- “सबै उथलपुथल पार्नु छ । सबै परिवर्तन गर्नु छ।” उसले कपाल लामो, दाह्री चिटिक्क पारेर मिलाएको थियो । विद्रोहको घोषणा गर्छ । केही गर्ने मौका खोज्छ । भन्छ- “मेरो बाबुको पुस्ता छिटो मर्नुपर्छ । उनीहरू घोर रुढिवादी, जातिवादी, प्रतिक्रियावादी छन् । खाँटी वुर्जुवा । जब उनी मर्छन् तब म न कपाल खौरन्छु न श्राद्ध गर्छु । म सबै परम्परा नष्ट गरिदिन्छु । चे ग्वेवारा जिन्दावाद ।”
कोही साथी भन्थे- “तर तिम्रा बुबा त तिमीलाई खुब माया गर्छन् ।” क्रान्तिकारी भन्थ्यो- “माया, हरेक बुर्जुवा क्रान्तिकारिता मार्नका लागि माया गर्छन् । यस्तो माया षड्यन्त्र हो । तिमीहरू बुझ्न सक्तैनौ । यतिबेला मेरा बा कोही ब्राह्मणको खोजीमा छन्, र ऊसँग बीसपच्चीस हजार लिएर उसकी छोरीसँग मेरो विवाह गराउन चाहन्छन् । तर म यस्तो हुन दिन्नँ । म आफ्नो जातमा विवाह नै गर्दिनँ । अर्को जातिको त्यो पनि तल्लोजातकी केटीसँग विवाह गर्छु । अनि मेरा बा पुर्पुरोमा हात राखेर बस्नेछन् ।” साथीले भन्यो- “यदि तेरो माया कुनै केटीसँग भयो, संयोगले उनी ब्राह्मण जातको परिन् भने तँ विवाह गर्छस् नि ?” उसले भन्यो- “कुनै हालतमा पनि गर्दिनँ । म त्यसलाई छोडिदिन्छु । कुनै क्रान्तिकारी आफ्नो जातको केटीसँग न माया गर्छ, न विवाह नै । मेरो प्रेम एक कायस्य जातकी केटीसँग भएको छ । म उसैसँग विवाह गर्छु ।“
एकदिन उसले कायस्य केटीसँग कोर्टम्यारिज गर्यो । उनलाई लिएर आफ्नो सहरमा आयो र एउटा साथीको घरमा बस्यो ।
बलिदानको भावनाले भरिएको मुडमा थियो । भनिरहेथ्यो “आई वोक देअर नेक । मेरा था यतिबेला टाउको ठोक्दै होलान् । आमा रोइरहेकी होलिन् टोलछिमेकीहरूलाई जम्मा पारेर मेरा ना भन्दै होलान्- “हाम्रो लागि छोरा मरिसक्यों बाले मलाई त्याग्लान् । मलाई सम्पत्ति नदेलान् आइडोन्ट केयर । म जस्तोसुकै बलिदान गर्न पनि तयार छु । त्यो घर मेरो लागि दुस्मनको घर भयो । बट आइ विल फाइट टु दि इन्ड दि इन्ड ।” ऊ बरन्डामा छाती तन्काएर घुमाइ फेरि बदर भन्छ- “अब सङ्घर्ष नजिकिंदै छ ।” उसको एउटा साथी आयो र भन्यो- “तिम्रो वाले तिमी श्रीमती लिएर सिधै घर किन नआएको भन्दै हुनुहुन्थ्यो । उहाँ त धेरै शान्त देखिनुहुन्थ्यो । मलाई छोराबुहारीलाई घर लिएर आऊ भन्दै हुनुहुन्थ्यो ।”
ऊ उत्तेजित भयो । ‘अ बुर्जुवा हिपोकेसी (आडम्बर)। यो एउटा षड्यन्त्र हो । मलाई घरमा बोलाएर फेरि अपमान गर्दै हल्ला गरेर निकाल्छन् । उनले मलाई त्यागिदिएका छन् भने म किन सम्झौता गरुँ । म दुई कोठा भाडामा लिएर बस्छु ।” साथीले भन्यो “ल तिमीलाई कहाँ त्याग्या छ ?” उसले भन्यो- “मलाई सबै थाहा छ- आई विल फाइट ।”
साथीले भन्यो- “जब लडाइँ नै छैन भने केको सङ्घर्ष र क्रान्तिकारी कल्पनामा डुबेको थियौ । ऊ हतियार तिखादै थियो । बारुद सुकाउँदै थियो । क्रान्तिको निर्णयत्मक क्षण आउनेवाला छ । म वीरतापूर्वक लड्छु । बलिदान गर्छु ।
तेस्रो दिन एउटा खास साथी आयो । उसले भन्यो- “तिम्रो बाआमा तिमीलाई लिन ट्याक्सी लिएर आउँदै छन् । आइतबार तिम्रो विवाहको उपलक्ष्यमा भोज छ र निमन्त्रणा पत्र पनि बाँडिदै छ ।
क्रान्तिकारीले आफ्नो टाउको ठोक्यो । उसको पसिना बग्न लाग्यो । ऊ कालोनिलो भयो र भन्यो- “हरे । सबै खत्तम भयो । जिन्दगीभरको सङ्घर्ष- साधना खत्तम भयो । नो स्ट्रगल । नो रिवोल्युशन । मैले हारेँ । उनीहरू मलाई लिन आउँदै छन् । म लड्न चाहन्थेँ । मेरो क्रान्तिकारिता । मेरो क्रान्तिकारिता ।। देवी, तिमी मेरा बाबुको मनमा मेरो लागि घृणा उब्जाऊ । चे-ग्वेवारा, डियर चे ।
उसकी पत्नी बाठी थिइन् । दुईतीन दिनदेखि श्रीमान्को क्रान्तिकारिता हेर्दै हाँसिरहेकी थिइन् । उनले भनिन्- “प्रिय एउटा कुरा भनूँ, तिमी क्रान्तिकारी होइनौ ।” उसले सोध्यो- “होइन ? त्यसो भए म के हुँ त ?” पत्नीले भनिन्- “तिमी एउटा स्वाँठ बुर्जुवा हौ । तैपनि म तिमीलाई माया गर्छु ।”
‘ओलारामको आत्मा’ बाट
Subscribe
Login
0 Comments
Oldest































