युवराज मैनालीचट्याङ गीता : एक दृष्टि
बान्की यसमा थरी-थरीका छन्-आचीदेखि लाठीचार्ज हल्कासम्मलाई व्यङ्ग्यको कस्सिएको व्यङ्ग्यहास्यले लर्काउनसम्म लर्काएर स्वाट्ट तान्ने जमर्को चट्याङ गीतामा फुर्सदमा पकाएको फुलौराजस्ता च्वाट्ट परेका छन् ।

गीता त्यो पनि चट्याङको झटारो हान्ने चट्याङ गीता अर्को छिटोछरितो फुर्तिलो झटारोले चटारो हान्छन् । न कहिले सुनिएको थियो तर अहिले कलीको प्रतापले छ्याङ्गै देखियो । वात्स्यायनको मुखुण्डो पोतेर पुस्तकभन्दा पत्रिका आकारमा भकुण्डो खेलेर चट्याङ गीता चट्याङ मास्टरले गोलपोष्ट ताकेका छन् । थाक्दै गएका कलमकारलाई समेत जुरुक्क-जुरुक्क उचाल्ने गरेर डाढे तुल्याउन खोजेको देखिन्छ । नाम ढाडिएको जगदम्बा प्रकाशनले यो पुस्तकं+पत्रिका =उभयलिङ्गी तेस्र्याएर सोहोर्न खोजेका छन् । त्यो के भन्ने कुरा त अलिक पछि नै सबैले थाहा पाउने कुरा भो ।
केराको खाँवामा फूल फुलाएर दायाँ घडो बायाँ शायद फर्सीमा धूप सिउरेर फाटेको चट्टीमा विराजमान पण्डितबाजेको सर्वाङ्ग टालेको पहिरन अनि टोपीसम्म पनि टालेकै बहुसङ्ख्यक नेपाली पहिचान अनि वर्तमान परिप्रेक्ष्यमा एउटा राष्ट्रिय पहिचान अनि स्रोतामा चारआँखे दुई महिला अग्रपङ्क्तिमा एउटी पाको हातमा धागो कातिरहेकी र अर्को त्योभन्दा कम उमेरकी अनि पण्डितबाजेको पछाडिपट्टि गम खाएका भद्रपुरुष अनि झल्लर चँदुवा आदि आदि ।
वात्स्यायनको गाथा सिङ्गार बखानपूणर् भयो । भुत्रोको पूणर् हुनु त्यति ठाउँ नपुगेर ढाँटेको पो रहेछ मोरो वात्स्यायनले गाथाको पछाडि त श्रोताको लाममा ओछ्यानमा परेका र स्वर्गतिर प्रस्थान गरिसकेका प्रधानमन्त्री भइसकेका, भइरहेका दौरासुरुवाल सिलाएर बारम्बार च्यातेका अनि फेरि सिलाएका र दाबीकर्ता अर्थात् भावी कुर्सीहर्तासम्मलाई चट्याङ गीताका स्रोताका रूपमा बसाएका र मात्र एक जनालाई जो बस्दाबस्दै उभिएका थिए आजसम्म उभ्याउभ्यै रहेका छन् । तिनैलाई तारो बनाएर माथि अण्डाकारभित्र ८५ र त्यसपछि आफ्नो छवि त्यसपछि माड्साब चट्याङ मास्टरको पोष्टर टाँसेका रहेछन् । गाथाभित्र पनि कलम-ब्रसको चट्याङमाथि बिजुली चम्काएका रहेछन् अनि यति मात्र कहाँ हो र ! प्रत्येक श्लोकमा एउटा सुहाउँदो पटुछवि (कार्टुन) ले सजाएका एक सय दश रुपैयाँ कस्सिएर थुत्नलाई । अबचाहिँ छवि गीताको अध्यायमा विश्राम लाग्यो इति वात्स्यायन भङ्गिमा घर्षण वाचनाय प्रथमोध्याय ।
सतासी धाम पुर्याइएको यस चट्याङ गीतामा दुई श्लोक मपाइँ स्तुति र एउटा एउटा कवितीय प्रकाशकीय स्त्रोत्रमै फोसामा वाचन गराउन खोजिएको छ अर्थात्, गीता वाचन गर्न ध्यानस्थ गराउने उपक्रममा शीर्षाशन अभ्यास गराइएको छ ।
प्रथम अध्याय ‘माग्ने’ गाथा गाइएको छ जसको कन्तुरे नमुना यस्तो छ ः ऋणदान, अनुदान जे मिल्छ उही माग्ने, माग्दा-माग्दा धनी हामी, दिने बन्नेछ माग्ने अनि फेरि भ्याएसम्म नेताले, झन्डा हल्लाई माग्ने, नभ्याए कार्यकर्ताले एनजीओ खोली माग्ने ।
माग्ने तौरतरिका कोसँग कसरी कुन प्रकारले माग्ने, यो कुरा वाचनभन्दा गीता पढेर लय हालेर आफैँ पढ्ने तब मात्र लयमा विलय भई मज्जाले हास्यव्यङ्ग्यको धुरी चढ्ने अनि माग्नेको इतिहास र कृषि अर्थ, वन, जलस्रोत, उद्योग व्यापार, पर्यटन, यातायात, शिक्षा, संस्कृति, वातावरण, जनसङ्ख्या, स्वतन्त्रता, योजना बुद्धिजीवी समन्वय, नेता, नीति, विकास, विज्ञान, परराष्ट्र कोष, समाज कल्याण यी सबै माग्ने खण्डको दर्पणावतारको दर्शन गरेर आफूलाई अनुकूल तुल्याउन चट्याङ मास्टरले बडो मेहनतसाथ श्लोक हाली-हाली घोक्न र घोकेर आफूलाई उपयुक्त ठाउँमा ठोक्न मात्रै होइन घोक्नलाई आकाशमाथि उडाउने अचूक मन्त्र पनि छाडा रूपले पस्केका छन् । यहाँसम्म आइपुग्दा भानुभक्तले दिएको शिक्षा बरु पुरानो होला यस गीतामा गरिएको जीवन सफलताको दर्शन शिक्षा गीताको ज्ञानभन्दा अलि बेसी नै होला कम भने छँदै छैन । यसैले भन्न सकिन्छ, यो युगीय चाट मसला । हिस्ट्री नपढेकालाई पनि यो गीता पढेपछि शास्त्रीसम्म त पुर्याइहाल्छ, योचाहिँ विना रोकटोक ठोकेरै भन्न सकिन्छ ।
धूवाँ फोक्सोभरि, धूलो नाकभरि कोरको जडी मुखसम्म ।
कानै खाने हरन-आँखाभरि रछ्यान् काठमाडौँको सुखमा ।।
‘रछ्यानाको शासन’ मात्र होइन यसमा त सभ्यताको गुणगान पनि छ । अनाथ जननाथ नेताहरूको भाषणमा फेरि रछ्यान् हाँसेको थाहा पाउने चट्याङ मास्टरभित्र लेखनाथै पस्या हुन् कि क्या हो सरकारी कुकुर संरक्षणमा नामकाम इण्डोस्कोपी छर्लङ्गिन्छ, अरू त छाडौँ जुको पस्यो सिंहदरबारमा वाचन गरी हेरौँ त-
जुको पस्यो सिंहदरबारमा, अजिङ्गर बनी निस्कियो
चुस्यो यो खान जानेछ अघाउनचाहिँ बिर्सियो ।
मेचबाट मिल्यो बुद्धि, जुको नै सर्व जान्ने भो
यो यौटा जान्ने बन्नाले, सारा देश नजान्ने भो ।।
बुद्धि त खियाउनै पर्दैन, महाभारत यहाँको सञ्चय हँुदामा धृतराष्ट्रलाई झैँ यहा प्रत्यक्ष प्रसारण भयो । तपाईं हाकिम कार्यालयको चरो हुनुहुन्छ, यसको पनि बान्की छ । बान्की यसमा थरी-थरीका छन्-आचीदेखि लाठीचार्ज हल्कासम्मलाई व्यङ्ग्यको कस्सिएको व्यङ्ग्यहास्यले लर्काउनसम्म लर्काएर स्वाट्ट तान्ने जमर्को चट्याङ गीतामा फुर्सदमा पकाएको फुलौराजस्ता च्वाट्ट परेका छन् ।
चौरासी जुनीको मात्र कुरो कन्याउने यो थलोमा तीन जुनी थपेर सतासीधामकै बखान गर्ने हो भने चट्याङ बखान गीता बनेर सय पानाको तीनसय अनि असुल्ने माले चारसय बीस हुन पुग्दछ । यसैले यो मन्दीमा दया पोखौँ धेरै बखान गरेर चट्याङ मास्टरको नाक फुलौरामै टुङ्ग्याऊँ, घिरौँला नपारौँ । फेरि लेख्दै गएमा यस्तो राम्रो क्वाँटीमा खाँटी पर्न पनि के बेर ! बरु आफ्नो स्वास्थ्यको चिन्ता छ, ज्ञानको भोक लागेको छ र आफन्तहरूका दर्शनको अभिलाषा छ भने तुरुन्त एकसयको हरियो र बीसको रातो नोट लिएर खुरुक्क चट्याङ गीता घरमा भित्र्याइहाल्नोस्, तपाईंको घरमा लच्छिनले बास बस्नेछ ।
कुराचाहिँ खासै हो- तीता मान्नेले बित्ताको चिन्ता मान्लान्, मीठाले- ऋणंकृत्वा घृतं पिवेत् ठानेर आफ्ना बुद्धिसुद्धि पनि यही चट्याङ गीतामा तिखार्लान् । लेख्नेहरूमा काई लागेका बेला यस वर्षको राजमार्ग बन्दमा भेटेको ताजा तरकारी हो जसले भेट्टायो उसले चट्कायो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































