सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यकार गोतामेका प्रमुख विशेषता

यही भूमिका र योगदानको कारण हास्यव्यङ्ग्य लेखन परम्परामा गोतामेको स्थान उच्च रहेको छ । अथकित निरन्तरता, शिष्ट, शौम्य र तार्किक प्रस्तुतिले र विकृत्तिप्रति तीव्र प्रहारले नेपाली हास्यव्यङ्ग्यमा गोतामेलाई कालजयी बनाएका छन्, अमरता प्रदान गरेका छन् ।

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्य लेखनको आधुनिक कालको दोस्रो उपचरणमा देखापरेका श्याम गोतामे आरम्भदेखि अन्त्यसम्म नै हास्यव्यङ्ग्य निबन्धलाई मात्रै आफ्नो लेखकीय आदर्श मानेर कलम चलाउने स्रष्टा हुन् । हास्यव्यङ्ग्य निबन्ध वाहेक उनका अन्य रचना अहिलेसम्म भेटिएका छैनन् । हास्यव्यङ्ग्यलाई छोडेर अन्यत्र उनले फिटिक्कै कलम चोपेनन् भन्दा हुन्छ । यस किसिमको समर्पणभाव साहित्यकार तथा कवि लेखकहरूमा विरलै पाइन्छ । कोरा औपचारिकतालाई ठयाम्मै मन नपराउने गोतामेको स्वभाव जति खरो र स्वच्छ छ, उनका रचना कृतिहरू उत्तिकै मुलायम छन् । मुलायम यस अर्थमा छन्, भाषा सरल छ, भन्न खोजेको कुरालाई लोकबोलीमा बहुप्रचलित उखान टुक्काहरूको सहारा लिएर मीठो र स्वादिलो किसिमले प्रस्तुत गरेका छन् ।

विसङ्गतिप्रति प्रहारक चेतले उनलाई हास्यव्यङ्ग्य रचना सिर्जनाका क्षेत्रमा पनि खरो र खस्रो व्यक्तित्वका रूपमा स्थापित गरेको छ । जतिसुकै आदर्श रचना सिर्जना गरे पनि व्यवहारमा सडेगलेको पन देखिने कतिपय लेखकहरूभन्दा गोतामे भिन्न छन् । यही भिन्नता उनको पहिचान हो । यहाँ हास्यव्यङ्ग्यको सैद्धान्तिक आलोकमा गोतामेका रचना कृतिहरूको संक्षिप्त मूल्याङ्कन गर्दै निम्न लिखित बुँदामा आधारित भएर उनका रचनात्मक प्रवृत्ति एवम् वैशिष्ट्यहरूको पहिचान गर्दै मूल्याङ्कन गर्नु उपयुक्त देखिन्छ ।

विषयवस्तु चयनमा गोतामेको रुचि
श्याम गोतामे मूलतः हास्यव्यङ्ग्ग्य लेखक हुन् । हास्यव्यङ्ग्य स्रष्टा “हुनुपर्ने” र “भइरहेको” वीच देखा परेको असङ्गतिप्रति तीव्रतम रूपमा सम्वेदनशील हुन्छ । यही सम्वेदनाको जगमा उभिएर विसङ्गत र विकृत स्थितिलाई सजीव चित्रण गरेर मात्रै हास्यव्यङ्ग्यकार चित्त बुझाउने र थकाइ मार्ने गर्दैन, बरू त्यसको उच्छेद र निर्मूल गरी सङ्गति निर्माणको सन्देश सम्प्रेषण गर्न पनि उत्तिकै लालायित हुन्छ, त्यसैअनुरूप विषयवस्तुको छनौट गर्दछ । विसङ्गति र विकृतिको डङ्गुरबाट सामाजिक जीवनलाई सवभन्दा वढी प्रभावित गरिरहेका विषय र सवाललाई टिपेर आफ्ना रचनामा उन्ने बुन्ने र विकृतिका स्रष्टा एवम् वाहकलाई हास्यपात्र वा नायकको रूपमा प्रस्तुत गरी हँसाई हँसाइ चुट्ने गर्दछ । श्याम गोतामेले वस्तुतः यसै गरेका छन् ।

गोतामेका समग्र निवन्धहरूको केन्द्रीय विषयवस्तु साहित्यिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, प्रशासनिक, मानवीय तथा वैयक्तिक विसङ्गति, विकृति र विद्रूपता रहेको छ । उनका पूर्वाद्र्धका रचनाहरूमा साहित्यिक सांस्कृतिक विसङ्गतिलाई प्राथमिकताका साथ उठाएको देखिन्छ भने क्रमशः उत्तराद्र्धधका रचनाहरूमा सामाजिक, प्रशासनिक र राजनीतिक विसङ्गतिलाई महत्त्व दिएको पाइन्छ । एउटा मूल विसङ्गतिलाई विषयक्षेत्र बनाई लेखिएको निबन्ध रचनामा पनि अन्यान्य विसङ्गत विषयहरू तानेर, कहीँ तुलना गरेर, कहीँ उदाहरण दिँदै, कहीँ उपमा स्थापित गर्ने मन्द हास्यसहित तार्किक ढङ्गले व्यङ्ग्य गर्न गोतामे सिपालु देखिन्छन् ।

घाँसको वणर्न गर्दै घूसमा पुग्नु, पानीको चर्चा गर्दै खानेपानी संस्थानमा भइरहेको भ्रष्टाचारको पोल खोल्नु, रेडियोको फर्मायसी कार्यक्रममा नफलाकिएको नामवाट शुरू गरी मन्त्रीमण्डलको सूचीमा नपरेको नामसम्म खोतल्नु, जोगीको घरमा सन्यासी पाहुना जस्तो उखानको लौरो उठाई निम्न आयस्तर भएकाको घरमा लुरुलुरू आइ खुरूखुरू खाना गुतार्ने बेशर्मी पाहुनालाई सोठ्याउँनुजस्ता विषयहरू गोतामेका रचनामा निहित विषयगत विविधताका केही उदाहरण हुन् ।

गोतामे हाम्रो समाजका उक्कुच पल्टिरहेका घाउ, पिला खटिराहरूलाई आफ्ना रचना मार्फत निचोर्न चाहन्छन् । यिनै असङ्गतिका पिला खटिराहरू नै उनका निबन्धहरूका मूल विषयका रूपमा विन्यास गरिएका छन् । मान्छेका रुग्ण विचार र व्यवहार, नीति बनाउने नेताको कुरूप चिन्तन र विद्रूप चरित्र, प्रशासनिक पदमा आशिन हाकिमहरूका घुस्याहा प्रवृत्ति र चाप्लुस स्वभाव सवैसवैलाई गोतामेले ठुँग्न भ्याएका छन् । उनका हास्यव्यङ्ग्य निबन्धको विषयव्याप्ति अत्यन्त फराकिलो छ । राष्ट्रिय सीमाभित्र विसङ्गतिका अनेकन कुना-कुन्तर चहारिएको छ । तर अन्तर्राष्ट्रिय समस्या र असङ्गतिसम्म भने पर्याप्त रूपमा पुग्न सकेको देखिन्न । उनका समकालीन हास्यव्यङ्ग्यकार भैरव अर्यालको विषय क्षेत्रले राष्ट्रिय सीमा नाघेको मात्र होइन अन्तरिक्ष यात्रासम्म पुगेको पृष्ठभूमिमा विषयदृष्टि केही कमजोर देखिए पनि उनी घरेलु समस्या एवम् विसङ्गतिलाई विषयगत ढङ्गले समातेर कटुव्यङ्ग्य गर्ने सवालमा केशवराज पिंडाली, श्रीधर खनाल, बालमुकुन्ददेव पाण्डे, र रामकुमार पाँडे जस्ता समकालीन हास्यव्यङ्ग्ग्यकारसँग कुम जोर्न पुगेका छन् ।

अरू कतिपय हास्यव्यङ्ग्यकारले छुँदै नछोएको अथवा छोए पनि गहन र गम्भीरताका साथ प्रस्तुत नगरेको साहित्यिक क्षेत्रको विसङ्गतिलाई गोतामेले महत्वका साथ प्रमुख विषय बनाएको पाइन्छ । प्रायः सबै कृति र फुटकर रचनामासमेत यस क्षेत्रमा विद्यमान विकृत वातावरण, गलत मनोकाङ्क्षा, चापलुस र चाकरी प्रवृत्ति, साहित्य सेवाको नाममा आफ्नो नाम चलाउने रुग्ण चिन्तन र चेतनाप्रति हाँसो उडाउँदै उनले व्यङ्ग्य गरेका छन् । विषयवस्तुको मियो यसैलाई बनाइएको छ । गोतामेका अरू पक्षहरूका तुलनामा यो एउटा सवल पक्ष पनि हो ।

गोतामेका निबन्धहरूको संरचनात्मक ढाँचा
विषय छनौटपछि त्यसलाई मूर्तरुप दिन गोतामेले आफ्ना रचनालाई वहुविध ढाँचामा ढालेका छन् । यद्यपि धेरैजसो उनका रचना आत्मपरक छन् । शुरुशुरुका केही रचनाले निबन्धको संरचनागत सीमालाई नाघेर यताउता लागेको पनि देखिन्छ । केही रचना अन्तर्वार्ताको सवाल जवाफको रूपमा पनि रहेका छन् । वणर्न र विवरणलाई कतिपय रचनामा पर्याप्त ठाउँ दिएको पनि देखिन्छ । तर कायेनवाचा सङ्ग्रहमा समाविष्ट रचनाहरूसम्म आइपुग्दा उनी निकै सचेत भएका छन् । त्यसपछिका अधिकांश रचनाले निबन्धको संरचनालाई सचेतनतापूर्वक निर्वाह गरेको र आत्मसात गरेको पाइन्छ । उनका हास्यव्यङ्ग्य निबन्ध पढ्न पट्यारलाग्दा अत्यधिक लामा पनि छैनन् र लघु आकारका एकदमै छोटा पनि छैनन् । एकैछिनको बसाइमा चार-पाँच मिनेट कसैलाई पर्खिदा पर्खिदै पनि कुनै एउटा विसङ्गत विषयवस्तुमा गम्भीरतापूर्वक व्यङ्ग्य गर्दै लेखिएको उनको एउटा निबन्ध पढिसकिन्छ ।

यस्तो सानो आयतनमै पनि प्रहार गर्न खोजेको सवाललाई तार्किक र प्रभावकारी प्रस्तुतिद्वारा गहिरो छाप पार्न सक्ने खुबी गोतामेमा देखिन्छ । अनावश्यक गन्थन थपेर वा जोडेर निबन्धलाई तन्काउने लोभ गोतामेमा देखिन्न । एउटा प्रसङ्ग निख्रिएको अनुच्छेद भित्रकै एउटा चोइटो टिपेर उनी अर्को प्रसङ्ग प्रस्तुत गर्न थालिहाल्छन् । यसले निबन्धको मूल विषय नबराली प्रसङ्गका चोइटाहरू खातमाथि खात लगाउँदै पाठकले चाल नपाई निबन्धको उपसंहारमा पुग्दछन् त्यस्तो उपसंहार नै उनका निबन्धहरूको लगभग उत्कर्ष बन्दछ ।

‘वीरबहादुरको दशैँ’ जस्ता एकाध निबन्धमा कथात्मक संरचनाको झझल्को नलाग्ने होइन, तथापि पछिल्लो कालखण्डका निबन्धमा त्यस्तो पाइँदैन । हास्यव्यङ्ग्ग्य शैली निबन्ध विधामा मात्रै अवतरित हुँदैन- कथा, कविता र अन्यान्य विधा पनि यसको निमित्त पायक पर्ने विधा मानिन्छन् । यद्यपि गोतामेले निबन्धात्मक संरचनालाई मात्र आत्मसात गरेका छन् । कुनै कुनै निबन्धका केही अनुच्छेदमा अलि लामा लामा वाक्यगठन देखिए पनि भाव सम्प्रेषणमा त्यसले अवरोध खडा गरेको भने देखिन्न । यत्तरी गोतामेका निबन्धहरूको वाह्य संरचना निर्माण भएको देखिन्छ ।

भाषाशैलीका दृष्टिमा गोतामे
सरल भाषाका पक्षपाती गोतामेले अमूर्त र क्लिष्ट भाषामा लेखरचनाहरू लेख्ने लेखक साहित्यकारलाई झरिलो व्यङ्ग्यसमेत गरेका छन् । उनका निबन्ध रचनामा सरल भाषामै गम्भीर र गहन अर्थ, त्यो पनि व्यङ्ग्यार्थ प्रदान गर्ने विशिष्टता देखिन्छ । प्रारम्भकालीन उनका निबन्धहरूमा विभाषीय खासगरी अङ्ग्रेजी शब्दको वहुल प्रयोग गर्ने गरेका गोतामेले उत्तरार्द्धमा त्यस किसिमको मोहलाई त्यागेका छन् । यद्यपि अङ्ग्रेजी शब्द प्रयोग गर्दा पनि उनले ती शब्दको नेपाली उच्चारणलाई देवनागरी लिपिमै प्रस्तुत गरेको देखिन्छ । धेरैजसो त्यस्ता शब्दहरू वौद्धिक नेपाली पाठकहरूले बुझे पनि कम पठित सर्वसाधारण पाठकका निमित्त अलि बोधगम्य छैनन् । पछिल्लो चरणमा त्यस्ता शब्दहरूको प्रयोगवाट मुक्त रही नेपाली जनजिव्रोले अत्यधिक मनपराएका र साह्रै माया गरेका उखानटुक्काको प्रयोगतर्फ लहसिएका देखिन्छन् । प्रसङ्गले अवसर दिनासाथ भावलाई अझ पूणर्ता दिने उखान थपक्क राखिदिनाले झन स्वादपूणर् बनेको यत्रतत्र भेटिन्छ ।

कुनै एउटा प्रसङ्ग उचालेर त्यसवारेमा वणर्न गर्दागर्दै अर्कै प्रसङ्गको उदाहरण दिई सादृश्यताबोध गराउनु, वीच वीचमा कोष्ठकभित्र स्पष्टीकरण दिई सन्दर्भलाई अझ व्यङ्ग्य विनोदी बनाउनु, थारै शब्द खर्च गरेर धेरै गम्भीर अर्थ दिनु आदि गोतामेका भाषागत र शैलीगत विशेषता हुन् । उनी शब्दलाई मीठोसँग भाँचकुच र जोडजाड पनि गर्दछन् तर त्यो भाँचकुचले हाम्रो मनमा घाउ लगाउँदैन, वरू मनोरञ्जन दिन्छ । ‘पाउडरायमान’, ‘गुल्शन्दासाइटिस’, ‘मस्ताराममेनिया’, ‘लम्कायमान’, ‘काव्यालाम’, ‘निन्दारस’, ‘प्रशंसारस’, ‘रामधुन श्रवण’ आदि केही उदाहरण हुन् ।

यसरी पूर्वार्द्धमा विभाषीय शब्दको वहुल प्रयोग आलोच्य रहे पनि उत्तरार्द्धका गोतामे भाषाशैलीका दृष्टिमासमेत परिस्कृत, परिमार्जित स्रष्टाका रूपमा आफूलाई प्रस्तुत गर्न सफल देखिन्छन् । उखान-टुक्काको प्रयोगले रचनामा मिठास थपिएको मात्र होइन गोतामेको अभिव्यञ्जनालाई उन्नत व्यङ्ग्यपूणर् बनाएको छ । अघिल्ला कृतिहरू भन्दा उनका पछिल्ला कृतिहरू भाषाशैलीका दृष्टिले अझ माझिएका र परिष्कृत देखिन्छन् ।

गोतामेका निबन्धको वैचारिक धरातल
विसङ्गतिबोध गरी त्यसप्रति चरम घृणाभाव पैदा नहुने व्यक्तिले हास्यव्यङ्ग्य सिर्जना गर्न सक्दैन । लोलोपोतो र औपचारिकताको पक्षपाती, रूग्ण र पुरातन विचारको वाहक व्यक्ति सफल हास्यव्यङ्ग्यकार हुनै सक्दैन । गोतामे देखेको भोगेको र अनुभूत गरेको कुरालाई नै व्यङ्ग्यका रूपमा आफ्ना रचनाहरूमा प्रकट गर्दछन् । स्वैरकल्पनामा रमाउने उनको शोख छैन । ‘मैले यस्तो लेखें भने मेरो जागिर जाला, वा हाकिम रिसाउला, वा अरू कसैको मन दुख्ला भन्ने कुरातिर ध्यान दिने पानीआन्द्रे र डरपोक मान्छेले हास्यव्यङ्ग्य लेख्दैन ।’ यस्तो सोच राख्ने गोतामेको लेखन निर्भीक छ ।

यथार्थ घटना र सन्दर्भहरूलाई सरक्क टिपेर हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने गोतामेका निबन्ध रचनाहरूको वैचारिक धरातल यथार्थवाद हो । उनको यो यथार्थवादी दृष्टिकोण माक्र्सवादी दर्शनको उचाइसम्म चाहिँ पुगेको छैन । समाजका कुना कुन्तरतिर भित्री तहसम्म पुगेर विद्यमान अमिल्दा बिब्ल्याँटा, उल्टापाल्टा र विद्रूपतालाई कलमको माध्यमले सपाट चित्रण गर्दछन् र यो असङ्गतिलाई सङ्गतिमा फेर्ने आन्तरिक चाहनालाई सन्देशको रूपमा प्रकट गर्दछन् । मार्क्सवादी दर्शनको आलोक बिना नै सामाजिक जनजीवनका कुरूपता, संस्कारका नाममा देखिएका कुसंस्कार, सभ्यताका नाममा भित्रिएका विरूपता, मान्छेभित्रै रहेका दानवी प्रवृत्तिको विपक्षमा, विरूद्धमा व्यङ्ग्यवाण चलाएका छन् । पीडितप्रति उनको जति सहानुभूति छ, पीडकप्रति उति नै घृणा पनि छ । विसङ्गतिका नायकप्रति गोतामे जति सिस्नु बनेर खनिएका छन्, ती नायकहरूको दुष्टताद्वारा कोपरिएका सर्वसाधारण नागरिकप्रति उति नै माया छ, आदर र श्रद्धा छ । भाषामा सरलता, निम्न वर्गका मानिसहरूप्रतिको माया र सहानुभूति, रचनामा यथार्थको अङ्कन, विद्रूपताको उच्छेद र सङ्गति निर्माणको आग्रह गोतामेका निबन्धहरूको वैचारिक मेरूदण्ड हो ।

गोतामे यथार्थको अङ्कन गर्दा वाह्य विसङ्गत परिवेशको पर्यावलोकन मात्र गर्दैनन् आफ्नै जीवन, आफ्नै परिवार र परिवेशभित्रका विसङ्गत स्थितिहरूमाथि पनि व्यङ्ग्यात्मक प्रहार गर्न चुकेका छैनन् । उनका धेरै रचनामा यस किसिमको आफैप्रतिको प्रहार प्रकट भएको छ । उनका अधिकांश निबन्धहरूले यही वैचारिक धरातललाई टेकेर ठिङ्ग उभिएका छन् ।

आफैँमाथि व्यङ्ग्य गर्ने व्यङ्ग्यकार गोतामे
हास्यव्यङ्ग्य स्रष्टा मात्र होइन, एउटा इमान्दार लेखक आफैभित्र रहेका दुर्वलता. कमीकमजोरी र आफ्नै भूलहरूमाथि पनि निर्ममतापूर्वक कलम चलाउँछ । एउटा व्यङ्ग्यकार पनि यही समाजको सदस्य हो र समाजमा विद्यमान विसङ्गतिले उसको आनीबानी र स्वभावलाई पनि विसङ्गत बनाइदिएको हुन सक्छ । अनि उसका वैयक्तिक भुल, दुर्वलता र कमजोरीहरूले समाजलाईसमेत दुष्प्रभावित पार्न सक्छ । श्याम गोतामे पनि यसका अपवाद थिएनन् । उनका रचनाहरूको अध्ययन गर्दा के थाहा पाइन्छ भने गोतामे स्वयम्ले आफ्नै जीवनका बिब्ल्याँटा पाटाहरू, आफ्नै विसङ्गत स्वभाव, आनीबानी र क्रियाकलापहरूमाथि मज्जासँग सिस्नुपानी लगाएका छन् । कतिपय ठाउँमा आफ्नो दारूण स्थितिलाईसमेत हास्यको रोगन लगाएर व्यङ्ग्यात्मक पारामा प्रस्तुत गरेका छन् ।

गोतामेका धेरैजसो हास्यव्यङ्ग्य निबन्धहरू आत्मपरक शैलीमा रचना गरिएका छन् । यस्ता रचनाहरूमा ‘म’ पात्रको प्राधान्य हुने गर्छ । आफूभित्रकै दौर्वल्य, भुलहरू र स्वभाव एवम् आनीबानीमा रहेका विसङ्गतिहरूलाई साधारणीकरण गरी मानिसका आम प्रवृत्तिहरूतर्फ सोझ्याउनु गोतामेको प्रवृत्तिगत वैशिष्ट्य हो । उनका निबन्ध रचनाहरूमा वणर्ित, चित्रित एवम् घटित धेरै घटनाहरूमा गोतामेले स्वयम् आफूलाई प्रष्ट रूपमा उभ्याएका छन् । कैयौं ठाउँमा आफैलाई उडाएका छन्, आफैँमाथि कटुव्यङ्ग्य गरेका छन् । विकृतिको स्रोतको रूपमा अरूका गुण अवगुण र प्रवृत्तिहरू मात्र नखोतलेर स्वयम् आफ्ना गुण अवगुण र प्रवृत्तिहरूको निर्ममतापूर्वक खुलासा दिएका छन् । गोतामेको व्यङ्ग्य अरू अन्यत्र मात्र होइन गोतामे परिवारभित्रका विसङ्गतिमाथि पनि खनिएको सोद्धारण यथास्थानमा प्रस्तुत भइसकेको छ ।

यसरी गोतामे आफ्नै वैयक्तिक परिवेशको विसङ्गत क्रियाकलापलाई पनि मन पराउँदैनन् । यसैलाई विषयवस्तु बनाएर निर्मम व्यङ्ग्य गर्न अघि सर्छन् । यस्तो प्रवृत्तिलाई आत्मव्यङ्ग्य भनिन्छ । यसर्थ गोतामे एउटा सफल आत्मव्यङ्ग्यकारका रूपमा हाम्रो सामु उपस्थित छन् । यो पनि उनको महत्त्वपूणर् प्रवृत्तिगत वैशिष्ट्य हो । आत्मव्यङ्ग्य गर्ने प्रवृत्तिका हिसावले समकालीन हास्यव्यङ्ग्यकारहरूमा, भैरव अर्याल बाहेक श्रीधर खनाल, रामकुमार पाँडे आदिका तुलनामा गोतामे सवैभन्दा उच्च देखिन्छन् ।

हास्यव्यङ्ग्यको सैद्धान्तिक परिपालनाका सन्दर्भमा गोतामे
हास्यव्यङ्ग्ग्यसम्वन्धी पाश्चात्य र पूर्वीय साहित्य-शास्त्रीदेखि आधुनिक साहित्य-चिन्तनसम्मका विद्वानले आ-आफ्ना मत र विचारहरू राखेका छन् । त्यसैको आलोकमा हास्यव्यङ्ग्यको सैद्धान्तिक अवधारणा निरूपण भएको छ । हास्यव्यङ्ग्यकार अनैतिकतामा नैतिकताको, असङ्गतिमा सङ्गतिको, बिब्ल्याँटाहरूमा सब्ल्याँटाहरूको पक्षपोषण गर्ने स्रष्टा र द्रष्टा भएको हुँदा ऊ सामाजिक दुर्नियतिमाथि घृणा जाहेर गर्छ । सिद्धान्ततः हास्यव्यङ्ग्य रचनामा शिष्ट हास्य र मनोहर व्यङ्ग्य समाहित हुनुपर्छ । हास्यव्यङ्ग्य विद्रुप स्थितिप्रतिको मनोरञ्जक आलोचना हो । यसले सत्य अभिव्यक्त गर्दै समाजलाई अग्रगामी पथमा लम्कन अभिप्रेरित गर्नु पर्दछ ।

श्याम गोतामेका निबन्ध कृतिहरू यही सैद्धान्तिक अवधारणामा आधारित छन् । हास्य मात्र समाविष्ट रचनालाई हास्य र हास्यहीन व्यङ्ग्य रचनालाई व्यङ्ग्ग्य तथा हास्य व्यङ्ग्य दुवै तत्त्व समाविष्ट रचनालाई हास्यव्यग्य मान्नु पर्ने अवधारणा मूर्त भइरहेको परिप्रेक्षमा हेर्दा गोतामेका रचनामा हास्य कम र व्यङ्ग्य बढ़ी तीव्र पाइन्छ । हास्य कम रहेको छ भन्नुको अर्थ हास्य छँदैछैन भन्न खोजिएको होइन, व्यङ्ग्यको तुलनामा हास्यको मात्रात्मक उपस्थिति न्यून रहेको छ । हास्य र व्यङ्ग्यको वेजोड सन्तुलन भैरव अर्यालका कृतिहरूमा पाइन्छ । पढ्दापढ्दै खित्का छुट्ने अर्यालका कृतिमा व्यङ्ग्यको सशक्त प्रहार पनि उतिकै तीव्र र कालजयी रूपमा देखिन्छ । अर्यालका हास्यव्यङ्ग्य रचनाको तुलनामा गोतामेका हास्यव्यङ्ग्य रचना केही फिका र कमजोर जस्ता देखिए पनि हास्यव्यङ्ग्यको सैद्धान्तिक दायराभित्र समेटिएका छन् । मन्द हास्य र तार्किक प्रस्तुतिले उनका निबन्ध रचना अर्यालवाहेक उनका अन्य समकालीन हास्यव्यङ्ग्यकारका हास्यव्यङ्ग्य रचनाभन्दा कमजोर छैनन्, दह्रोसँग कुम जोरेर उभिएका छन् ।

नेपाली हास्यव्यङ्ग्य लेखनमा गोतामेको योगदान
नेपाली हास्यव्यङ्ग्यको आधुनिक कालको दोस्रो चरणमा देखा परेका बलियो स्रष्टा श्याम गोतामे आरम्भदेखि अन्त्यसम्म नै हास्यव्यङ्ग्य निबन्ध मात्रै लेख्ने हास्यव्यङ्ग्य लेखक हुन् । केही आरोह र अवरोह भए पनि तीन दशकसम्म निरन्तर र अथकित कलम चलाएर नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा उनले महत्त्वपूणर् योगदान पुयाएका छन् । शिष्ट, शौम्य सरल भाषा र तीव्र एवम् तार्किक व्यङ्ग्य कलाको आफ्नै मौलिक प्रभाव र विशिष्टता दिएर नेपाली हास्यव्यङ्ग्य लेखनको परम्परालाई सम्बर्द्धन गर्न गोतामेको लेखकीय योगदान अविस्मरणीय रहेको छ ।

हास्यव्यङ्ग्यको नाममा एकातिर छाडा र अश्लिल सामग्रीसमेत सिर्जना गर्ने गरिएको वर्तमान स्थितिमा गोतामेका रचनाले खवरदारी बोलेका छन् । विसङ्गति विरोधी हास्यव्यङ्ग्यलाई नै विसङ्गतिको चपेटामा लैजान खोज्ने प्रतिभाको उचाइ प्राप्त नगरेका हास्यव्यङ्ग्यकारका निमित्त गोतामेका निबन्ध-रचनाहरू मार्गदर्शक हुन सक्छन् । शिष्ट र शौम्य ढङ्गले पनि विकृत विचार, सोचाइ, क्रियाकलाप र विद्रूप स्थितिमाथि कसरी प्रहार गर्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण बन्न सकेका छन् उनका रचनाहरू । उनको यही भूमिका र योगदानको कारण हास्यव्यङ्ग्य लेखन परम्परामा गोतामेको स्थान उच्च रहेको छ । अथकित निरन्तरता, शिष्ट, शौम्य र तार्किक प्रस्तुतिले र विकृत्तिप्रति तीव्र प्रहारले नेपाली हास्यव्यङ्ग्यमा गोतामेलाई कालजयी बनाएका छन्, अमरता प्रदान गरेका छन् ।

०००
‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल