सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यः नवीन सन्दर्भमा सैद्धान्तिक चिन्तन

हास्य र व्यङ्ग्य कुनै विधाविशेषमा मात्र नभई समग्र विधाहरूमा गर्भान्तर हुन सक्छन् । सबै विधाहरूभित्र हास्य अनि सबै विधाभित्र व्यङ्ग्य पनि निस्पन्न हुन सक्छ ।

Nepal Telecom ad

होम सुवेदी :

(क) विषय-प्रवेश

वर्तमान अवस्थामा हास्य र व्यङ्ग्यको सैद्धान्तिक अध्ययन गरिने क्रममा यी दुवैलाई एकै ठाउमा राखेर हेरिने चलनको विकास हुँदै गएको छ । यिनलाई लगभग एकै स्थानमा राखेर अध्ययन/अध्यापन, परिचय र विवेचना समेत गरिने परम्परा नै बनिसकेको छ । यो एक सानोतिनो समस्याको विषय हो । यिनलाई एकै स्थानमा राखेर हेरिने कामका पछि के तथ्य छ त यो नै यहाँको पहिलो समस्या हो । यस अध्ययनमा यस समस्याको पनि सम्भव भएसम्म समाधान हुनुपर्ने अठोट गरिएको छ । स्वभाव, धर्म, स्थायीभाव आदिका आधारमा यी दुई एकै हुन् त ? यो पनि एक ज्वलन्त प्रश्न हुन सक्छ । यसबारे तुरुन्त विचार गर्दा तुरुन्तै उत्तर पनि पाउन सकिन्छ, वास्तवमा यी दुई एकै होइनन् । कुनै विपरीतधर्मी वस्तुलाई एकै स्थानमा राख्तैमा ती एकै हुन पनि सक्तैनन् ।

साधारण भाषामा हास्य हाँस्नु हो भने व्यङ्ग्य भने छेडखान वा घोचपेच मात्र हो  । हाँस्नु र घोचपेच भनेका नितान्त बेग्लै कुरा हुन् । हाँस्नु र छेडखान गर्नुका पछि कुनै तात्विक सम्बन्ध छैन । हाँस्नु भनेको बैग्लै कुरा हो । अनि घोचपेच गर्नु पनि बेग्लै कुरा हो । हास्यलाई व्यङ्ग्य नभए पनि पुग्छ । हास्य आफैं पूर्ण छ । हास्यमा व्यङ्ग्यको खाँचो पर्दैन । यी दुईको सृजनक्षेत्र एकै हुन सक्ने भए तापनि स्थायी धर्म र कतिपय उपकरणहरू यिनमा पृथक् पृथक् हुन सक्छन् । चरित्रका विभिन्न चेष्टा, विशेष प्रकारको उक्ति, विशेष खालका भावभङ्ङ्गिमा र विकृत किसिमका कथन वा परिदर्शनबाट पनि हास्य उत्पन्न हुन सक्छ र हास्य स्थायीभाव अभिव्यञ्जित हुन सक्छ ।

हास्य मानवका भावनात्मक उद्रेकको प्रतीकका रूपमा मानिन्छ । व्यङ्ग्य भने प्रतिक्रियाका रूपमा उद्रेक हुने विषय हो । दर्शकस्थ वा सामाजिकको अन्तस्थ स्थायीभावका जनकहरू भनेका वाग्वैदग्ध्य, भङ्गिभणिति, विशेष चेष्टा वा मुद्राहरू नै हुन् । अर्थात् वाणीको विकृत रूपबाट हुने प्रस्तुति, अर्थको हास्यात्मक संस्थापन, रूपका नानाथरी प्रदर्शन आदिबाट चित्त हास्यदिशातिर विकसित हुनु हास हो। यस दिशातिरको चित्तको विकास नै हास हो । अनेक थरीका सोचाइ र तथ्यहरू हासबारे प्रस्तुत हुन सक्छन् ।

हास्यमा वास्तवमा विकृति र विरोधाभासपूर्ण स्थितिलाई अतिरञ्जित गरेर हाँसो उमार्ने काम हुन्छ । मूलतः अर्को पात्रका कटाक्षपूर्ण र हास्यमय वचन, आकार र विकृत चेष्टाको प्रदर्शनवाट उत्पन्न चित्तवृत्ति हास हो । हास्य शब्दको निर्माण ‘हस्’ धातुमा ‘ण्यत्’ प्रत्यय लागेर बनेको छ । यसको शाब्दिक अर्थ हाँसो, ठट्टा रमाइलो, मजाक आदि हुन्छ । यसको स्थायीभाव हास वा हाँसो हो । हास स्थायी भावले चित्तको व्यञ्जना हुन्छ । त्यसपछि हास्यको पूणर्ता हुन सक्तछ, अनि त्यस्तो हुनासाथ हास्यरस नै भइसक्छ । हास्य एउटा प्रमुख रस हो । तर व्यङ्ग्य रस होइन । व्यङ्ग्य भनेको आशय मात्र हो । कथनको व्यञ्जनावृत्तिवाट उपलब्ध घोचपेच वा व्यञ्जित अर्थचाहिँ व्यङ्ग्य हो । मूलतः व्यञ्जनार्थ नै व्यङ्ग्य हो । व्यङ्ग्य भनेको व्यञ्जनावृत्तिवाट बोधित हुने अर्थ वा सङ्केत मात्रै हो । व्यङ्ग्यपूर्ण भाषाशैलीको स्थिति नै व्यञ्जनावृत्ति हो । त्यही वृत्तिबाट उपलब्ध हुने मूल अर्थ नै व्यङ्ग्य हो ।

हँसाइमा प्रकट हुने स्वच्छता र निश्छलपन वा प्राकृतिकताको रूपमा मात्र रहेको हास्य स्मित वा हसित हो भने जब मान्छेले त्यही हाँसोलाई कटाक्षताका साथ कपटपूर्ण, असन्तुष्टि, अपूणर्ता, विरोध, असहमति आदि अर्थसँग प्रकट गर्न थाल्छ अनि त्यस्ता हास्यमा व्यङ्ग्य वृत्ति समाहित हुन थाल्छ । हास्य पनि स्मित र हसित मात्र नभएर अतिहसित वा अपहसितको कोटीतर्फ जान थाल्छ । यससम्बन्धी बाँकी विवरणहरू वा तपसिलहरू पूर्वेली आचार्यहरूले विस्तृत रूपमा दिएका छन् । त्यतै हेर्नु सान्दर्भिक हुन्छ ।

(ख) हास्य र व्यङ्ग्यमा निकटता :

नेपाली साहित्यमा हास्यसँग व्यङ्ग्य जोडिएर आउने परम्परा निकै लामो छ । यसले यसै गरी निकै लामो इतिहास पार गर्दै आएको पनि छ । यसका धेरै समीक्षकहरूले हास्यका साथ व्यङ्ग्यलाई जोडेर राख्ने काम पनि गरेका छन् । अझ कतिले त यी दुईलाई एकै ठाउमा राखेर ‘हास्यव्यङ्ग्य विधा’ का रूपमा पनि नियाल्न थालेका छन् । यी दुई शब्दको निकटताको प्रयोग पनि धमाधम हुन थालेको देख्न समेत थालिएको छ । कति अकिञ्चनहरूले त हास्यलाई ‘हाँस्य’ भनेको पनि सुनिन्छ इतिहासलाई ‘इतिहाँस’ भनेझै । यो प्रसङ्गेतर विषय छोडौँ । के हास्य र व्यङ्ग्य एकै कुरा हुन् त ? के यिनको धर्म समेत एकै हो त ? कुनै पनि कारणले यिनलाई एकै ठाउमा राखेर नियाल्न सकिन्छ त ? यस्ता अनेक प्रश्नहरू उब्जन सक्छन् ।

निष्कर्षका रूपमा एकै वाक्यमा भन्नु पर्दा यी दुई एकै होइनन् । हास्य भनेको स्वतन्त्र रस हो तर व्यङ्ग्य भनेको रस होइन । व्यङ्ग्य त ध्वनित अर्थ मात्र हो । व्यञ्जना शक्तिबाट ध्वनित हुने अर्थ विशेष मात्र हो। यी दुईका माझमा शाब्दिक निटता देखिए पनि यिनको धर्म, स्वभाव र प्रकृति नितान्त फरक-फरक रहेको छ । वास्तवमा यी समकक्षी होइनन् र समधर्मी पनि होइनन् । तर नेपाली साहित्यको इतिहासमा यिनलाई सस्थानिक भने मानिल्याइएको छ । एकै ठाउँमा रहँदैमा यी एकै होलान् भन्ने भ्रम पर्दछ तर ती एकै होइनन् र एक ठाउँमा रहन योग्य नै छैनन् भन्ने कथन पनि यो होइन । यी अछुत नै छन् भन्ने कुरा पनि होइन । एकै स्थानमा राख्तैमा ठूलै गल्ती भयो भनी ठहर गर्न पनि मूलतः मिल्दैन । हास्य र व्यङ्ग्यलाई पूर्णत: विजातीयता नै हुन् भनी ठोकुवा गर्न पनि केही आधारभूत तथ्यहरूले दिदैनन् ।

(ग) दूरता :

एक किसिमले हास्य र व्यङ्ग्यलाई निकटका होइनन् भनेपछि यिनको साइनो नै नभई कसरी यति सहज र निकटस्थ छन् त ? अब उब्जने प्रश्न यो हो । साथै एकस्थानिक प्रयोग भएको परिप्रेक्षमा पनि यिनको अर्थ भिन्न हुन्छ त ? यसमा पनि अर्को प्रश्न उब्जन सक्छ । यो निरर्थक एकात्मकता मात्र हो त ? अनि उब्जने एक जटिल प्रश्न यो पनि हो । प्रश्न उब्जनु स्वाभाविक पनि हो । एकै स्थानमा नियालिने वा स्थापित हुने वस्तुका बीचमा समान धर्म हुनै पर्ने पनि हो । यस मानेमा हास्य र व्यङ्ग्य एकै स्थानमा रहेका देखिंदा एकधर्मी पनि हुनुपर्ने हो । यसर्थ यी सधर्मी नै होलान् भनी जोसुकैले अनुमान पनि गर्न सक्छन् । यस्तो अड्कल काट्ने काम स्वाभाविकै पनि हुन सक्छ ।

पहिले-पहिले ध्वनित अर्थलाई नै व्यङ्ग्यार्थ भनिन्थ्यो । आजको व्यङ्ग्य शब्दको त्यही अर्थ मात्र बोकेको छैन । सधैँ एकै ठाउँमा सँगै बसिरहने हास्यव्यङ्ग्यको धर्म बुझेपछि सन्देह पनि किनारा लाग्छ । हास्यलाई हास्यधर्मी रसको रूपमा पहिल्यैदेखि मान्यता मिलेको छ । नानाचरीका चेष्टा, हाउभाउपूर्ण विचित्रका वक्रउक्ति र उक्तिका चमत्कारिक तथा हास्यपूर्ण आशय र बेढङ्ग र विदूषकीय आचरणबाट उत्पन्न हुने हास नै हास्य रस हो । तर व्यङ्ग्य भनेको चाहिँ ध्वनित अर्थ मात्र हो। पहिले ध्वनित अर्थलाई व्यङ्ग्यार्थ भनिन्थ्यो । आजका व्यङ्ग्य शब्दले उही अर्थ जस्ताको तस्तै बोकेको छैन । कटाक्ष गरी वा वक्र रूपमा कसैप्रति, केहीप्रति र कोहीप्रति गरिने छेडखान मात्र व्यङ्ग्य हो । यस मानेमा यिनको स्थिति निरूपण गर्ने हो भने हास्य भनेको हृदयस्थ र आनन्ददायक हो । अनि व्यङ्ग्य चाहिँ मस्तिष्कस्थ र उत्तेजक हो । हास्य आल्लादकताको वा आनन्दको जनक हो भने व्यङ्ग्य आक्रोशको जनक हो ।

स्वस्थ हास्यले आनन्दको उद्रेक गर्छ अनि स्वस्थ व्यङ्ग्यले उत्तेजना वा प्रतिशोधार्थलाई उद्रेक गर्दछ । हास्यले पर्याप्त आनन्द दिन्छ भने व्यङ्ग्यले उत्तेजना, उन्माद वा आक्रोश मात्र पैदा गर्दछ । यसले मान्छेलाई झन् बढी उत्तेजक र आक्रोशित पार्न पनि सक्छ । यस्ता निकै भेदकताका लक्षणहरू यी दुईका माझमा पाइन्छन् । आधुनिक युगका परीक्षणले हास्यलाई स्वास्थ्यको बर्द्धक मानिएको छ र सिद्ध पनि भइसकेको छ भने उता व्यङ्ग्यको परीक्षण गरिएको नपाइए तापनि व्यङ्ग्यले वास्तवमा मानवलाई उत्तेजना पैदा गर्न मद्दत गर्दछ । अझ घृणा, तिरस्कार, निन्दा, विरोध, प्रतिरोध, जुगूप्सा आदि भावहरूलाई निस्पन्न गर्छ । यसैले हास्य र व्यङ्ग्य एकै मान्ने लगभग परम्परा बनिसकेको स्थितिमा पुनर्विचार गर्ने पर्छ । वास्तवमा यी दुई अवश्य पनि एक होइनन् । दुवैको वृत्ति, धर्म, स्वभाव वा दुबैबाट भावकले प्राप्त गर्ने परिणाम पृथक्- पृथक् हुन्छन् । अतः समान रूपमा एकै साथमा प्रयोग हुने गरेका भए पनि यी दुई कुरा नितान्त फरक धर्म भएका वस्तु हुन् ।

(घ) निकटताका कारण समस्या :

हास्य र व्यङ्ग्य दुवै फरकफरक हुन् भन्ने कुरामा केही मात्रा भए पनि माथिको छलफलबाट निष्कर्षका रूपमा निचोड उपलब्ध भएको देखियो । उसो भए फरक भएर पनि किन लेखन वा कथनमा यिनको सामीप्यता रहेको हुन्छ त भन्ने अर्को प्रश्न पनि यहाँनिर उब्जन सक्छ ।

वास्तवमा नेपालीमा हास्यका साथ व्यङ्ग्य जोडिएरै आउने र प्रयोग हुने गरेको छ । यो आजको नभई निकै पुरानो प्रयोगपरम्परा हो । निकै विद्वानहरूले हास्य र व्यङ्ग्यलाई समान रूपले जोडेर प्रयोग गरेको, छलफल गरेको र उल्लेख गरेको कुरा देख्न पाइन्छ । पूर्ववर्तीहरूले यसो गरिदिएका कारणबाट यी दुई एकै हुन् भन्ने अर्थवोध हुने सम्भावना नयाँ पाठकहरूमा पर्नु पनि स्वाभाविक हुन्छ । तर यसवाट यस्तो लाक्षणिक अर्थबोध भए पनि यसो नै भने निश्चय पनि होइन । एकै स्थानमा राखेर लेखिएका कारणले नै यी सहोदर वा समकक्षी हुन् भन्ने सान्दर्भिकतालाई स्वीकार गर्न सकिन्न । सन्दर्भचाहिँ के हो भने एकै ठाउँमा जोडिएर बसेका यी दुई विषयहरू भिन्नार्थी नै हुन् । भिन्नार्थी भइकन पनि यिनका माझमा कतैनकतै यिनको माझमा केही मात्र भए पनि सामीप्यता समेत रहेको छ । यिनका माझमा वर्तमानमा प्रयोगका कारणबाट र व्यवहारबाट पनि सामीप्यताका छनकहरू देखिन थालेका छन् ।

वर्तमान युगका रचनाहरूले हास्यरसका स्मित, हसित, विहसित, अतिहसित जस्ता विशुद्ध हास्यरसको निस्पन्नता कायम नगरी त्यसका साथ व्यञ्जनार्थलाई स्वाभाविक रूपले समाहित गरिएको देखिन्छ । अहिलेका हास्यका साथ व्यङ्ग्य भएकै हुन्छ । वरु व्यङ्ग्यका साथमा हास्य नहुन सक्छ । हास्यका साथ स्वभावतः व्यङ्ग्य समावेश हुँदै गएको देखिएकाले यिनलाई एकै ठाउमा राख्नुलाई नै अनुचित हो भनी ठोकुवा गर्न नसकिएको हो र यसो गरियो भने अब त्यसलाई पूर्णत: अनुचित हो भनेर ठोकुवा गर्न पनि सकिन्न । हासवृत्ति र व्यञ्जनावृत्तिको एकै रचनामा समाविष्टता हुने हुनाले नै हास्यसँग व्यङ्ग्य जोडिएको हो । यसलाई समस्याको रूपमा मान्नु उचित छैन ।

साहित्यका नाना विधाका फाँटमा हास्यव्यङ्ग्यलाई विधा मान्ने प्रवृत्ति पनि निकै बढेको छ । आज केही बुझ्झकीहरू साहित्यका फाँटमा नयाँ नयाँ विधा नै थपिदिने काम गर्न निकै आतुर हुँदै गरेका देखिन थालेका छन् । स्मरणार्थ ’मय विधा’ भन्ने नाममा तेजराज खतिवडाले निकै रचनाहरू चम्पूका रूपमा रचना गरेका छन् । इन्द्रबहादुर राईले तेस्रो आयाम, लीला लेखन, विनिर्माणवाद आदि नयाँनयाँ कथित साहित्यिक अभियान ल्याई खलबली मच्चाएको देखासेखी गरेर पो हो कि भनेझै झापाबाट पनि तेराखले मयको अभियान थालेका हुन् कि भन्न मन लाग्छ । यसै हो भने यसमा भन्नु केही छैन । तर उनको मय विधा भनिएको विषय उहिल्यै चम्पूका रूपमा परिचित थियो। त्यसै शैलीलाई तेराखले समातेको बुझिन्छ । यस्तै अज्ञानता वा अनभिज्ञताका कारणबाट हास्यव्यङ्ग्यलाई पनि विधा भन्नेहरू निकै छन् । यसबारे पनि यहाँ निरूपण हुनु आवश्यक छ ।

साहित्यका कथा, कविता, निबन्ध, नाटक, उपन्यास आदि विधा हुन् । साहित्यका विधाहरू भनेपछि साहित्यका प्रकारहरू भनेर अवगत हुनुपर्छ । यी सबै विधाहरूलाई कविता, आख्यान र नाटकका रूपमा मूलतः तीन विधा मान्नु उपयुक्त हो । हास्यव्यङ्ग्य भनेको साहित्यको अलग विधा होइन। यो त साहित्यमा प्रयोग हुने र व्यञ्जित हुने विषय मात्र हो । कथा, उपन्यास, नाटक, निबन्ध आदिमा सहज र स्वाभाविक रूपमा हास्यको समाविष्टता हुन सक्छ । अनि तिनै रचनाहरूका माध्यमबाट व्यङ्ग्यार्थ पनि ध्वनित हुन सक्छ । यसैले हास्य र व्यङ्ग्य भनेका साहित्यका सबै विधामा समाविष्ट हुन सक्ने कुरा मात्र हुन् । यी कुनै नयाँ विधा होइनन्, साहित्यका प्रवृत्ति मात्र हुन् । यी अलग विधा हुँदै होइनन् र मान्ने ठाउँ पनि यिनका माझमा छैन ।

हास्य र व्यङ्ग्यलाई विधा मानेर उल्लेख गर्ने हो भने साहित्यका अन्य रसहरू र वृत्तिहरू पनि विधा हुन पुग्छन् । अर्थात् श्रृङ्गार, करुण, रौद्र, भयानक, बीभत्स आदि पनि विधाका रूपमा परिणत हुन पुग्छन् । अनि व्यङ्ग्यलाई पनि विधाका रूपमा लिने हो भने वाच्यार्थ वा अभिधा, लक्षणाहरू पनि विधा हुन जान्छन् । अतः यी दुईलाई विधाका रूपमा नियालिने चलन भ्रमवश पन्पिएको चलन मात्र हो । हास्य र व्यङ्ग्य कुनै विधाविशेषमा मात्र नभई समग्र विधाहरूमा गर्भान्तर हुन सक्छन् । सबै विधाहरूभित्र हास्य अनि सबै विधाभित्र व्यङ्ग्य पनि निस्पन्न हुन सक्छ । हास्य व्यङ्ग्य पनि सबै विधाका रचनाहरूबाट प्रस्फुटित हुन सक्ने रस र वृत्ति मात्र हुन् ।

अतः हास्य र व्यङ्ग्यलाई अलग विधाका रूपमा मान्ने भ्रमवाट मुक्त हुनुपर्छ । केही स्थानमा कतिपय तथाकथित जानिफकारहरूले वा कतै कतै कसै कसै बुझ्झकीहरूले समेत यसलाई ‘विधा’ कै रूपमा लिएको पनि पाइएको छ । तर तिनीहरूले त्यस सन्दर्भमा यसको नाम वा ‘प्रकार’ को अर्थमा लिएको जस्तो बुझिन्छ । त्यसरी जेसुकैलाई पनि विधा भन्नु उपयुक्त होइन ।

(ङ) नेपाली भाषामा हास्यव्यङ्ग्यको ऐतिहासिकता (संक्षेप) :

नेपाली साहित्यको प्राथमिक कालदेखि नै धेरथोर हास्यव्यङ्ग्य देखा पर्न थालेको हो । शक्तिवल्लभको हास्यकदम्ब (रचनाकाल १८५५) भित्र हास्य र व्यङ्ग्यको निकै राम्रोसँग प्रयोग भएको पाइन्छ । हास्यको मूल स्रोतको उठान विकृतिबाट तथा व्यङ्ग्यको स्रोत चाहिँ विसङ्गति हो । यो कुरालाई समाजमा देख्ने प्रथम कवि भानुभक्त नै हुन् । उनले आफ्ना केही फुटकर रचनाहरूमा हास्यको मिठोमसिनो रूपलाई प्रयोग गरेका छन् र उनका ती रचनाहरूले निकै शक्तिशाली व्यङ्ग्यार्य ध्वनित गरेका छन् ।

भानुभक्तका युगदेखि नै नेपाली समाजमा सामाजिक विकृतिहरूले जरा गाडेको स्थिति भएको हुँदा उनका रचनाहरूमा हास्य र व्यङ्ग्य प्रस्तुत हुन निकै राम्रो अवसर पाएको देखिन्छ । अतः नेपाली साहित्यको हास्य र व्यङ्ग्यको प्रथम ऐतिहासिक उठान भानुभक्तका रचनाहरूबाटै भएको हो । यसै क्षेत्रका तथा यसै कालका अर्का महत्वपूर्ण सर्जक ज्ञानदिलदास पनि हुन् । तर उनका रचनाहरूमा सामाजिक बेथिती र धार्मिक विकृतिहरूमाथि व्यङ्ग्याक्रमण गरेको मात्र पाइन्छ । हास्य भन्दा बढी उनका रचनाहरूमा सामाजिक वेथितीमाथि आक्रमण छ । प्राथमिक कालमा यिनै दुई साधकहरूका रचनाहरूमा हास्य व्यङ्ग्य रहेको छ ।

हास्य रस श्रृङ्गार रसबाट अनुप्राणित हुने रस हो भन्ने आचार्य भरत मुनिको नाट्यशास्त्रको कथनलाई माध्यमिक कालका साधकहरूले जीवन्त तुल्याउन थालेका छन् । माध्यमिक कालमा आएपछि नेपाली हास्यव्यङ्ग्यले श्रृङ्गार रसका साथ अन्तर्भूत हुने अवसर पाएको छ । रसिक समाजबाट श्रृङ्गार सरप्रधान रचनाहरूबाट हास्यमिश्रित र व्यङ्ग्यार्थ ध्वनित हुने श्रृङ्गार रसका रचनाहरू औधी मात्रामा रचिएका छन् । यस परम्परामा मोतीराम स्वयं र उनी बाहेकका शम्भुप्रसाद ढुङ्गेल, शिखरनाथ सुवेदी, लेखनाथ पौडेल, प्रेमराज शर्मा, कृष्णलाल उपाध्याय अधिकारी लगायतका रचनाहरूमा हास्यव्यङ्ग्यले पर्याप्त अवरस पाएको छ । तर त्यो समयको हास्य व्यङ्ग्य श्रृङ्गाररसमा अन्तर्भूत भएको छ । तिनका रचनाहरू विशेष गरी पद्यबद्ध थिए ।

त्यसपछिको अवधिमा ’सुन्दरी’ पत्रिकामा रसिक जनहरूबाट मनोविनोदका रूपमा गद्यमा पनि हास्य व्यङ्ग्यको प्रयोग हुन थालेको देखिन्छ । तत्काल अनुवाद गरिएका कतिपय संस्कृतका नाट्य रचनाहरूमा हास्यको राम्रो रूप देखिन्छ । अनि मौलिक रचनाहरूमा र खास गरी नाटकहरूको लेखनमा पनि यसले अवसर पाएको छ । यसै कालमा क्वाँटी भाषा प्रयोग गरेर हँसाउने, राजनीतिक दाउपेचको र तिकडमबाजीमाथि निन्दा र व्यङ्ग्य गर्ने, छेडखान गर्ने, कविता आदिबाट क्यारिकेचरका रूपमा वा प्यारोडीका रूपमा अरू कविहरूका कविताको नक्कल गर्ने जस्ता नौला परम्पराहरू पनि बसेका छन् । माध्यमिककालीन नेपाली साहित्यको इतिहासमा नेपाली भाषामा हास्यव्यङ्ग्यको पनि राम्रै विकास हुन थालेको देखिन्छ ।

मोतीयुगमा र त्यसपछि मोतीराम लगायत्का राजीवनलोचन जोशी, शंभुप्रसाद ढुङ्गेल, शिखरनाथ सुवेदी आदिले देशभित्रबाट र लालबहादुर आउँमासी, डी बी राई आदिले देशबाहिरबाट हास्यव्यङ्ग्यलाई आफ्ना रचनामा पर्याप्त उपयोग गरेका छन् । विशेष गरी नेपाली साहित्यको प्राथमिक र माध्यमिक कालभरि हास्यव्यङ्ग्यको प्रयोग कविता (गजल) र नाटक विधामा छरिएर रहेको पाइए तापनि माध्यमिक कालको उत्तरार्धदेखि यसले अन्य विधामा पनि प्रकट हुने मौका पाउन थालेको छ । माध्यमिक कालपछि मात्र हास्यव्यङ्ग्यले आफ्नो अलग पहिचानका लागि मौका पाएको छ। तर यसै सीमा र क्षेत्रका अलग लेखकहरू भने यस समयमा देखिएका छैनन् । हास्य र व्यङ्ग्यमा मात्र आफ्ना रचनात्मक कौशलता देखाउने कामको थालनी भने आधुनिक कालबाट मात्र भएको हो ।

आधुनिक युगपछि हास्यव्यङ्ग्यलाई प्रकाशनका सुविधाहरू पनि आवश्यक मात्रामा उपलब्ध हुन थालेका छन् । अनेक थरिका पत्रपत्रिकाहरूको जन्मका साथ यसको पनि विविध रूपमा उदय हुन थालेको हो । स्वदेश र विदेशबाट साहित्यका विविध विधालाई प्राथमिकता दिने अनेक पत्रपत्रिकाहरू देखापर्न थालेका हुन् । यसै बेलादेखि सम्पादकहरूमा रहेको भ्रमले हास्यव्यङ्ग्यलाई विधा भनेर नामाकरण गरेको देखिन थाल्छ । यो भ्रमपूर्ण कुरा हो भन्ने विषयमा माथि पनि चर्चा भएको हो । चाहे विधा भनेर होस् वा विधा नभनेर नै होस् नेपाली साहित्यका आधुनिक कालमा मात्र यसले अलग पहिचान लिएर फस्टिने अवसर पाएको हो ।

प्रेमराज शर्माको ससुराली (१९९७) नाटकबाट यसले नाकको क्षेत्रमा आधुनिक कालमा फेरि जग बसाएको पाइन्छ । अन्यथा हास्य र व्यङ्ग्यको रचनास्थल कविता, निबन्ध र कथा नै हो भन्ने जस्तो आदर्श बनिसकेको स्थिति भइसकेको थियो । शङ्कर कोइरालाले श्रीमती हिरोइन उपन्यास लेखेर हास्यव्यङ्ग्यको उपन्यासमा पनि पहुँच भएको कुरा सिद्ध भएको छ तापनि विशेष गरी हास्यव्यङ्ग्यको प्रयोगथलो भनेको कविता र निबन्ध विधा नै हुन् । केही मात्रामा कथामा पनि हास्य व्यङ्ग्यको उपयोग भएको पाइन्छ । तर यो क्रममा आधुनिक कालमा फेरबदल भएको छ । भैरव अर्याल, श्याम गोतामे, केशवराज पिँडाली, बालमुकुन्ददेव पाण्डे, रामकुमार पाण्डे, श्रीधर खनाल, सूर्यबहादुर पिवा, नरेन्द्रराज पौडेले, दाताराम शर्मा, वासुदेव लुइँटेल लगायत्का स्रष्टाहरूबाट अघि आएको नेपाली साहित्यको हास्यव्यङ्ग्यको सूजनक्षेत्रले २०३० को दशकदेखि लेखनमा मात्र नभई श्रव्य र दृश्यको उपयोग गरेर क्षेत्रविस्तार गरेको छ ।

गाईजात्राले हास्यव्यङ्ग्यलाई समुन्नतितर्फ जाने निर्धारित बाटो दिएको छ । सिनेमाहरूमा यसलाई उपयोग गर्न थालिएको छ । श्रव्य सामग्रीहरूमा पनि यसले पर्याप्त विकास गरेर श्रोतासमक्ष लोकप्रियता हासिल गर्न लागेको छ र यसले आफ्नो लोकप्रियता धुमधामसँग थपेको छ । श्रव्य सामग्रीको विकास गरेर पाठककै मात्र अपेक्षा गर्नु पर्ने पहिलेसम्मको परम्परालाई तोडेको छ । अशिक्षित र अनपढसमेत यसका सेवक वा ग्राहक बनेका छन् । सर्वसाधारण दर्शकलाई समेत यसले प्रभावित पारेको छ । ध्वनिनाटक, रेडियो नाटक वा रूपक, टेलिभिजनका टेलिश्रृङ्खला, सडक नाटक आदिका माध्यमबाट यसले आफूलाई व्यापक बनाएको देखिन्छ ।

मह जोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ), साम्दे सेर्पा, सन्तोष पन्त, मनोज गजुरेल लगायतका कलाकारहरूले हास्यको उपयोग गर्दै तीक्ष्ण व्यङ्ग्यको प्रयोग गर्न थालेका छन् । हाल यस क्षेत्रमा नयाँ-नयाँ प्रविधिको उपयोग हुने गरेको छ । अनि नयाँ-नयाँ प्रतिभाहरूको पनि जन्म भइरहेको छ । चलचित्र, रेडियो, दूरदर्शन, रङ्गमञ्च, एफ.एम. रेडियो स्टेसन, स्थानीय पत्रपत्रिका आदिका माध्यमबाट समेत यस क्षेत्रमा अपूर्व उन्नति भइरहेको छ ।

हास्यव्यङ्ग्यलाई प्रस्तुत गर्ने शैली, बान्की र तौरतरिकामा नानाथरीका नयाँ प्रविधिहरूको उपयोग भइरहेको छ । यसको अत्यन्तै राम्रो विकास पनि भइरहेको छ । उता भाषेतर हास्यव्यङ्ग्यको सृजनमा पनि कमी भएको छैन । देशका राजधानी मात्र नभई राजधानीबाहिरबाट पनि हास्य व्यङ्ग्यका स्रष्टाहरूको जमघट बढिरहेको छ । कौवा प्रकाशन र त्यसपछिको सिस्नुपानी प्रकाशन बाहेक हास्य व्यङ्ग्यकै प्रकाशन गर्ने ध्येय लिएका नयाँ प्रकाशनहरू पनि खुलेका छन् । दार्जिलिङ, खर्साङ, कालिम्पोङ आदि भारतीय नेपालीहरूको बसोबासोको क्षेत्र र नेपालको राजधानीबाहिरबाट समेत हास्य र व्यङ्ग्यका सामग्रीहरूको प्रचूर प्रयोग र प्रकाशन/प्रसारण भइरहेको छ। यस अवधिमा साहित्यिक कृतिहरूको पनि राम्रो गतिमा प्रकाशन भइरहेको देखिएको छ । पत्रपत्रिकाहरूले पनि हास्यव्यङ्ग्यलाई पर्याप्त मौका दिएका छन् ।

(च) लेख्य हास्यव्यङ्ग्यको सामग्रीमा नवीनता :

परम्परागत रूपमा स्वीकृत र मान्यताप्राप्त हास्यव्यङ्ग्य लेखनको परिपाटीमा २०३० को दशकदेखि नयाँ-नयाँ विधिहरू थप भएका छन् । यिनीहरूको प्रस्तुतीकरण, यसका उपकरण, यसका बान्की र वनोटमा नवीनता थपिएको छ । प्रस्तुतीकरणका आधारमा अब हास्य र व्यङ्ग्यलाई (१) पाठ्य, (२) श्रव्य, (३) दृश्य गरी ३ काँटमा राख्नु पर्ने स्थिति रहेको छ । पाठ्य हास्यव्यङ्ग्यमा साहित्यका आख्यान, कविता र नाटक आदिमा समाविष्ट हास्यव्यङ्ग्य पर्दछ । श्रव्य हास्यव्यङ्ग्यमा रेडियो रूपक, ध्वनिनाटक, क्यासेटका ध्वनिरूपक आदिहरूमा उपयोग गरिएको र वाणी वा अन्य ध्वनिहरूको उपयोग गरिएका सामग्री हुन् । अनि दृश्यचाहीँ नाटक, प्रहसन, नृत्य, जात्रामात्राका क्यारिकेचर तथा कार्टुनचित्र आदिका माध्यबाट प्रस्तुत हुने सामग्रीहरू हुन् ।

वास्तवमा विभिन्न कलाकारहरूद्वारा रचना गरिएका कार्टुन चित्रहरू ग्यालरीमा प्रदर्शनीका रूपमा प्रदर्शित समेत हुने गरेका छन् । यिनका बारेमा कसैले यकिनका साथ किटान गरेको नपाइएकाले हामी यिनलाई हास्यका दृश्यभेद भित्रै राखेर नियाल्न सक्छौँ । हाल आएर हास्यव्यङ्ग्य प्रस्तुत हुने यी तीनै माध्यमको नेपाली हास्यव्यङ्ग्यमा धुमधामका साथ उपयोग भइरहेको छ । यी तीनै प्रकारका हास्यव्यङ्ग्यका माध्यमहरूबाट हास्यव्यङ्ग्यको प्रचूर मात्रामा प्रचारप्रसार पनि भइरहेको छ । तर यस्ता सामग्रीहरूमा समसामयिक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य नानाथरिका विकृतिहरूमाथि घोचपेच, छेडखान र खिसिट्युरी मात्र हुने गरेको देखिएको छ । स्थायित्वका दृष्टिले ती सामग्री चिरन्तन देखिएका छैनन् । कालक्रममा कथित विकृतिहरूमा हेरफेर भएपछि तिनको महत्व पनि आफै सकिएर जान्छ । तिनबाट भएको हास्य र व्यङ्ग्यको मार्मिकता सार्वभौम नहुन सक्छ ।

अतः दीर्घकालीन प्रभावका लागि सार्वभौम विषयमाथि तयार भएका हास्यव्यङ्ग्यको अपेक्षा हुनु स्वाभाविक हो । समाजका यस्ता विकृतिहरूमा घोचपेच गरेका व्यङ्ग्यहरूको प्रभाव भने अल्पकालीन अवधिका लागि मात्र हुन पुग्छ तापनि आजको युगमा यस्ता सामग्रीहरूको धुमधाम प्रयोग भइरहेको छ । यिनले पाठक/दर्शकलाई खुब मनोरञ्जन दिन्छन् । तर यिनको स्थायित्वका बारेमा भने सन्देह गर्न सकिने स्थिति छ ।

(छ) विषयचयनः दीर्घजीवन्तताको प्रश्न :

समाजभित्र बढेका सामाजिक, नैतिक, धार्मिक, सांस्कृतिक, आर्थिक विसङ्गति र विकृतिहरूलाई कटाक्ष गर्दै यस्ता बेथितीहरूलाई थान्को लगाउने र सुधार्ने नियत राखेर प्रस्तुत भएका हास्यव्यङ्ग्य प्रभाव र स्थायित्वका आधारमा अल्पजीवी र दीर्घजीवीका रूपमा विभाजित हुन सक्छन् । हास्यव्यङ्ग्यको अल्पजीवी स्वरूप त्यो हो, जो समसामयिक समाजका वृत्तमा देखिएका तत्कालीन विकृतिमाथि लक्षित गरेर रचिएको होस् । यस्ता व्यङ्ग्यहरू समयको गति र विषयको परिवर्तनका साथै बासी हुँदै जान्छन् ।

विश्वजनीन विषय र तथ्यहरूमाथि कटाक्ष गरिएका हास्यव्यङ्ग्यको स्वरूप भने चिरन्तन वा सार्वभौम हुन सक्छ । पिँडालीको खै खै वा भैरव अर्यालको कवि चम्रेलजी : एक शब्द चित्र वा जयभुँडी, वासुदेव लुइँटेलको महाकाव्य, रामकुमार पाण्डेको बाबुको बिहे, वा घटोत्कचको दमाहा जस्ता रचनाहरूमा देखिने हास्यव्यङ्ग्य कुनै क्षण विशेषको विकृति वा विसङ्गतिका पक्षमाथि मात्र नभई चिरन्तन पक्षमा लक्षित भएको छ । अतः यस खालका रचनाको हास्य र व्यङ्ग्यहरूको जीवन्तता स्थायी हुन्छ । यस्ता रचनामा मिसिएर आउने हास्य पनि स्थायी हुन पुग्छ । तर समसामयिक विषयमाथि गरिने घोचपेचको रूपमा आउने हास्य र व्यङ्ग्य समेत अल्पजीवी हुन सक्छन् । विषयवस्तुहरू बासी भएपछि यस्ता सामग्रीसँग मिसिएको हास्य र व्यङ्ग्य पनि आफैं वासी हुँदै जान्छ वा कालक्रममा त्यस्ता रचनाहरू वासी हुन थाल्छन् र प्रभावशून्य हुन पुग्छन् । त्यस्ता प्रकारका रचनाहरूको स्थिति रोगका लागि गरिने प्राथमिक उपचार जस्तो मात्र हो अथवा रोग थामथुम पार्नका लागि अचूक दल्नु वा गम्भीर चोटपटक लागेकोलाई पेनकिलर खानु र तत्कालका लागि दुखाइ कम गर्नु जस्तो मात्र हो । यस्ता व्यङ्ग्य रचनाहरूको दीर्घकालीन असर हुन सक्तैन । अतः हास्यव्यङ्ग्यको मूल धर्म र प्रभाव पनि अल्पकालीन र दीर्घकालीन हुन सक्ने तथ्य निश्चित रूपमा प्रमाणित हुन पुग्छ । यो साहित्यका जुनसुकै विधामा वा रसहरूमा समेत लागू हुने कुरा हो ।

०००
‘प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू’ (२०६८)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
tanka bahadur alemagar
tanka bahadur alemagar
2 months ago

हास्यव्यङ्ग्यलाई याेलेखकले बुझ्ने बाटाे खनिदिएकाे छ । अब शायद हास्य र व्यङ्ग्य देब्रे दाहिने बुझ्नु पर्ने रहे छ ।
बधाई सर ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x