नदी भट्टराईव्यङ्ग्यकार विनोदको ‘तितोमिठो’ : एक नजर
हास्यमा व्यङ्ग्य घोलेर मात्र हास्यव्यङ्ग्य रचना परिष्कृत हुन सक्दोरहेछ भन्ने उदाहरण यी सङ्ग्रहका निबन्धको सतही अध्ययनबाट थाहा भयो ।

झापा जिल्ला स्रष्टा र सिर्जनाका हिसाबले अग्रज तथा अनुज पुस्ताहरूको बेजोड कर्मभूमि हो । प्रतिभाको पहिचानदेखि लिएर ऊर्जा, सम्मान तथा सद्भावका दृष्टिले पनि यो भूमि अब्बल नै छ यदि सिण्डिकेट नामको कोरोना आक्रमणबाट बच्न सक्यो भने । कहिलेकाहीँ भीड भीड हुँदैनन् वा भीड जस्तो लाग्दैन किनकि देखिनुपर्ने बस्तु र हेर्ने बस्तु स्वतः अग्लिएका हुन्छन् । उनै अग्ला व्यक्तित्व हुन् स्रष्टा विनोद खनाल ।
६१ आ वसन्त भोगिरहेका शिक्षक पेसाबाट सेवानिवृत्त खनालका बारेमा मैले जे भन्नु छ सबै उनको ‘फर्किएर हेर्दा’ कथासङ्ग्रहको समीक्षामा भनेकै छु । कवि सबैको सिर्जनशील परिचय हो र उहाँ कवि, कथाकार र अहिले हास्यव्यङ्ग्य ( निबन्ध) रचनाको सेरोफेरोमा कलम चलाइरहनुभएको छ । यो कृतिभित्र भएका सम्पूणर्ता समालोचक झापाली कविशिरोमणि कोमलप्रसाद पोखलरेलले रौँचिरा पार्नुभएकै छ । बग्रेल्ती सम्मान र संघसंस्थामा आवद्ध खनालले पाएका सम्मान र पुरस्कार यो छोटा हरफहरूमा कोच्याउन उचित लागेन । भैरव अर्याल, बासुदेव लुईटेलपछि, नरनाथ लुइँटेल, नरेन्द्राज पाैडेल, लक्ष्मण गाम्नागे, गायत्री लम्साललगायत पूर्वमा, कोमलप्रसाद पोखरेल, चूडामणि वशिष्ठ, नकुल काजी, होम सुवेदी र विनोद खनालहरू नै हुन् हास्यव्यङ्ग रचनाका मालीहरू ।
विनोद खनालकृत कृति तितोमिठो एउटा हास्यव्यङ्ग्य निबन्धसंग्रह हो । यो कृति दुई वर्षको भएछ । पुस्तकको आवरणले यसको नामाकरणलाई तितीमिठो र हास्यव्यङ्ग्यसँगको तालमेल खूब मिलाएको छ । समालोचक कोमलप्रसाद पोखरेलेद्वारा पद्य शैलीमा अभिव्यक्त भएको स्रष्टा परिचय र विषयविन्यासमा भएको गद्य शैलीको प्रयोग बेजोड छन् र यो पुस्तकलाई उचित व्यक्तिद्वारा उचित न्याय पनि गरिएको छ । दुई दर्जन एक थान रचनाहरूको स्वायत्त बस्ती छन् यसमा । आवरणभित्रबाट करिब बाह्र पन्ना कुनै सङ्केतविहीन दौडिएर पहिलो रचना ‘नाम कमाउने धुनमा’ २३ पृष्ठको हत्केला उठाउँन पुग्छ र यही क्रमले १२८औँ सिँढीमा पुगेर हत्केलाहरूले ढोका थुनेको पाइयो ।
निबन्ध भनेको परिचय हो । फ्रान्सेली निबन्धकार मोल्तेनले भनेका छन्- “म नै मेरा निबन्धको विषयवस्तु हुँ ।” जसरी देवकोटाले ‘टेवलगफ ’ भने । जग तिनै हुन् समय र भूमिका फरक अवश्य छँदैछन् यसमा पनि । तितो खानेकुरा विशेषमा छ रसमध्ये एउटा हो अथवा भावनामा पनि नमीठो तितो हुन्छ । जस्तो करेला र नीम तितोको प्रतीक हो भने मिष्ठान्न मिठो, गुलियो स्वादका प्रतीक हुन् । करेला, नीम र मिठाइको संयोजन सुन्दर लाग्यो । हृदयमा मखमली तन्नाले न्यानो छाएपछि अनुहारमा देखिने उज्यालो र हाउभाउ नै हाँस्नु हो र यो क्रियापद भएर उभिनेछ तर हास्य चाहिँ विषेशणयुक्त एउटा रस विशेष अर्थ पनि बोक्ने भएकाले यसले परिष्कार खोज्छ त्यसैले हास्य भनिएको हो भने यता व्यङ्ग भनेको एक अर्थमा कटाक्ष वा गूढार्थ साङ्केतिक अर्थ हो ।
साहित्यमा अभिधा अर्थको हँसाइ व्यर्थ मानिन्छ जसरी चराचर आफ्नै प्राकृतिक हँसाइ हाँसिरहेका हुन्छन् । तर सिर्जनाभित्र यी सब चिजको खिचडी बनाएर पाठकको हृदयरसनामा अतृप्त अनुराग छर्नु त्यति सजिलो छैन । हास्यमा व्यङ्ग्य घोलेर मात्र हास्यव्यङ्ग्य रचना परिष्कृत हुन सक्दोरहेछ भन्ने उदाहरण यी सङ्ग्रहका निबन्धको सतही अध्ययनबाट थाहा भयो । तितोमिठो र हास्यव्यङ्ग्य बीचको तालमेल सुन्दर छ ।
मूलतः कथाकार पहिचानको पल्ला बढी नै छ उहाँमा तैपनि यो हास्यव्यङ्ग्य निबन्धले भने नेपाली व्यङ्ग्य रचनाको क्षेत्रमा नयाँ तरङ्ग ल्याउने कुरामा दुई मत रहेन । प्रकाशित कृति सङ्ख्याको हिसाबले यो उहाँको चौथो कृति हो भने विधाको हिसाबले यो पहिलो हो । स्रष्टा विनोद खनाललाई अझ सिर्जनशील प्रगतिको हार्दिक बधाई व्यक्त गर्दछु ।
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest




































