बागमती प्रदेश सञ्चार कार्यालय लामो

हास्यशास्त्र र हास्यका प्रकार

आजभोलि पश्चिमी जगत् हास्यव्यङ्ग्य (ह्युमर)लाई व्यापक ढङ्गले बुझ्ने र बुझाउने मान्यता विकसित गरिरहेको छ ।

१.विषय प्रवेश
पूर्वीय साहित्यमा विशेषतः संस्कृत साहित्यले हास्यलाई रसका रूपमा व्याख्या गरेको छ र हास्यको चर्चालाई यतिमै सीमित गरिदिएको छ । यसै आधारमा मूलतः नेपाल, भारत आदि एशियाली मुलुकहरूमा हास्यलाई हेर्ने प्रवृत्ति रहिआएको छ । जहिले हास्य भन्नाले व्यङ्ग्यसमेत गाँसिएर आउने परिपाटी विकसित भएको छ र नेपाली साहित्यमा पनि हास्यव्यङ्ग्यको चर्चा परिचर्चा चलिरहेकै छ । नेपाली साहित्यमा हास्यव्यङ्ग्य सिद्धान्तबारेका चर्चा बढी मात्रामा परम्परागत नै देखिएका छन् । वर्तमान विश्वमा विकसित भएका हास्यव्यङ्ग्यबारे हाम्रो नेपाली समालोचना जगत् अहिले एकदमै मौन वा अनभिज्ञझैं रहेको पाइन्छ । आजभोलि पश्चिमी जगत् हास्यव्यङ्ग्य (ह्युमर)लाई व्यापक ढङ्गले बुझ्ने र बुझाउने मान्यता विकसित गरिरहेको छ । यस लेखमा पश्चिमी जगत्को हास्यव्यङ्ग्य चिन्तनको विकसित दृष्टिकोणका सन्दर्भबाट हास्यका प्रकारको छोटो विवेचना प्रस्तुत गर्ने प्रयास गरिन्छ ।

२.हास्यशास्त्र
पाश्चात्य साहित्यमा हास्यका बारेमा अनि विस्तृत अध्ययनहरू भएका छन् । ती अधययनहरूबाट हास्य वा हास्यव्यङ्ग्यको अध्ययन गर्ने एउटा व्यापक शाखा नै विकसित भएको छ । यसलाई विद्वान्हरू आजभोलि ‘हास्यशास्त्र’ वा ‘हास्यव्यङ्ग्यशास्त्र’ (ह्युमरोलोजी) भन्न थालेका छन् (स्मिट्ज : २००२ इ.) । अर्को शब्दमा भन्दा हास्य वा हास्यव्यङ्ग्यको अध्ययन गर्ने वैज्ञानिक पद्धतिको विकास पश्चिमी जगत्मा भइसकेको छ र यस्तो वैज्ञानिक अध्ययनलाई विद्वान्हरूले ‘हास्यविज्ञान’ वा ‘हास्यव्यङ्ग्यविज्ञान’ (ह्युमरोलोजी) भनेका छन् । उक्त हास्य शास्त्र वा हास्यव्यङ्ग्य विज्ञानले विश्वभरिका जेजति हास्य वा हास्यव्यङ्ग्य रचनाहरू छन् ती समग्र रचनाविशेषलाई हास्यव्यङ्ग्य सङ्कथन (ह्युमरस डिस्कोर्स) मान्छ र तिनको व्यापक सन्दर्भबाट वैज्ञानिक अध्ययन गर्छ । हास्यव्यङ्ग्यको अध्ययनमा यस्तो कार्यलाई नौलो फड्को मानिएको छ । यस्तो अध्ययनको परिपाटीलाई नेपाली साहित्य समालोचनामा पनि भित्र्याउनु आवश्यक भइसकेको छ ।

३.हास्यका प्रकार
हास्यशास्त्र वा हास्यव्यङ्ग्यविज्ञान विश्वभरिका हास्यव्यङ्ग्य सिर्जनालाई एक ठाउँमा राख्छ र तिनभित्र पाइने विशेषता वा स्वरूपको सूक्ष्म अध्ययन गरी तिनलाई वर्गीकरण गर्छ । वर्तमान विश्वले हास्यशास्त्रका दृष्टिबाट हास्य वा हास्यव्यङ्ग्यलाई तीन वृहत् वर्गमा बाँडेको देखिन्छ । अर्थात् हास्यशास्त्रको वर्गीकरणअनुसार संसारभरिका हास्यरचनाहरू मूलतः तीन प्रकारका हुन्छन् ः १) सार्वभौम वा यथार्थआधारित हास्य (युनिभर्सल/रिअलिटी बेस्ड ह्युमर), २) सांस्कृतिक वा संस्कृतिआधारित हास्य (कल्चर बेस्ड ह्युमर) र ३) भाषिक वा शब्दआधारित हास्य (लिङ्ग्विस्टिक/वर्ड बेस्ड ह्युमर) यिनको चर्चा क्रमशः तल गरिन्छ ।

३.१. सार्वभौम हास्य
जुन हास्य विश्वसत्यमा आधारित हुन्छ त्यसलाई सार्वभौम हास्य युनिभर्सल ह्युमर भनिन्छ । यो विश्वभरि नै हुने वस्तु, घटना, प्राणी, विषय एवम् मानव व्यवहार आदिमा आश्रित हास्यरचना हो । यस प्रकारको हास्य वा हास्यव्यङ्ग्य यथार्थ जगत्सँग र मानवजातिका सार्वभौम प्रवृत्तिसँग सम्बन्धित वा आधारित हुन्छ । वास्तविक संसारमा देखिने विभिन्न परिस्थितिहरू (रिअल वल्र्ड सिचुएसन्स) र ढाँट्ने बढाइचढाइ गर्नै, मपाइँत्व प्रदर्शन गर्ने, कन्जुस्याइँ गर्ने, ओठेजवाफ फर्काउने जस्ता संसारभरिकै मानवजातिमा पाइने मानव व्यवहार ह्युमन बिहेभिअरलाई हास्यको आलम्बन वा विषय बनाउने हास्य सामग्रीलाई सार्वभौम हास्यका कोटिमा राखिन्छ । यस्ता हास्य आश्वस्त हुन्छन् र यिनको आस्वादन गर्नमा कुनै कठिनाइ हुँदैन । सार्वभौम हास्य त्यस्तो सरल, स्पष्ट र सहज हास्य सृजना गर्ने रचना हो जो संसारको कुनै पनि भाषाबाट अर्को भाषामा सजिलै उल्था हुन सक्छ । हास्य रचना वा हास्यात्मक कथनहरू त्यस्ता मानव अभिव्यक्ति -स्पिच एक्टस) हुन् जसका अनेक मौखिक तथा लिखित प्रकार्य हुन्छन् । (लङ ग्रेसर : १९८८ इ) । त्यसैले सार्वभौम हास्य भनेका त्यस्ता हास्यात्मक वा व्यङ्ग्यात्मक मानव अभिव्यक्ति हुन जसलाई संसारका सबै भाषामा सजिलै अनुवाद गरी तिनको आस्वादन गर्न सकिन्छ । कुनै हास्यव्यङ्ग्यात्मक प्रसङ्गमा ‘उम्केको माछो ठूलो’ भनिन्छ भने यो सार्वभौम कथन बन्न सक्छ । यस्ता सार्वभौम हास्यलाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न पनि कठिनाइ पर्दैन ।

३.२ संस्कृतिबद्ध हास्य
जुन हास्य मानव जातिले मान्ने थरीथरीका संस्कृतिमा आधारित हुन्छ त्यसलाई संस्कृतिबद्ध हास्य (कल्चर बेस्ड ह्युमर) भनिन्छ । यो हास्य विश्वका विभिन्न राष्ट्र वा सामाजमा बस्ने मानिसहरूका फरक-फरक संस्कृतिभित्र पाइने विभिन्नतासँग सम्बद्ध रहन्छ । मानिसहरूका थरीथरीका संस्कृतिमा अन्तर्निहीत असङ्गतिलाई यस प्रकारका हास्यमा प्रकट गरिएको हुन्छ । फरक-फरक जातिमा पाइने फरक-फरक संस्कृतिले यस्ता हास्य रचनाको जन्म दिन्छन् । तसर्थ यो जातीय संस्कृतिमा आश्रित हु्रन्छ । कुनै पनि राष्ट्र, समाज वा समुदाय र जातिका सांस्कृतिक प्रचलन वा रीतिरिवाजहरू (कल्चरल प्राक्टिसेज)मा आधारित रहने हास्यलाई यस कोटिमा राख्ने गरिन्छ । मानिसका अनेक प्रथा, रीति, चालचलन, चाडपर्व, दिवस, जात्रा आदि हुन्छन् र तिनीहरूमा पाइने असङ्गति वा विकृतिहरूले संस्कृतिबद्ध हास्यको सिर्जनामा भूमिका खेल्छन् । अमेरिकी समाजमा मनाइने ‘मदर्स डे’ फादर्स डे’सँग सम्बन्धित हास्यव्यङ्ग्य, नेपाली समाजमा मनाइने दशैं-तिहार, गाईजात्रा, ल्होसार, फागु आदिसित सम्बद्ध रहने हास्यव्यङ्ग्य आदिलाई संस्कृतिबद्ध हास्यका उदाहरण मान्न सकिन्छ । यसै गरी कालो बिरालाले बाटो काट्दा अपशकुन मान्ने नेपालीको प्रथा र कालो बिरालाले नै बाटो काट्दा सबभन्दा शुभ वा शकुन मान्ने जापानीको प्रथा पनि संस्कृतिबद्ध हास्यका आलम्बन वा विषय बन्न सक्छन् । संस्कृतिबद्ध हास्य सहजै र सजिलै आस्वादन गर्न, बोध गर्न र अनुवाद गर्न नसकिने हुन्छन् । यसका निम्ति विभिन्न संस्कृतिको भलिभाँती ज्ञान हुनु, आवश्यक हुन्छ । यस्ता हास्यको अनुवादका लागि आ-आफैँ्ना संस्कृतिमा मिल्दाजुल्दा प्रसङ्गहरू खोज्नु पर्ने हुन्छ । संस्कृतिबद्ध हास्यमा आधारित रचनाहरू शैक्षिक सामग्रीका रूपमा प्रयोग हुन्छन् तर यी माध्यमिक तहका वा सो भन्दा माथिका विद्यार्थीहरूमाझमात्र प्रयोग युक्त ठहरिन्छन् । अनेकौँ परिहास वा ठट्टा (जोक्स) र चुट्किला (विटिसिज्म)द्वारा यस प्रकारका हास्य प्रकट भएका उदाहरणहरू पाउन सकिन्छ ।

३.३ भाषिक हास्य
जुन हास्य भाषिक शब्द, पदावली, वाक्य आदिमा आधारित हुन्छ त्यसलाई भाषिक हास्य (लिङ्ग्विस्टिक ह्युमर) भनिन्छ । भाषिक हास्य प्रायजसो शब्दाश्रित वा शब्दबद्ध हुन्छ । भाषका विविध प्रयोगले उत्पन्न गरिने हास्यमा भाषिक वा शब्दाधारित हास्य पर्छ । यो भाषिक शब्दहरूको खेल हो । भाषिक कलाबाट छचल्कने हास्य वा व्यङ्ग्य भाषिक हास्य हो । विशेषतः शब्दक्रीडा (प्ले अफ वर्डस्)बाट व्यक्त गरिने हास्य र व्यङ्ग्य यस कोटिमा पर्दछन् । वक्रोक्ति (आइरनी), उक्तिविचित्रता (विट), यमक र श्लेष (पन्स), अड्को वा पहेली (रिडल्स) आदिद्वारा सिर्जना गरिने हास्य तथा व्यङ्ग्य भाषिक हास्यका नमुना हुन् । भाषिक वा शाब्दिक खेल हुनाले यस्ता हास्यलाई सजिलै बुझ्न पनि सकिन्न र सजिलै उल्था गर्न पनि सकिन्न । भाषिक हास्यको एक प्रमुख विशेषता हो एक भाषाबाट अर्को भाषामा अनुवाद हुन कठिन हुनु । यस्ता हास्य रचनालाई शैक्षिक सामग्री बनाउन त सकिन्छ तर विश्वविद्यालय स्तरका छात्रछात्राहरूमाझ मात्र । भैरव अर्यालका निबन्धहरूमा पाइने परिहास् शब्दक्रीडाका उत्कृष्ट नमुना हुन् ।

४. निष्कर्ष
पाश्चात्य साहितयमा विकसित हास्यशास्त्र वा हास्यव्यङ्ग्यविज्ञान विश्वकै हास्यव्यङ्ग्य सिद्धान्तको विशिष्ट निधि हो र यसका आलोकमा निश्चित गरिएका वा निर्धारित भएका हास्यव्यङ्ग्यका प्रकारहरू उल्लेख्य प्राप्ति हुन् । उक्त हास्यशास्त्रले निर्धारण गरेका हास्यका प्रकारहरू नेपाली साहित्यका सन्दर्भमा खोज्नु अबका हास्यशास्त्रीका कार्य हुन् । नेपाली साहित्य समालोचना पनि यसतर्फ अग्रसर हुनु अपेक्षित छ ।

‘फित्कौली’ अङ्क ३, कात्तिक-मङ्सिर २०६२

बागमती प्रदेश सञ्चार कार्यालय लामो