साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यशास्त्र र हास्यका प्रकार

आजभोलि पश्चिमी जगत् हास्यव्यङ्ग्य (ह्युमर)लाई व्यापक ढङ्गले बुझ्ने र बुझाउने मान्यता विकसित गरिरहेको छ ।

Nepal Telecom ad

१.विषय प्रवेश
पूर्वीय साहित्यमा विशेषतः संस्कृत साहित्यले हास्यलाई रसका रूपमा व्याख्या गरेको छ र हास्यको चर्चालाई यतिमै सीमित गरिदिएको छ । यसै आधारमा मूलतः नेपाल, भारत आदि एशियाली मुलुकहरूमा हास्यलाई हेर्ने प्रवृत्ति रहिआएको छ । जहिले हास्य भन्नाले व्यङ्ग्यसमेत गाँसिएर आउने परिपाटी विकसित भएको छ र नेपाली साहित्यमा पनि हास्यव्यङ्ग्यको चर्चा परिचर्चा चलिरहेकै छ । नेपाली साहित्यमा हास्यव्यङ्ग्य सिद्धान्तबारेका चर्चा बढी मात्रामा परम्परागत नै देखिएका छन् । वर्तमान विश्वमा विकसित भएका हास्यव्यङ्ग्यबारे हाम्रो नेपाली समालोचना जगत् अहिले एकदमै मौन वा अनभिज्ञझैं रहेको पाइन्छ । आजभोलि पश्चिमी जगत् हास्यव्यङ्ग्य (ह्युमर)लाई व्यापक ढङ्गले बुझ्ने र बुझाउने मान्यता विकसित गरिरहेको छ । यस लेखमा पश्चिमी जगत्को हास्यव्यङ्ग्य चिन्तनको विकसित दृष्टिकोणका सन्दर्भबाट हास्यका प्रकारको छोटो विवेचना प्रस्तुत गर्ने प्रयास गरिन्छ ।

२.हास्यशास्त्र
पाश्चात्य साहित्यमा हास्यका बारेमा अनि विस्तृत अध्ययनहरू भएका छन् । ती अधययनहरूबाट हास्य वा हास्यव्यङ्ग्यको अध्ययन गर्ने एउटा व्यापक शाखा नै विकसित भएको छ । यसलाई विद्वान्हरू आजभोलि ‘हास्यशास्त्र’ वा ‘हास्यव्यङ्ग्यशास्त्र’ (ह्युमरोलोजी) भन्न थालेका छन् (स्मिट्ज : २००२ इ.) । अर्को शब्दमा भन्दा हास्य वा हास्यव्यङ्ग्यको अध्ययन गर्ने वैज्ञानिक पद्धतिको विकास पश्चिमी जगत्मा भइसकेको छ र यस्तो वैज्ञानिक अध्ययनलाई विद्वान्हरूले ‘हास्यविज्ञान’ वा ‘हास्यव्यङ्ग्यविज्ञान’ (ह्युमरोलोजी) भनेका छन् । उक्त हास्य शास्त्र वा हास्यव्यङ्ग्य विज्ञानले विश्वभरिका जेजति हास्य वा हास्यव्यङ्ग्य रचनाहरू छन् ती समग्र रचनाविशेषलाई हास्यव्यङ्ग्य सङ्कथन (ह्युमरस डिस्कोर्स) मान्छ र तिनको व्यापक सन्दर्भबाट वैज्ञानिक अध्ययन गर्छ । हास्यव्यङ्ग्यको अध्ययनमा यस्तो कार्यलाई नौलो फड्को मानिएको छ । यस्तो अध्ययनको परिपाटीलाई नेपाली साहित्य समालोचनामा पनि भित्र्याउनु आवश्यक भइसकेको छ ।

३.हास्यका प्रकार
हास्यशास्त्र वा हास्यव्यङ्ग्यविज्ञान विश्वभरिका हास्यव्यङ्ग्य सिर्जनालाई एक ठाउँमा राख्छ र तिनभित्र पाइने विशेषता वा स्वरूपको सूक्ष्म अध्ययन गरी तिनलाई वर्गीकरण गर्छ । वर्तमान विश्वले हास्यशास्त्रका दृष्टिबाट हास्य वा हास्यव्यङ्ग्यलाई तीन वृहत् वर्गमा बाँडेको देखिन्छ । अर्थात् हास्यशास्त्रको वर्गीकरणअनुसार संसारभरिका हास्यरचनाहरू मूलतः तीन प्रकारका हुन्छन् ः १) सार्वभौम वा यथार्थआधारित हास्य (युनिभर्सल/रिअलिटी बेस्ड ह्युमर), २) सांस्कृतिक वा संस्कृतिआधारित हास्य (कल्चर बेस्ड ह्युमर) र ३) भाषिक वा शब्दआधारित हास्य (लिङ्ग्विस्टिक/वर्ड बेस्ड ह्युमर) यिनको चर्चा क्रमशः तल गरिन्छ ।

३.१. सार्वभौम हास्य
जुन हास्य विश्वसत्यमा आधारित हुन्छ त्यसलाई सार्वभौम हास्य युनिभर्सल ह्युमर भनिन्छ । यो विश्वभरि नै हुने वस्तु, घटना, प्राणी, विषय एवम् मानव व्यवहार आदिमा आश्रित हास्यरचना हो । यस प्रकारको हास्य वा हास्यव्यङ्ग्य यथार्थ जगत्सँग र मानवजातिका सार्वभौम प्रवृत्तिसँग सम्बन्धित वा आधारित हुन्छ । वास्तविक संसारमा देखिने विभिन्न परिस्थितिहरू (रिअल वल्र्ड सिचुएसन्स) र ढाँट्ने बढाइचढाइ गर्नै, मपाइँत्व प्रदर्शन गर्ने, कन्जुस्याइँ गर्ने, ओठेजवाफ फर्काउने जस्ता संसारभरिकै मानवजातिमा पाइने मानव व्यवहार ह्युमन बिहेभिअरलाई हास्यको आलम्बन वा विषय बनाउने हास्य सामग्रीलाई सार्वभौम हास्यका कोटिमा राखिन्छ । यस्ता हास्य आश्वस्त हुन्छन् र यिनको आस्वादन गर्नमा कुनै कठिनाइ हुँदैन । सार्वभौम हास्य त्यस्तो सरल, स्पष्ट र सहज हास्य सृजना गर्ने रचना हो जो संसारको कुनै पनि भाषाबाट अर्को भाषामा सजिलै उल्था हुन सक्छ । हास्य रचना वा हास्यात्मक कथनहरू त्यस्ता मानव अभिव्यक्ति -स्पिच एक्टस) हुन् जसका अनेक मौखिक तथा लिखित प्रकार्य हुन्छन् । (लङ ग्रेसर : १९८८ इ) । त्यसैले सार्वभौम हास्य भनेका त्यस्ता हास्यात्मक वा व्यङ्ग्यात्मक मानव अभिव्यक्ति हुन जसलाई संसारका सबै भाषामा सजिलै अनुवाद गरी तिनको आस्वादन गर्न सकिन्छ । कुनै हास्यव्यङ्ग्यात्मक प्रसङ्गमा ‘उम्केको माछो ठूलो’ भनिन्छ भने यो सार्वभौम कथन बन्न सक्छ । यस्ता सार्वभौम हास्यलाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न पनि कठिनाइ पर्दैन ।

३.२ संस्कृतिबद्ध हास्य
जुन हास्य मानव जातिले मान्ने थरीथरीका संस्कृतिमा आधारित हुन्छ त्यसलाई संस्कृतिबद्ध हास्य (कल्चर बेस्ड ह्युमर) भनिन्छ । यो हास्य विश्वका विभिन्न राष्ट्र वा सामाजमा बस्ने मानिसहरूका फरक-फरक संस्कृतिभित्र पाइने विभिन्नतासँग सम्बद्ध रहन्छ । मानिसहरूका थरीथरीका संस्कृतिमा अन्तर्निहीत असङ्गतिलाई यस प्रकारका हास्यमा प्रकट गरिएको हुन्छ । फरक-फरक जातिमा पाइने फरक-फरक संस्कृतिले यस्ता हास्य रचनाको जन्म दिन्छन् । तसर्थ यो जातीय संस्कृतिमा आश्रित हु्रन्छ । कुनै पनि राष्ट्र, समाज वा समुदाय र जातिका सांस्कृतिक प्रचलन वा रीतिरिवाजहरू (कल्चरल प्राक्टिसेज)मा आधारित रहने हास्यलाई यस कोटिमा राख्ने गरिन्छ । मानिसका अनेक प्रथा, रीति, चालचलन, चाडपर्व, दिवस, जात्रा आदि हुन्छन् र तिनीहरूमा पाइने असङ्गति वा विकृतिहरूले संस्कृतिबद्ध हास्यको सिर्जनामा भूमिका खेल्छन् । अमेरिकी समाजमा मनाइने ‘मदर्स डे’ फादर्स डे’सँग सम्बन्धित हास्यव्यङ्ग्य, नेपाली समाजमा मनाइने दशैं-तिहार, गाईजात्रा, ल्होसार, फागु आदिसित सम्बद्ध रहने हास्यव्यङ्ग्य आदिलाई संस्कृतिबद्ध हास्यका उदाहरण मान्न सकिन्छ । यसै गरी कालो बिरालाले बाटो काट्दा अपशकुन मान्ने नेपालीको प्रथा र कालो बिरालाले नै बाटो काट्दा सबभन्दा शुभ वा शकुन मान्ने जापानीको प्रथा पनि संस्कृतिबद्ध हास्यका आलम्बन वा विषय बन्न सक्छन् । संस्कृतिबद्ध हास्य सहजै र सजिलै आस्वादन गर्न, बोध गर्न र अनुवाद गर्न नसकिने हुन्छन् । यसका निम्ति विभिन्न संस्कृतिको भलिभाँती ज्ञान हुनु, आवश्यक हुन्छ । यस्ता हास्यको अनुवादका लागि आ-आफैँ्ना संस्कृतिमा मिल्दाजुल्दा प्रसङ्गहरू खोज्नु पर्ने हुन्छ । संस्कृतिबद्ध हास्यमा आधारित रचनाहरू शैक्षिक सामग्रीका रूपमा प्रयोग हुन्छन् तर यी माध्यमिक तहका वा सो भन्दा माथिका विद्यार्थीहरूमाझमात्र प्रयोग युक्त ठहरिन्छन् । अनेकौँ परिहास वा ठट्टा (जोक्स) र चुट्किला (विटिसिज्म)द्वारा यस प्रकारका हास्य प्रकट भएका उदाहरणहरू पाउन सकिन्छ ।

३.३ भाषिक हास्य
जुन हास्य भाषिक शब्द, पदावली, वाक्य आदिमा आधारित हुन्छ त्यसलाई भाषिक हास्य (लिङ्ग्विस्टिक ह्युमर) भनिन्छ । भाषिक हास्य प्रायजसो शब्दाश्रित वा शब्दबद्ध हुन्छ । भाषका विविध प्रयोगले उत्पन्न गरिने हास्यमा भाषिक वा शब्दाधारित हास्य पर्छ । यो भाषिक शब्दहरूको खेल हो । भाषिक कलाबाट छचल्कने हास्य वा व्यङ्ग्य भाषिक हास्य हो । विशेषतः शब्दक्रीडा (प्ले अफ वर्डस्)बाट व्यक्त गरिने हास्य र व्यङ्ग्य यस कोटिमा पर्दछन् । वक्रोक्ति (आइरनी), उक्तिविचित्रता (विट), यमक र श्लेष (पन्स), अड्को वा पहेली (रिडल्स) आदिद्वारा सिर्जना गरिने हास्य तथा व्यङ्ग्य भाषिक हास्यका नमुना हुन् । भाषिक वा शाब्दिक खेल हुनाले यस्ता हास्यलाई सजिलै बुझ्न पनि सकिन्न र सजिलै उल्था गर्न पनि सकिन्न । भाषिक हास्यको एक प्रमुख विशेषता हो एक भाषाबाट अर्को भाषामा अनुवाद हुन कठिन हुनु । यस्ता हास्य रचनालाई शैक्षिक सामग्री बनाउन त सकिन्छ तर विश्वविद्यालय स्तरका छात्रछात्राहरूमाझ मात्र । भैरव अर्यालका निबन्धहरूमा पाइने परिहास् शब्दक्रीडाका उत्कृष्ट नमुना हुन् ।

४. निष्कर्ष
पाश्चात्य साहितयमा विकसित हास्यशास्त्र वा हास्यव्यङ्ग्यविज्ञान विश्वकै हास्यव्यङ्ग्य सिद्धान्तको विशिष्ट निधि हो र यसका आलोकमा निश्चित गरिएका वा निर्धारित भएका हास्यव्यङ्ग्यका प्रकारहरू उल्लेख्य प्राप्ति हुन् । उक्त हास्यशास्त्रले निर्धारण गरेका हास्यका प्रकारहरू नेपाली साहित्यका सन्दर्भमा खोज्नु अबका हास्यशास्त्रीका कार्य हुन् । नेपाली साहित्य समालोचना पनि यसतर्फ अग्रसर हुनु अपेक्षित छ ।

‘फित्कौली’ अङ्क ३, कात्तिक-मङ्सिर २०६२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x