गायत्री परिरोशनीनेताको नीतिशास्त्र
कामभन्दा कुरा धेरै गर्नुपर्ने नेताहरूको अनिवार्य आचरण भएकोले भनेको काम, व्यवहारमा उतार्न सक्दै नसक्ने भएकोले, बेलामौकामा आफूले थुकेको थुक आफैंले चाट्नुपर्छ अन्यथा सफल नेता बन्न कुनै हालतमा पनि सकिदैन ।

हो साँच्ची पक्कै पनि तपाइँहरूलाई थाहा भएकै हुनुपर्छ नीति नियमका कुराहरू, शास्त्रका कुराहरू अकाट्य हुन्छन् । त्यसमा उल्लिखित कुराहरूलाई गरेर लागू गर्न नसके पनि भनेर मात्र भए पनि, जपतप गरेर पनि पूरा गर्न भरपुर कसरत गरिरहेका हुन्छन् । विभिन्न किसिमका शास्त्रहरूको विभिन्न किसिमको गुण र विशेषताहरू हुने गर्दछ । विभिन्न शास्त्रहरूमध्ये नेताको नीतिशास्त्र पनि उत्कृष्ट शास्त्र हो । जसको अध्ययन गरेर, त्यसलाई पनि नेताहरूले नै अपनाउने, अंगाल्ने प्रत्यक्ष प्रयास गर्यौँ भने आफ्नो दूनो सोझ्याउने मात्र नभई टपरी र भकारी नै भराउने दक्षतामा पनि निपुण बन्न सक्दछौँ । त्यस्तै ज्यादै राम्रो किसिमको आफूलाई अमीर बनाउने, आफूलाई अगाडि लैजाने, आफूलाई आदर्श बनाउने, आफूलाई कहिल्यै पनि अन्याय र अत्याचारमा नपार्ने काम-कुरामा दक्ष बनाउने नेताका नीतिशास्त्र भित्रका केही कुराहरू कोट्याउने र त्यही गुणहरू आधाआधी भए पनि अपनाई आफूलाई त्यही गोरेटोमा लाग्ने प्रयासमा हाजिर हुन थालौँ केही बेर ।
नियम नं. १. झुटो बोल्न जान्नैपर्छ । पाठक महोदय यो नेता हुनको लागि नभई नहुने महत्वपूणर् गुण हो । साँचो सत्य नबोलेर बरु केही पनि हुँदैन तर नेता बन्न चाहनुहुन्छ भने सर्वप्रथम झुटो बोल्ने प्रयास गर्न थालिहाल्नुहोस् । प्रयास गर्ने क्रममा निम्न लिखित गुणहरू अपनाउने प्रयास गर्नुहोला । आफ्नो खुट्टा चलाउन नसके पनि देश चलाउन सक्छु भन्नुपर्छ । बोल्दाखेरी हामी, हाम्रो, हामीहरू जस्ता बहुवचन प्रयोग गर्नुपर्छ त काम गर्दा फेरि पुनः म, आफ्नो, आफू अनि मेरोलाई नै प्राथमिकता दिनुपर्छ । बोल्दा यी हाम्रा, हामी साराका, हामी सम्पूणर् देशबासीका साझा समस्या हुन् भन्नुपर्छ त गर्दाखेरि, हटाउँदाखेरि, घटाउँदाखेरि मेरो समस्या, मेराको समस्या, आफ्ना समस्यालाई प्राथमिकता दिनुपर्छ । अझ योभन्दा पनि प्रमुख कुरा त बोलेको कुरा गर्न हुन्न, गरेको कुरा बोल्न हुन्न । यति भएमा नेता हुनको लागि अत्यावश्यक प्रारम्भिक गुणको अनिवार्य नियममध्ये प्रथम नीतिको पालना सुरु हुन्छ ।
नियम नं. २. अवसरवादी बन्नैपर्छ । असल नेता बन्नको लागि, कुशल नेता बन्नको लागि नियम नं. २ अवसरवादी बन्नु पनि अनिवार्य नियम हो । ‘लाटाले जानेको बाटैबाट’ भइयो भने सफल नेता बन्न पटक्कै सकिने छैन । यस नियमलाई अनुशरण गर्ने प्रमुख तरिका भनेको अरुले पहिला आफूहरूलाई गरेको जस्तो थिचोमिचो, अन्याय-अत्याचार, व्यभिचारको प्रयोग आफूले चान्स पाएको बेला अरूलाई गर्ने, जताबाट मिल्छ उतैबाट आफू र आफ्नो पार्टीको घैला भर्ने, अरू आउरे बाउरे र चाउरेहरूलाई रक्तकुण्डमा नै डुबाएर भए पनि आफूले नदी तर्ने यावत कुराहरूको अभ्यासमा नै निरन्तरता दिनैपर्दछ ।
नियम नं. ३. पूँजीवादी चिन्तन र चरित्र हुनुपर्दछ । असल नेता बन्नको लागि ठूलो नेता बन्नको लागि अत्यावश्यक गुणहरू मध्ये पूँजीवादी चिन्तन र चरित्र पनि प्रमुख स्थानमा रहन्छ । भाषण गर्ने बेलामा कार्यकर्तालाई नेतृत्व विकास गर्ने, कार्यक्रममा बोल्दा सर्वहारा वर्गको वकालत, साम्यवादको वकालत गरे पनि आफूहरू भने सदैव पूँजीवादी चिन्तनमा चिरिच्याट्ट पर्नुपर्दछ । हातमा दुईचार तोलाका सुनका औठीँ, गलामा सिक्री, देख्नेबित्तिकै सुताँै सुतौँ लाग्ने एक लाख रुपैयाँका पलङ, त्यही पलङलाई म्याचिङ गर्ने बेड-बलाङ्केट, त्यही पलङ राख्न सुहाउने घर आदि इत्यादि पहिलो प्रवेशमा नै जम्मा गरिहाल्नुपर्छ । अनि त्यो पूरा भए पछि तराईमा जग्गाजमिन, केन्द्र केन्द्रमा घर, विदेशी बैँकमा पैसा आदि आदिको विकास गर्दै जानुपर्दछ । त्यसैगरी असल महिला नेतृ बन्नको लागि पनि करोडौ पर्ने हीराको हार, लाखौँ पर्ने सानो ब्याग, दुईचार लाख पर्ने घडी अनिवार्य जोहो गर्नुपर्दछ । भाषण गरेको बेलामा कसैले अन्तर्वार्तामा तपाईँ त्यति ठूलो महिला नेतृ भएर पनि किन महङ्गा-महङ्गा सामानको प्रयोग गर्नुहुन्छ भने “यो मेरो व्यक्तिगत मामिला हो, मेरो श्रीमान महोदयको विदेशी पैसा कमाइ, मेरो शोख अनुसार खर्च गर्न पाउनुपर्छ ।” सर्वहारा वर्गको नेतृत्व गरे पनि चिन्तन, विचार, काम, चरित्र सबै पूँजीवादी हुनुपर्छ नत्र भने जुनसुकै पार्टीका भए पनि असल नेता, ठूलो नेता बन्न गार्हो पर्दछ ।
नियम नं. ४. सहन सक्ने क्षमता हुनुपर्दछ । असल नेता बन्नको लागि आवश्यक गुणहरू मध्ये यो नभई नहुने गुण हो । नेता भइसके पछि भनेको गर्न भएन, गरेको भन्न भएन, गर्न नसक्ने काम गर्छु भन्नुपर्यो । जनताहरू विश्वास मानेर भोट दिन्छन् तर नेताजीले भनेको काम नगरेपछाडि रिस उठ्छ र त्यही रिसमा नेतालाई कालो मोसो लाउँछन्, पिट्छन् र गाली गर्छन् तर त्यो सबै नआत्तिइकन सहनुपर्दछ । केही दिनसम्म सहन सकेपछि सोझा जनता आफ्नो बाटोमा लागिहाल्छन् । एकछिन कालो मोसो लाउँदैमा, बाँधेर पिट्दैमा, गाली बेइज्यती खप्दैमा के हुन्छ र ? आफ्नो भाग्य सोझिन्छ भने, भविष्यमा आफू ठूलो नेता बनिन्छ भने एकछिनलाई जे गरे पनि सहन सक्नुपर्छ अनि त आफू सत्ता र शक्तिमा पुगेपछि त्यसको नामी अप्रेसन गर्न पाइहालिन्छ नि कसो ?
नियम नं. ५. आफूले थुकेको थुक आफैले चाट्न सक्नुपर्छ । यो महत्वपूर्ण विशेषता हो । कामभन्दा कुरा धेरै गर्नुपर्ने नेताहरूको अनिवार्य आचरण भएकोले भनेको काम, व्यवहारमा उतार्न सक्दै नसक्ने भएकोले, बेलामौकामा आफूले थुकेको थुक आफैंले चाट्नुपर्छ अन्यथा सफल नेता बन्न कुनै हालतमा पनि सकिदैन । त्यसैले तपाइँहरू मध्ये पनि असल नेता बन्ने चाहना राख्नुभएको छ भने आजैदेखि नै आफूले थुकेको थुक आफँैले चाट्ने प्रयासमा लाग्नुहोला ।
नियम नं. ६. अवैधानिक श्रीमान र श्रीमती प्रशस्त बनाउन सक्नुपर्दछ । नेताका विभिन्न विशेषताहरू मध्ये यो पनि महत्वपूणर् विशेषता हो । नेता बन्नको लागि एक ठाउँमा बसेर सम्भव हुदैन । फरक फरक ठाउँमा फरक फरक जातजाती रहने बस्ने समुदायमा प्रत्यक्ष रूपमा खट्नुपर्दछ । त्यो समयमा आफ्ना नियमित प्रक्रियाहरूलाई निरन्तरता दिनको लागि पनि श्रीमान श्रीमतीको अनिवार्यता हुन आउँदछ । त्यो संकटकालीन अवस्थामा दोस्रो, तेस्रो बिहे गर्यौँ भने नेताको आचरणमा कानून अनुसार दण्ड, जरिवानासमेत हुने भएको हुँदा आवश्यकता अनुसार अवैधानिक श्रीमान-श्रीमती प्रशस्त मात्रामा बनाउन सक्नुपर्दछ । बरु बडो होसियारीकासाथ बनाउनुपर्दछ, कतैबाट पोल खोलिइहाल्यो भने पनि आफू सुरक्षितसाथ बच्न सक्नुपर्छ । अवैधानिक श्रीमान-श्रीमतीबाट माया-ममता प्रशस्त लिए पनि गोप्य रोग भने नलिएकै बेस हुन्छ ।
नियम नं. ७. धुम्रपान, मध्यपान र अन्त्यपानमा फस्टाउन सक्नुपर्दछ । “आउला त पार्टीको जाला त कार्यकर्ताको” के पिर छ र आफूलाई भन्दै धुम्रपान, मध्यपान र अन्त्यपानमा रमाउन, जीवनलाई उमङ्गित बनाउन सक्नु नेताका प्रमुख विशेषता अन्तर्गत नै पर्दछ । नेता भएर त्यसमा पनि अझ विशिष्ट श्रेणीको नेता हुनेको लागि त एकरातमा दुई चार लाख, दुई चार वटीको साथ मिलाउन सक्नैपर्छ । यो बनाउन सक्ने ज्वान भनेको धुम्रपान, मध्यपान र अन्त्यपान नै त हो नि । त्यसै यिनीहरूको साथ नलिइकन त दुई चार कौडी झर्न पनि निकै गार्हो नै पर्छ गाँठे । कहिलेकाहीँ धुम्रपान र मध्यपान गरिरहेको ओभर डोज थपेपछि अन्त्यपानको मात्रा पुग्छ । यो डोज लिएर आरामसँग सुतेपछि भोलिपल्ट जीवन नै चिलिमच्वाँट हुन पनि बेर लाग्दैन । त्यसै हुनाले यसको मात्रालाई अन्त्यपानको नामले नामाकरण गरिदिएका हाँै ।
नियम नं. ८. भष्टाचार गर्नुपर्दछ । नेताका लागि प्रमुख गुण र विशेषताहरू मध्ये यो एक हो । बेला मौकामा अवसर, दाउ र भाउ मिल्दा भष्टाचार गर्न नजान्ने हो भने ठूला नेता, दामी नेता बन्न त गार्हो नै पर्दछ । पहिला देशको विकास गर्छु, अनि केन्द्रको विकास गर्छु, अनि बस्ती बस्तीको विकास गर्छु भन्दै एन.जी.ओ. र आई.एन.जी.ओ बाट पैसा कुम्ल्याएर मात्र आफ्नो र आफ्नो घरको विकास गर्न सिक्नुपर्दछ । भित्रबाट पनि बाहिरबाट पनि, हातबाट पनि पातबाट पनि पैसा नै पैसा कमाउने बन्नुपर्दछ । शिष्टाचारलाई भन्दा भष्टाचारलाई प्राथमिकता दिनुपर्दछ । सामान्य नेतालाई सांसद बनाउने, मन्त्री बनाउने, प्रधानमन्त्री बनाउने सबैभन्दा ठूलो आचरण भष्टाचार नै हो । यो गुण त झन सबै नेताहरूका मात्र नभएर नेताका शाखासन्तानहरूमा पनि नभइनहुने गुण हो भन्दा पनि नपत्याउने साहस नगर्नुभएको नै बेस हुन्छ ।
नियम नं. ९. बोलीमा झोली, भोलि र गोली पनि समावेश गर्न सक्नुपर्दछ । यो पनि नेताजीका महाविशेषता अन्तर्गत नै पर्दछ । बेला मौकामा आफूको पालो नआउन्जेल भोटको गम आफूतिर नटाँसिन्जेल नेताको बोलीमा झोली फिट गर्नुपर्दछ । यसरी कि म सर्वहारा हजुर, हजुर जस्तै हुँ । मेरो जीत भन्नु नै तपाइँहरूको जीत हो । ल हेर्नुहोस् त मेरो हरमा एकसरो फाटेको कपडा बाहेक केही पनि छैन । अहिले खाना खाने चामल पनि छैन भनी तिनैसँग चामल मागेर उनैका मिठा भोटले सत्ता चड्काइहाल्नुपर्छ । अनि सत्ता चड्काएपछि तिनै बोलीमा एकाएक गोली फिट गरेर भन्न थाल्नुपर्छ कि अब त म सर्वहारा वर्गको विकास होइन देशकै विकास गर्ने भैसकेको छु । त्यसैले कसैले पनि व्यक्तिगत र सामाजिक समस्याहरू वकालत गर्न पाइँदैन ।
नियम नं. १०. हेर्दा आकर्षक जिउडाल र चिरिच्याट्ट पहिरनमा सजिनुपर्दछ । पाठक महोदय तपाइँहरूलाई थाहा भएको हुनुपर्दछ चर्चामा आएका नेताका नीतिशास्त्रका गुणहरू मध्ये अन्तिम आकषणर्को केन्द्रबिन्दुमा यो पर्दछ । नेता बन्नको लािग वा बनेपछाडि भोटदेखि कोटसम्म, कालीदेखि सालीसम्म, शिष्टाचारदेखि भष्टाचारसम्म, कवाफदेखि रवाफसम्म, भत्तादेखि सत्तासम्म… सबै चिज मागेर नपाए ठगेर, चोरेर नै भए पनि लिनुपर्छ । त्यति धेरै विशिष्ट चिज हातपार्नको लागि जिउडाल आकर्षक र चिरिच्याट्ट पर्नुपर्दछ ।
पाठक महोदय अहिले सर्सरती अध्ययनमा देखापरेका नेताका नीतिशास्त्रका कुराहरू यिनै हुन् । तात्तातो फेला पर्दै जालान्, हामी पनि पढ्दै जाऔँला हुँदैन र ?
Subscribe
Login
0 Comments
Oldest





































