सेवा
बुढा झन् जोसिएर उफ्रिए, “के को यिनीहरूले सेवा गरेका हुन् र ? अंशबण्डामा जजसले गर्छ उसैले पाउँछ भनी लेखेकोले पालैपालो आउँछन् अनि फेसबुकमा फोटो राख्छन् ।”
पी पी कोइराला :
“लु यहाँ घाममा थेच्चिनु” अस्पतालको ढोकामै पुग्दा उसले झर्किँदै बुढामान्छेलाई पिँठ्युबाट ओरालेको देखेँ । बुढामान्छे मतिर हेरेर केही भन्न खोज्दै थिए ।
“के चाहियो अब फेरि घाम ताप्न छाडेर ?” ऊ बुढासँग रड्कियो ।
“पानी खाउँ न पानी ! धेर कराउँछस्, घरमा जस्तै ?“ बुढाले पनि हकारे ।
मैले हतार हतार पानीको बोतल दिँदै भने, “बा ! लिनु ।”
उसँग बोल्न खोज्दा तर्किँदै तर्किँदै पर गयो । तर बुढाले पानी पिइसकेर मसँग खुलेर धेरै कुरा बोले,
“पिसाबको पाइप खोल्न नसकेर गाउँको सानो अस्पतालले झण्डै मार्दिएको थियो । छ छ जना छोराछोरीहरू मध्ये कसैलाई पनि मेरो भोक, प्यास, निद्रा, पीडा, चिसो तातोको स्पष्ट ज्ञान छैन ।”
पचहत्तर नाघेका ती बुढाको गुनासो गजबको लाग्यो । अघि बाउ बोक्ने छोरोले गोप्य सबै ओकले भनेर बाउलाई आँखा पल्टाएर हेर्दै थियो ।
मैले उसलाई सुनाई सुनाई बुढालाई सम्झाउन खोजेँ, “बा ! छोराछोरीहरूले गरेको सेवालाई राम्ररी प्रशंसा पो गरिदिनु पर्छ ।”
बुढा झन् जोसिएर उफ्रिए, “के को यिनीहरूले सेवा गरेका हुन् र ? अंशबण्डामा जजसले गर्छ उसैले पाउँछ भनी लेखेकोले पालैपालो आउँछन् अनि फेसबुकमा फोटो राख्छन् ।”
०००
धरान