रामकुमार पण्डित क्षेत्रीस्वर्ग
उनलाई कुरेर बसेका छोराबुहारी आपसमा हेरेर मुस्कुराए । त्यो मुस्कानलाई तुरुन्तै रोएको नाटकमा बदलेर भनेः “बल्ल बुढाको सम्पत्तिमा मोज गर्ने बाटो खुल्यो ।”

रामकुमार पण्डित :
वल्लो घरमा दाजु र पल्लो घरमा भाइ घिटघिटो थिए । असी कटिसकेका उनीहरू काललाई स्वागत गर्न आतुर थिए । गाउँमाराको रूपमा परिचित भाइलाई गाउँलेले पनि ‘छिट्टै मरोस्’ भनेर सरापेको धेरै भइसकेको थियो ।
अचानक काल दाजुको घरमा गयो । काललाई देखेपछि दाजुको मुहारमा चमक आयो । कालले साङ्केतिक पोस्टर देखाउँदै भन्यो- “यो माथिल्लो बाटो सत्यलोक जाने हो । त्यहाँ फाट्टफुट्ट मान्छे हुन्छन् । झुटो बोल्ने तत्कालै बित्छन् । असाध्यै शान्ति छ । यो तल्लो बाटो पृथ्वीजस्तै लोक हो । धेरै मान्छे हुन्छन् । सत्य बोलेचाहिँ बाँच्न गाह्रो हुन्छ । लटरपटर पारे मोजैमोज । भन्नुस्, कता जानुहुन्छ ?”
दाजुले मुन्टो उठाएर पृथ्वीमा अघाएकोले सत्यलोक जाने सङ्केत दिए । कालले सहमति जनायो । तत्कालै उनको मुहार निभ्ने बेलाको बत्तीजस्तै धपक्कै बल्यो । कालले लग्यो । उनलाई कुरेर बसेका छोराबुहारी रुवाबास गर्न लागे ।
त्यसपछि काल भाइकोमा गएर उसैगरी साङ्केतिक पोष्टर देखाएर सोधेः “भन, कता जाने ?” भाइले सङ्केत गर्दै भनेः “यमराजजी, त्यो कोही नभएको ठाउँमा कसरी बस्नु ? म त स्वर्ग जाने हो । तल्लो बाटो ठीक रहेछ । धेरै मान्छे, धेरै काम, धेरै सुख । म त यतै जान्छु ।” कालले सहमति दिए । उनको मुहार ग्रहण हटेको चन्द्रमाकोजस्तै उज्यालो भयो । कालले लग्यो । उनलाई कुरेर बसेका छोराबुहारी आपसमा हेरेर मुस्कुराए । त्यो मुस्कानलाई तुरुन्तै रोएको नाटकमा बदलेर भनेः
“बल्ल बुढाको सम्पत्तिमा मोज गर्ने बाटो खुल्यो ।”
०००
सिमलटार, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest









































