
उधारी कुमारी
एकदिन छोरीमात्र घरमा रैछे। बज्जेले छोरीको नाम पनि उधारी राखेको रैछ। उधारीले - हाम्रो बा बारीको कान्लामुनि लुक्नु भएको छैन भनी। त्यसदिनदेखि त्यसको आँगनमा टेकेको छैन । अब के गर्ने रिजाल भाइ ?

आर.सी. रिजाल :
एकछिनको भलाकुसारीपछि हितप्रसाद काकाले- मलाई बोलाउनुको कारण सोधेँ।उहाँले – कस्तो जमाना आयो रिजाल भाइ, कसैमाथि विस्वास गर्न नसकिने भैयो। हातले दियो खुट्टालाई दुख भन्ने भनाइ ममाथि चरितार्थ भयो। त्यो पुछार घरे ईमान बहादुरलाई चिन्छौ भने। मैले – किन नचिन्नु, त्यो फटाहाले तपाइँलाई पनि भ्यायो कि कसो भने।
काकाले – रिजाल भाइ दुखपर्दा काम लाग्छ भनेर जोगाएको वृद्ध भत्ता ईमानेले चटक देखाएर फुत्कायो । एकदिन साँझ पर्न लागेको थियो। श्रीमतीको भुँडी देखाउँदै – हजुर यो मेरि प्याउली, भरेभोली ब्याउली जस्ती छे, जनिगरि हजुरले आफैंले भोग गरेको ब्याहुलीझैँ ठानी सुत्केरी उतार्न पाँच हजार सापट दिनुपर्यो। मामको त के कुरा हजुर ज्वानो किन्ने दामसमेत छैन। प्याउली तलमाथि परे त्यो पापको भागिदार हजुर पनि हुनुपर्छ भन्दै बज्जेले आँसु झारेर डाँको छोड्यो। स्वास्नी चैंले – ब्याजमात्र हैन हजुर घिउखाने कोसेली नि टक्र्याउला। तपाईंको ईमान भाइको धरौटी म भरौटी बस्छु भनि।आफ्नो नौनीजस्तो मन पग्लियो।
मैले – बारम्बार गएर तर्साउनु भएन भने। काकाले – कति भन्नू। अब त यस्तो महसुस भयो कि मानिसको पीडा सुन्नु छ भने कसैलाई सापट दिए पुग्छ। जतिपल्ट गयो – मैले झुठो बोल्न जानेको छैन भन्दै सापट फिर्ता गर्ने मिति श्रीमतीलाई तोक्न लगाउछ। एकदिन कटेरो पछाडि पुगेको मात्र थिएँ।बज्जेले – कस्तो पाजी काठो रैछ। त्यसको पैसा पचाएर को मर्छ भनेको सुनेँ। हो न हो मेरो सापट फिर्ता गर्न कालले त्यसलाई साँचेको होला त ?
एकदिन छोरीमात्र घरमा रैछे। बज्जेले छोरीको नाम पनि उधारी राखेको रैछ। उधारीले – हाम्रो बा बारीको कान्लामुनि लुक्नु भएको छैन भनी। त्यसदिनदेखि त्यसको आँगनमा टेकेको छैन । अब के गर्ने रिजाल भाइ ? भने।
मैले – अब केही हुँदैन। नङ्गा नाचे हजार दाउ।उबेलाँ- तेरो छातीमा राख्न एक टिलो छैन भन्देको भए “कस्तो पाजी” भन्थ्यो, जान्थ्यो।उखानै छ नि “सय पाजी खानु भन्दा एक पाजी खानु बेस” अहिले कस्तरी लाग्यो वृद्ध हृदयमा ठेस भने।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest