साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएका पाकाबारे सबैतिर चर्चा किन ?

आफ्नो र सकेमा सामाजिक हितमा समय गुजार्नोस्, अब तपाइँको उमेरले ‘गनगन, छनक–फनक, ईर्ष्या, रिस, डाह, झगडा, निहुँ खोजाई, निष्कृयता, पिरलो’ आदि गर्ने छुट दिनैसक्तैन ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

‘एकल महिला–पुरुषका ढाडमा पनि माघे पारिलो घाम लाग्छ’ भनेझैँ हरेक उमेरसमुहका आआफ्नै उर्लिने बेला आउँदो रहेछ । पहिला परम्परागत मान्यता नमान्दा सामाजिक कारणले लाज हुने तथा संयुक्त परिवारमा नटिकिने भएर सबै सदस्यहरू आफ्नो हैसियत र स्थानमा इमानसाथ रहन्थे । त्यसैले ‘बाघ बुढो र स्याल तन्नेरी’ भनेर हरेक काममा पाका उमेरिएकाहरूको मानलाई उजागर गर्ने आहान नै लोकप्रिय थियो । हरेक ठाउँमा पाकालाई गण्यमान्य तथा भलादमी जनमा गणना भई सामाजिक विवादमा उमेरिएका पाँच भलादमीले गरेका निर्णयमा सबैको चित्त बुझाउने चलनलाई न्याय र निसाफको तरिका मानिन्थ्यो ।

त्यसैलाई देश चलाउने राजनीतिकरण गरेर एकताका नेपालमा एकलौटी मनोमानीको व्यवस्था नै ल्याइयो । बिस्तारै माथिल्लो वर्गको हातमा राजनीति एकोहोरिँदै गयो भने शासन व्यवस्था नै सामन्त र उठ्दै गएका पूँजिपतिको चङ्गुलमा भएकाले मुख्यत जनपक्षिय चेतले जनता सचेत भई तीन दशकको रजगजलाई विभिन्न जनशक्ति र विदेशी आडभरोसामा ध्वस्त गराउन सके । त्यसपछि तेह्रवर्ष रहेको र बाङ्गोटिङ्गो चलेको गुटहरू आफ्नो आधार बलियो बनाउन लागेकाले न्युनधरातलिय समुहको वर्ग र सर्वसाधारणको हितमा काम गरी देशको उन्नति तर्फ ध्यानदिने फुर्सद नै भएन ।

फेरि, मेची–महाकाली र हिमाल–तराई हल्लाउने गरेर आकास–पत्ताल फेरिने घोषित आतङ्कसाथ साउनको खहरेजस्तै एकगुट बुढापाका र आफूसँग नमिल्नेलाई निर्दयी व्यवहार गर्दै भौतिक संरचनासमेत बिगार्दै आयो । उस्को बिद्रोही गरिबहित भनिएका सबै गतिविधि अरुले रजाइँ गरेको ईर्ष्यामात्र रहेछ, जनताको हित नभएको भन्ने तथ्य त ‘सत्ताको मिठिपापा’ नपाउञ्जेलको रहेको देखियो । व्यवस्थाको ‘न्वारानको नाउँ जेसुकै राखे’ पनि आखिर पोष्ने त आफ्नै आसेपासे र गुटलाई भएको सावित गर्न बिस वर्ष अति भएको सर्वसाधारण खुलेआम भनिरहेकै छ्न् । विदेशीका अह्रोट र खटनमा चल्ने भएर ‘जनताको हितमा काम गर्नु अझै क्रिया हालेकै सरह नै’ रह्यो ।

हो, अन्यत्र फोहोरको खाल्डोमा फालिएका बेकामे चलन र प्रभूहरूले प्रयोग गर्न अह्राएका नीति–नियम छेउ न टुप्पासँग टाँसो लगाएर सबैभन्दा सुन्दर प्रजातान्त्रिक कारीणी लेराएको अपत्यारिलो कर्कश भाषण सुनाएर हाम्रै करबाट पालित ढँटुवारेहरू ज्यान पाल्दैछन् । जनहितमा क्रियाकलाप नगरे पनि विभिन्न वर्ग र समुहका लागि कार्यान्वयन नगरिने, अरुलाई भन्न सजिलो पर्नेगरी केही कानुन पसारिएका छन् । त्यसमध्ये ज्येष्ठ नागरिक सम्बन्धी केहि व्यवस्था गरेर बैठक भत्ता पचाउने काम चाहीँ भएको छ, भएकै छैन, शुन्य छ, भनि ढाँट्न त उनीहरू जस्तै झुट बोल्नु त भएन नि ।

पछिल्लो खेप मनलागी बोल्न पाउने अवस्था सिर्जना गरेकाले सञ्चारका विविध विधाबाट काम नलाग्ने धेरै प्रशारण भए पनि भलादमी जनहरू बिस्तारै–बिस्तारै समाज रसातलमा खस्ने डिलमा पुगेकाले राम्रा कुराहरू प्रकाशन गर्न थालेका छन् । त्यसमा पाका मान्छेका हितमा आफैँ लेखेर–बोलेर र अन्यत्रका प्रशङ्गहरू भए, भाषान्तर गरेर भए पनि प्रचार गर्ने अवशर अङ्गालेका छन् । त्यस्ता सामग्रीमा उमेरिएका र सेवानिबृत्तका हितमा लेखिएका कथा, कविता, टिप्पणी, अनुभवहरू हिजोआज मुहारिकातिर पनि देखिन थालेका छन् । विभिन्न समयमा सामाजिक सञ्जालमा देखिएका सामाग्रीहरू हामी पाका नागरिक र परिवारका सदस्यहरूलाई बुझ्‌न कामलाग्न सक्छ भनि यहाँ केही पस्कने कोशिस गरिएकाे छ ।

साठी वर्षेः
अमेरिकी प्रशासन देशभित्र भने सकेसम्म जनतालाई भ्रमित बनाउँदै सुख दिन खोजेको स्वाङ्गगरी संसारलाई लुटेर भए पनि हतियार उत्पादनमा तिब्र विकास गरिरहेको छ । संसारमा भएका अमानविय युद्ध कसले केको स्वार्थ्यको लागि भइरहेछ ? यसो गम्नोस् त, देब्रे वा दाहिने जताबाट सुँड घुसारेर भए पनि अमेरिका लागिपरेको छ । विश्वकै ठेकेदार भएझैँ आफ्नै पक्षमा पार्न साम, दान, दण्ड, भेद सबैतिर लागु गरेर उत्पादित अस्त्र बिकाइरहेछ । ‘कृत्रिम विकास र व्यक्तिवादी स्वतन्त्रताको ढ्याके लड्डु’ उपयोग गरेर अमेरिकी अहङ्कार धेरैमा ‘कीरा लागेको हाँगो कलमी गर्न’ उद्यत उनीहरूको प्रशासन सामान्य भौतिक विकासे ऋण–सुबिधामा बृद्धि गरेर कमजोर राष्ट्रहरूलाई ‘तेल पेल्ने कोलको गोरु’ बनाइरहेछ ।

यस व्यवहारले सामाजिक रीतिरिवाज बिगारेर अमुक देशमा आन्तरिक कलहको विरोपण गर्न माहिर यस्ताको प्रशासन प्रजातन्त्रको नाममा विश्व सामु खतराको घण्टी सबैले बोध गरेकै छन् । आफ्नो देशमा फले–फुलेको बृद्धाश्रम व्यवशाय हरेक देशमा फैलाउन उस्ले सकेको भाँडभैलो गर्छ र पाका–पाकीलाई ‘भारको रुपमा लिएकाले हेरालुलाई सहयोग पुग्ने हिसाबले’ पनि क्रियाकलाप गर्न सिकाउँछ । आखिर कुरो द्रव्यउन्मुख न छ, बैचारिक घनिभुत षडयन्त्र चलाउन कति तिकडम हो बा ? उमेरिएकाले गर्नैपर्ने केहि क्रियाकलाप र अन्यत्रका नराम्रा कुरा सिक्न खप्पिस हाम्रा युवा–युवतीहरू त्यस्तै काममा सहयोगी बनुन् भनेर अचेल सामाजिक सञ्जालतिर पनि यस्ता सामग्री ओइरिन थालेका छन् । हामीलाई कामलाग्ने सामग्री हाम्रै परिवेशमा रुपान्तरित गरेर बुुझ्‌दा फाइदा हुने भए लिनुु राम्रै होला ।

अमेरिकी पाका, धेरै उमेरिएका महिला–पुरुषहरू मध्ये आधाभन्दा बढि प्रतिशत भर्‍याङ उक्लँदा र ओर्लँदा सन्तुलन हराउँदा पछारिने गर्दछन् । केहीलाई यस्तोमा सामान्य चोटपटक मात्र लागेको हुन्छ भने कतिपयलाई टाउको वा छातितिर गम्भीर घाउ भएर केही दिनमा नै संसारबाट बिदा हुन्छन् । विकसित र साधन सम्पन्न भनिएको अमेरिकामा प्रतिवर्ष बिसहजार मानिस भर्‍याङमा अल्झेर चिप्लिएर लडेर मृत्यु भएको आँकडाको लगत नै भेटिन्छ । त्यसैले पैँसट्ठी वर्ष नाघेका पाका–पाकी उमेरिएका मान्छेहरूलाई तपशीलका केही प्रकारका काम नगर्न त्यहाँका विज्ञहरूले सल्लाह दिएका छन् ।

पाकाले नगर्नेः
१) भर्‍याङ सकेसम्म प्रयोग नगर्ने, अति आवश्यक्तामा वा आपदमा बाहेक चढने–ओर्लने काम नगर्ने ।
२) समतलमा पनि छिटो–छिटो हिँडने, हिँडदा–हिँडदै फनक्क फर्कने र एकोहोरो फनफनी घुम्ने काम नगर्ने ।
३) पलेटी कसेर वा एकै आशनमा धेरै नबस्ने । घुँडाले टेकेर हिँड्ने, धेरैबेर गोडा खप्टेर सुत्ने, बस्ने नगर्ने ।
४) उभिएर कुनै कपडा नलगाउने, जुत्ता–मोजा पनि सानो खटौली वा मेच वा उठन सजिलो हुने ठाउँमा बसेर मात्र लगाउने ।
५) दण्डबैठक वा एक्कासी टाउको उठाउने व्यायाम नगर्ने, शीर्षासन त गर्दै नगर्ने ।
६) उभिएर एक्कै पटक झटका लाग्ने गरी कम्मर दायाँ–बायाँ नमर्काउने, नमच्काउने, नघुमाउने ।
७) अग्लो होचोमा जमिन वा चउरमा घुम्न ननिस्कने, नदौडने, फालहाल्ने र उफ्रने काम नगर्ने ।
८) अगाडि हिँडे जस्तै पछाडि हिँड्ने अभ्यास एक्लै गर्दै नगर्ने, धुले वा उबडखावड बाटोमा हतारमा नहिँड्ने ।
९) ढाड दोब्रिने गरेर गह्रौँ सामान नउचाल्ने, एक हातमा मात्र सामान नझुण्ड्याउने ।
१०) दिसापिसाब चुहिए पनि बिउँझिने बित्तिकै दिउँसो सुतेको ठाउँबाट जुरुक्क नउठ्ने । राती ब्युँझेर शरीरका सबै भाग सतर्क नहुञ्जेल सुतेको ठाउँबाट नउठ्ने ।
११) जतिखेर पनि विभिन्न पिरले चिन्ताग्रस्त नहुने, सुखका कुरा बिर्सेर खाली दुख पाएको मात्र नसम्झने ।
१२) आफैँ थन्किएर एकातिर बस्ने शारीरिक अवस्थामा परिवारमा चर्कै स्वरले अह्राइ–पराई नगर्ने ।
१३) आफ्नो लागिमात्र कुनै कुरा माग नगर्ने र आफूलाई प्राथमिक रहेको घुर्की परिवारलाई नलगाउने ।
१४) उमेर ढल्केका पाकापाकीहरू जति सन्तोषी हुनसक्यो त्यति सुखी रहन सकिने बेलैमा बुझ्‌न ढिला नगर्ने ।
१५) आफूलाई चाहिएका ओखती बेलैमा जोहो गर्ने र घरीघरी आवश्यक्ताको भजन नगाउने ।
१६) आफ्नो र अरुका चिजविज प्रयोग गरेपछि सङालेर सिनित्त पारीदिनोस्, जहाँको त्यहीँ असरल्ल नछोड्नोस् ।
१७) विगतमा आफूले गरेका राम्रा काम–कुरा बिर्सने नगर्नोस् बरु अनावश्यक ठाउँ वा अरु व्यक्तिलाई भन्ने नगर्नोस् ।
१८) सिमित अवधिका आफ्ना अनुभव नवीकरण नभई नभन्नुहोस् र दोहोर्‍याई रहेर ‘गनगने, असन्तोषी’ नबन्नुहोस् ।
१९) हरेक कुरामा अति जोखिम नभएसम्म अडङ्गा लगाइदिने, बाँउटो बोली बचन कवै नगर्नोस् ।
२०) चाहना खुम्च्याई आफ्ना आवश्यक्ता सिमित गरी सकेसम्म आफ्नो काम आफैँ गर्ने कोशिस गरिराख्नोस् ।

जान्नैपर्ने कुराहरूः
उमेरिदै जाँदा छ दशकदेखि निरन्तर काम गरिरहेका अपरिवर्तनीय शरीरका भागहरू निष्कृय वा थकाईका कारण झाँटिएर सुस्त हुने, गरिरहेको काममा कमी आउने तथा गर्नै नसक्ने पनि हुन सक्छन् । त्यस्तो अवस्था आउनु पाको उमेरमा अनौठो र असम्भव होइन । उमेरिदा भइरहेका र गरिरहेका कामहरू पनि बिस्तारै उही गति तथा शिपकासाथ गर्न नसक्नु, सामान्य कुरा हुन्, । यो अवस्था ‘बित्पात नै हुन आँटेको भयावह लक्षण’ होइन, बरु ‘उमेर ढल्केर पाको–पाकीको प्रवेशद्वारमा पुगेको हेक्का राख्नैपर्ने पूर्व झझल्को’ मात्र हुन् । धेरै वा असाद्ध्य रोगव्याध नभए पनि उमेरिदा आउने सामान्य शारीरिक परिवर्तन बारेमा पूर्व जानकारी लिइरहेमा पाको हुँदै जाँदा नआत्तिई सकेको सावधानी लागु गर्न सकिन्छ ।

१. खानेकुरा अडकिनेः पाको हुँदैजाँदा मानिसहरू बोल्दा, कुराकानी गर्दा वा एक्लै केही सोचेर बस्दा र्‍याल चुहाउने हुन सक्छन । हेर्नोस् न, ‘घाट जाने बेला भएका मान्छे अझै केके न गर्नसक्छु भनि राजनीति र सिफारिसका पदमा टाँस्सिनेहरू’ भाषण गर्दा होस् वा सन्मुखमा कुराकानी गर्दा, कति त रुमालले मुख छोप्न लागिरहन्छन् । अझ थुकको बाछिटाले चाकरीमा बसेकाको अनुहार भदौरे वर्षाले भिजाएझैँ भएको प्रष्ट देखिन्छ नै । उमेर धेरैहुँँदा यस्तो त हुन्छ तर खाना खाँदा यथेष्ट नचपाउने, बिस्तारै खाना नखाने, झोलिलो सट्टा फुको वा निस्तो पारेर खाने पाका–पाकीहरूमा र्‍यालको कमीले खाना बुगुल्टो भई घाँटीको किलकिलेमा अड्कने हुन्छ । त्यस असजिलोमा कहिलेकाहीँ सर्कने, स्वासनलीतिर खाएको पिएको जाने, घाँटीमा गाँठो पर्ने तथा निली हालेमा पनि किक्क–किक्क लागेर घाँटीमा गरुङ्गो किसिमको दुखाई हुनसक्छ ।

उमेरिदा खाना अड्कने र घाँटीमा गाँठोपरी निल्ने समस्या नआओस् भनेरै हामीहरूले खाना खान दिँदा वा खाना खान लाग्दा वरपर पानीको व्यवस्था गर्ने चलन नै छ । प्रयाप्त थुकको अभावमा खाना लदरो नभई अड्किने समस्या आईलाग्छ । यस्तो र्‍याल कम हुने समस्या तल–माथि नक्कली दाँत हालेका पाकापाकीहरूमा पनि पाइन्छन, किलकी चपाउने दाँत बरपर त धातु र अधातुका बस्तुले ढाकेकाले थुक निस्कने मुखभित्रका भाग छोपिएका हुन सक्छन् । निल्न गाह्रो हुने समस्या भइहालेमा नरम बस्तु, गिलो खानेकुरा वा खाएका खानालाई सुलुत्त छिराउन सक्ने बस्तु ख्वाउने चलन पनि छ । पानी कुलकुल गरेमा मुखभित्रको तातोले मनतातो भई अड्केको निल्न सजिलो हुन्छ भने दुबै हात टाउको माथि लगेर सोझो उठाएमा घाँटीमा अड्केको बस्तु स्वत तलतिर झर्छ र गाह्रो भएको कम हुँदै जान्छ । खाना सर्केमा र फोक्सो वा नाकतिर गएमा उमेरिएको ज्यानलाई एकछिन त इन्तु नचिन्तु बनाइहाल्छ नि ! अझ खानेकुरा वा पानी नै पनि नाकतिर जाँदा त तैविशेष धेरै मात्रामा फोक्सोतिर नै गयो भने त त्यही पौष्टिक खाना–पिनले रहँदाबस्दा अन्य सङ्क्रमण गराई ज्याननै पुकलुक्क हुन बेर लाग्दैन । पछि ज्या भन्नुभन्दा पाकापाकीले बेलैमा जानकारी र निदानका बारे शतर्क हुनैपर्छ है ।

२. ठिक्कको तकियाः घाँटीदेखि तल पाइतालासम्मको भाग ठाडो मान्छेमा हेर्दा टाउको अलि अगाडि झुकेको हुन्छ, अर्थात मेरुदण्डलाई सोझो बनाउन टाउकोमा केही अग्लो बस्तु राख्नुपर्छ अनिमात्र सोझो हुन्छ । त्यसैले हामी तकियाको भाग टाउको पछाडि सिरानी भनेर राख्ने गर्छौं । कोही–कोही तकियाको प्रयोग नगर्ने पनि हुन्छन् तर घुराई, निद्रामा थुक निल्न र सरल तरिकाले स्वासप्रस्वास हुन पनि तकिया राख्नु आवश्यक देखिन्छ ।

तकियाको उचाई ओछ्यानभन्दा चारपाँच इञ्च अग्लो हुनुपर्छ भनि औषधोपचार गर्ने धेरै चिकित्सा विज्ञहरू भन्दछन् । पछिल्लो काल, ‘योगाभ्यास र हरेक रोगव्याधमा जडिबुटी भन्ने डङ्का पिटेर’ नाम कमाएका बाबा रामदेव पनि पाँच छ इञ्चको तकिया प्रयोग गर्ने सल्लाह दिन्छन् ।

तकिया ठिक्क उचाईको नभए बिहान सुतेर उठ्दा व्यायाम र चलफिर गर्नु अगाडि त घाँटीमा दुख्ने र टाउको गह्रौँ हुन सक्छ । यसो हुनुमा अन्य रोग खुट्ट्याइएको छैन भने पक्कै तकियाको उचाइको कमाल हो । आँखा उघ्रँदै त्यस्तो भएको अनुभव भएमा पहिलो काम त मन्द गतिमा उत्तानो सोझो सुतिरहनु पर्छ । अनि सुतिसुती तन्केर घाँटीमाथिको मण्टोलाई नखुम्च्याइकन गाला तकियामा जोडिने गरेर टाउको दायाँबायाँ पालैपालो लैजाने गर्नुपर्छ । यसो गर्दा गर्धनको जोर्ति पड्किन पनि सक्छ तर नपड्के पनि गर्धन हलुको हुँदै टाउको पनि गह्रौँ हुन छोड्छ र शरीर तन्काईले पुरैजीउ पनि स्फूर्ति हुन थाल्छ । अर्को तरिकामा ओछ्यानमा त्यही आसनमा रहँदै कम्मर मुनिको पुरै गोडा सुतिसुती पालैपालो सोझो सकेको उठाउने र बुढीऔँलालाई केन्द्रित गरेर दाहिने र देब्रेतिर घडीको सुई घुमेझैँ घुमाउने गर्नुपर्छ । सुतेर गरिने यो व्यायामपछि ओछ्यान वा सम्म धरातलमा बसेर गोडा र गर्धनमा मालिस गरेमा दुखाइ–असजिलो छिटै कम हुन्छ ।

३. मांसपेशी बाउँडिनेः पाको उमेरमा सबैजसो उमेरिएका महिला–पुरुषहरूले गर्ने सामान्य गुनासोमा पिँडौला बाउँडिने समस्या हो । अलिबढि कमजोरहरूमा पाखुरा, तिघ्रा, छाती, पेट, ढाड र कम्मर पनि मांसपेशी बाउँडिएर सुम्ला बनी स्वास फेर्न, ठाडो बस्न र तनक्क हुन पनि नसकी कहराइरहेका पाइन्छन् । शरीरका मांसपेशीहरू पुरानिएर कमजोर भई विभिन्न जीवरासायनिक तत्व र मिश्रणहरूको अभाव उमेरिदा हुन सक्छ । उचित सन्तुलनमा शरीरलाई तन्दुरुस्त राख्न अम्लीय, क्षारीय तथा उपक्षारीय पदार्थहरू आवश्यक हुन्छन् । बिस्तारै निष्कृय हुँदै गएका आन्तरिक शारीरिक प्रक्रिया साथै विविध प्रतिक्रियाको सुस्तताले हाम्रो शरीर भित्र वयस्क होउञ्जेल नियमित उत्पादन भइरहेका जैविक पदार्थहरूमा कमी वा बढोत्तरी हुन जान्छ । यसले गर्दा जैविक असरले स्वस्थ भइरहेका अङ्गहरूका गतिविधि कम वा बढि हुने अनि बढिमा अवरुद्धसमेत हुनजान्छ । त्यसैको लक्षणस्वरुप शरीरका मांसपेशीहरू वयस्कमा गठिला र बलिया भएकोमा व्यायामको अभावसाथै पोषण आपूर्तिको कमीले कमजोर तथा लुला, झोल्लिने हुन जान्छन् ।

शरीर उमेरिदा कमजोर भएको अवस्थामा सामान्य कामले अतिथाक्ने भएर भित्री शक्तिलाई कायम राख्न चाहिने उचित मात्रामा योगिकहरूको कमीलाई बोध गराउन मांसपेशी बाउँडिदिने गर्दछन् । कतिपय अवस्थामा स्थानियरुपमा सक्रिय गराउन मालिस, तेल घसाई साथै माडेर मांसपेशी सामान्य बनाउन सकिन्छ । थप आन्तरिक योगिकहरूको सन्तुलनका लागि नुनचिनी पानीको प्रयोग, फलफूलका रस र सागसव्जीको झोल सेवन गरेर पनि सन्तुलनमा ल्याई बाउँडिने हटाउन सकिन्छ । धेरै पहिलेदेखि थलापरेका बिरामीलाई खसि–बोकाका खुट्टीका मसलायुक्त तातो रस, ज्वानुको झोल, उर्जा उत्पादन गर्ने गेडागुडीका खानेकुरा भिजाएर अझ टुसा उम्रेका खाद्यान्न खुवाउने चलन पनि थियो ।

गोडाका पिँडौला बाउँडिदा हात उठाएर पनि निको पार्ने तरिका अहिले चर्चाको विषय बनेको छ । व्यवहारमा प्रमाणित भनि गरिएको प्रचारमा देब्रेगोडा बाउँडिन थाल्यो वा बाउँडियो भने दाहिने हात माथि उठाउनुपर्छ भनिएको छ । त्यस्तै दाहिने गोडा बाउँडिन खोज्दा देब्रे हात माथि उठाएमा गोडा बाउँडिएको हटछ भनिन्छ । यसरी गोडाका माँसपेशी बाउँडिने समस्यामा आराम पाउने जस्तै अन्य अङ्गहरू बाउँडिदा यस्ता सरल र सहज उपायहरू प्रकाशमा आएमा न्युनवर्गका पाकापाकीहरूलाई निकै सुविधा हुने विश्वास गर्न सकिन्छ ।

४. झम्झमाउने गोडाः पाको उमेर आफैँमा एउटा कौतुहलपूर्ण उमेरिदाको उमेरसमुह हो । पहिले कहिल्यै नभएका रुपरङ्गमा महिला र पुरुषहरू देखा पर्दछन् तथा भोग्नेले मात्र राम्रो चाल पाउने मनोविज्ञान विकसित भएको पाइन्छ । उही मानिसले आफू यसअघि कहिल्यै नसोचेका शारीरिक–मानसिक अवस्थामा आफू आइपुगेको बल्ल थाह पाउँछन् भने अरुले त थाह नपाउनु के आश्चर्य भयो र ? त्यसैले आफूभन्दा पाका मान्छेलाई साह्रै गम्भीरतापूर्वक आदर गर्ने संस्कार भएका परिवारमा मात्र उमेरिएका सदस्यहरूलाई विश्वाससाथ हेक्का राख्ने बाहेक अरु परिवारमा पाकापाकीलाई कष्ट बढेकै पाइन्छ । उहाँहरूका हरेक समस्याहरू परिवारका सदस्यहरूले भोगिसकेका नभएर धेरै भनिरहेमा पत्त्याउन छाड्छन् र दुष्ट्याइँको हदभएमा घरको अनुत्पादक व्यक्ति, बोझ भएको भनेर पञ्छाउन मात्र खोज्छन् । के गर्नु उमेरिदा भोगिने शारीरिक र मानसिक पीडा तथा अनुभूति यस्तै उमेरसमुह नपुगेसम्म नभोगिने भएर आफूमुनिकाले धेरै कुरा आफैँ नभोगेकाले उस्तै गम्भीरताले नलिन सक्छन् ।

हात–गोडा र हत्केला–पाइला झमझम गरेको कारणले स्नायुदेखि पोषणको कमीसम्मका विभिन्न समस्या शरीरमा हुन सक्छन् । प्रत्यक्ष कारण र नियमनका उपाय अरु नदेखिए, व्यायामका सजिला उपायहरू मार्फत घटाउन सकिन्छ । अनुभवीहरू भन्छन्, दाहिने खुट्टा पोल्ने तथा झमझमाउँदा देब्रे हात सिधा उठाई हत्केला पुरा तागतले हल्लाउने गर्दा पीडा कम हुन्छ । त्यस्तै देब्रे खुट्टा झमझम र पोलेको अनुभव भएमा दाहिने हात त्यसरी नै उठाई हत्केला सकेसम्म बढी हल्लाउने गर्दा सायद रक्तचापको कारणले पीडा कम भएको पाइन्छ । पहिला–पहिला हात–गोडा निदाउँदा र झमझमाउँदा प्राय सम्बन्धित भाग हल्लाउने तथा चिमोटने गरेको रक्तसञ्चारलाई उत्तेजित साथै स्नायुप्रणालीलाई फूर्तिलो पार्न नै होला !

उमेरिदा बराबरः
अरु उमेरसमुहमा सामान्यदेखि निकै फरक अवस्थामा मानिसहरू हुर्कँदै आए पनि सेवानिबृत्त महिला–पुरुषहरू करिब साठीवर्षे उमेर छिचोल्न लाग्दा केहि उपल्लो आर्थिक र शारीरिक हैसियतका बाहेक सबैजसो पाका–पाकीहरूको अवस्था उस्तै हुन्छ । हो, बाहिरी लवाइ–खवाइ–बसाइ–हिँडाइ–बोलाई फरक हुनसक्छ, तर शारीरिक अवस्थाको प्रभावले मानसिकता उस्तै खालको समान व्यवहार आएको पाइन्छ । बाघचाल खेल्नुअघि बाघ–बाख्रा एकै ट्वाकबाट निकालिन्छन् तथा खेल सकिएपछि एकै भाँडोमा छ्यास्‌मिस राखिन्छ । बुद्धिचालमा राजा, हात्ती र प्यादा (सिपाही) खेल्नुअघि एकै बट्टाबाट निकाली खेलिन्छ, खेलुञ्न्जेल आआफ्नै हैसियतमा रहे पनि खेल टुङ्गिएपछि सबैलाई हैसियत अनुसार अलग–अलग बट्टामा होइन, एकै बट्टामा खाँदेर राखिन्छ ।

प्रयोगका अवधिमा बल्न छोडेका र काम नलाग्ने भनि घुर्‍यानमा फालिएका दुबै चिमका हैसियत अन्त्यमा उहि हुनेरहेछ । तथाकथित आधुनिकताको नाममा बढ्दो एकल पारिवारिक अवधारणा, निष्कृय जनशक्ति तथा कमाइ–धमाईमा बाधक ठानी हेलाँ–होचोमा परी बृद्धाश्रम र ज्येष्ठनागरिक सेवा केन्द्रमा पैसाको तुजुकले पसारिएका पाका बाआमा सबैको हैसियत एउटै होइन र ?

बृद्धाश्रमको चित्रः बृद्धाश्रममा एउटा नवआगन्तुक हिजो कुनै संस्थान वा विभागको कुनै दलको आडभरोसमा सिफारिस भएका महानिर्देशक भएकोले आफूलाई ठूलै पदको ठानेर कोहीसँग नबोली गजक्क परेर बस्ने गर्थ्यो । उ कतिञ्जेल एक्लै बस्न सक्ला ? हो, हिजोको पदिय घमण्ड र बडप्पनको अहमले साझा खाना तथा घुमफिरमा पनि अरुलाई नपुछेर नबोल्न सक्ला ? विभिन्न कारणले नजिक परेको अर्को गमदारी पाको मान्छेले कुनै प्रशङ्गमा कुरा चलाउन सक्छ र मन परेमा उनीहरू बिचमा फेरि भेट्दा कुरा हुन सक्छ । स्वएकालापको एकोहोरो सम्बादको अवधि बढेसँगै आत्मकथनबाट उनीहरू बिच सोधपुछ र पूर्वस्थितिको प्रश्नोत्तर बढन सक्छ ।

आफूसँग नजिक परेका अर्का गमदारी पाकालाई महानिर्देशकले ‘म त यहाँ बस्ने मान्छे हो र ? के गर्नु, छोराछोरी सबै विदेशमा ग्रिनकार्ड पाएका, उता बेलाबेला त जान्छु, आफूलाई नेपाल नै मनपर्ने, त्यसैले सुबिस्तामा बस्न बाध्यताबस यता राख्देका’ भनि हाकिमी दम्भ देखाउन चुक्तैनन् । अर्का पाका गमदारी मान्छे उसका कुरा सुनिरहन्छन्, केही भन्दैनन्, चिन्तन मनन्‌मा नै गम्भीर भएका पाइन्छन् ।

सधैं आफ्नै डम्फु बजाइरहने हाकिमलाई धेरै दिन आफूमात्र फतफताएको र ती भलादमीले सुनिमात्र रहेकोमा अनौठो लाग्न थाल्छ । अनि उनका बिगत सोद्धै अलि हियाएर भन्छ, ‘तिम्रो त मेरो जस्तो होइन होला ? के छोराछोरीले दुख दिएर कि, नभएर, यता बस्न आएको ? कतै सानोतिनो जागिर थियो ? निबृत्तिभरण भए त पुग्ला कि ? कि कसैले यहाँको खर्च व्यहोर्छ ?’ गमदारी पाका आफ्ना मधुर स्वरमा जवाफ फर्काउँछन् ‘गरिरहेको सेवाबाट निबृत्त भएपछि हामी सबै प्रयोग भएका र अब नबल्ने चिमजस्तै हौँ । वास्तवमा बल्न छाडेपछि ती सबै पुरानिएका नै हुन्, पहिला कति तेजिला र कति वाटका थिए भन्नेसँग अब के महत्व होला र ? म त यहाँ बस्न थालेको पाँच वर्ष नाघ्यो । मैले कसैलाई पनि भनेको छैन, म जनताले रुचाएर स्वतन्त्र उम्मेदवारभई दुई कार्यकाल संविधान सभा र संसदको सदस्य थिएँ ।’ हिजोको स्थितिमा अहिले उड्केर के हुन्छ र ? अहिले ‘उमेरिएर पाको हुँदा कसरी क्रियाशील जीवन जीउने भन्ने पो महत्व राख्छ’ भन्ने भलादमीको सारसंक्षेपमा भनाई थियो ।

ती भलादमीले बृद्धाश्रमको आँगन परिसरमा देखाउँदै भने, ‘ऊ, तपाइँको दाहिने तिरकी महिला एउटा बैङ्ककी महाप्रबन्धकबाट सेवानिबृत्त हुन भने तिनीसँग गफ गर्दै रहेकी अर्की महिला महाविद्यालयकी प्राध्यापक र सेवानिबृत्त प्राचार्य हुन् । उतातिर चउरमा व्यायाम गरिरहेका मान्छे सैनिक रथी पदबाट सेवानिबृत्त हुन् । उ त्यता झल्लरी छातामुनि बसेर किताबमा नै एकाग्र भएका विश्वविद्यालयमा नाम चलेका, विषयविज्ञ वैज्ञानिक प्राध्यापक हुन्, उनले कहिल्यै आफ्नो परिचय त खोलेनन् तर मलाई थाह छ । ऊ, त्यताका छिरबिरे पोसाकमा लोकप्रिय कलाकार थिए, सँगै बसेका सेतो लुगामा प्रख्यात साहित्यकार, खैरो सुरुवालमा प्राचिन ताडपत्र, भोजपत्रका लिपिविज्ञ, यस्तै छ्न् यहाँ ।’ उनले गम्भीर खुइए काढ्दै भनिरहे, ‘हेर्नोस् त, सबैजना आफ्ना जमानाका विभिन्न वाटका तेजिला चिमजस्तै थिए । उनीहरू कति वाटका, कुन शक्तिका र कुन श्रेणीका थिए ? भन्ने कुरा अहिले केही अर्थ राख्दैन, सबैजना अहिले एउटै पद र योग्यताका छन्‌– उमेरिएका पाका र पाकी नागरिक, होइन त ?’

हिजोका जसरी भए पनि कमाएका धन, सम्पति, इज्जत, मान र पद पाको अवस्थामा आइपुग्दा सकेमा अर्तिउपदेशको रुपमा काम लाग्ला तर आफ्नो शारीरिक तथा मानसिकताले कम सहयोग गर्नथालेपछि ती पनि अस्थाई हुन पुग्छन् । उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको आभा मनमोहक अतिआकर्षक लालिमायुक्त हुनेगर्छ तर धेरैले उदाउँदोलाई मन पराउँछन् । अस्ताउँदो सूर्यको भविष्य रात हो तर उदाउँदोको भविष्य दिनभरिको चहकिलो प्रकाशयुक्त समयको द्योतक हो । हाम्रा बिगतका कुनै पनि आयस्ता यो उमेरमा सम्झन रमाइलो हुन्छ तर उमेर अनुसार त्यति उत्पादकत्व नबढाउने र काम दिन नसक्ने पत्रु भएका हुन सक्छन् । त्यसैले बिगतका उपलब्धिमा रमाउने भनेको ‘बाजेले चारपाथी घ्यु खाएका थिए, नपत्त्याए मेरो हात सुँघ त’ भनेजस्तै हो । यो व्यवहार छोडेर उमेरिदा हामीहरू पुराना ठस्सामा होइन् अहिलेको पाको उमेरमा गर्नसकिने ठोस योगदान सम्पन्न गर्न दत्तचित्त पो रहनुपर्छ, अनि पो पाको उमेर पाको काममा बित्छ, नत्र त अरुले भनेझैँ उमेरिएको समय ‘बुुढेसकाल’ नै हुनजान्छ ।

अन्त्यमा,
बिगतका कमाई नाम, धन, ख्याती सबैमा मख्ख पर्दै सकेसम्म आजका लागि थप कमाईको धामा गर्नुहोस् । आजको कमाई उमेरिदा भोगचलन गर्न पाउने साँच्चैको अब काम लाग्ने धन हो । बिगत रमाइलो सपना जस्तै हो भन्ने सोचेर वर्तमान सभ्य, शिष्ट र सप्तरङ्गी धनुषजस्तै मनमोहक रहेकोमा दङ्ग पर्नोस् तर भोगेका दुख वा सुखको सम्झनाले अहिले व्याकुल नहुनुहोस् । यो उमेरमा सन्तोष र रमाइलो कसरी हुन्छ, त्यता सोच्नोस्, त्यहीअनुसार काम गर्दै आफ्नो र सकेमा सामाजिक हितमा समय गुजार्नोस्, अब तपाइँको उमेरले ‘गनगन, छनक–फनक, ईर्ष्या, रिस, डाह, झगडा, निहुँ खोजाई, निष्कृयता, पिरलो’ आदि गर्ने छुट दिनैसक्तैन । पुराना कुनै पनि उपलब्धि, डिग्री, मान र सम्मानका प्रमाणपत्रहरू अब अर्थहिन भएर फगत कागजका खोष्टा हुन जान्छन् र अन्तिममा तपाइँको बहुजनहितायको यश र प्रमाणपत्र मध्ये मृत्युदर्ता भएको कागज बरु काम लाग्न सक्छ ।

यसै आशयलाई मध्येनजरमा राखेरै केही वर्ष अघिसम्म ओझेलमा परेको पाकापाकीहरूको हितका क्रियाकलाप, साहित्य तथा नीति–नियम अचेल बढि मुखरित हुन थालेका छन् । वर्ष दिनमा ज्येष्ठ नागरिक दिवसमा लाजगाल आउने सरकारी डम्फु बजाई अचेल दैनिक विशेषत गैरसरकारी सञ्चारका विभिन्न साधनबाट दैनिक देखिन र सुनिन थालेका छन् । हुँदा–हुँदा अनुहारीका तथा विभिन्न विद्युत सञ्चारका विविध माध्यमबाट पनि दैनिकजसो पाकापाकीको हितमा सामग्रीहरू प्रशारण भइरहेका छन् । यस्तो क्रियाकलापबारे जानकार नेपालीहरू अहिलेका उमेरिएकाको लागि र भोलि आफ्ना नाति–नातिनाको पाको उमेर सुरक्षित पार्न ढिला गर्ने छैनन् भन्ने विश्वास बढेको पाइन्छ, होइन त ?

०००
फागुन १६, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x