हरि खनालसपनामा आमा
आमाले पछिल्तिर देखाइन् । छोरोको पछिल्तिर दुवै आँखाबाट आँसु बगिरहेका अवस्थामा बाबु र छोराको आँखा जुध्यो । छोरो चिच्यायो 'बाबा ! आमा !!!' बिचरोको सपना टुट्यो ।

हरि खनाल :
‘छोरा ! तिम्रो निधारमा कति ठूलो टुटुल्को उठेछ ।’ आमाले टाढैबाट भनिन् । उसले आँखा खोल्यो । आफैँले छुँदा पनि बेसरी दुखेको टुटुल्को आमाले छाम्दा दुखेन बरु मलम लगाएझैँ शीतल भयो । आमाले उसको निधारको टुटुल्को हलुका हातले चलाएरै ठीक पारिन् ।
‘तिमीलाई पनि तिमीले हामीलाई तीर्थ गर्न जाने भनेर ल्याएजस्तै गरी ल्याएर छोडे कि आफैँ आयौ त यो वृद्धाश्रममा ?’ आमाले मुसार्दै सोधिन् ।
‘हो आमा मैले हजुरहरूलाई ल्याएकै शैलीमा छोराबुहारीले ल्याएर छोडे ।’ घुँक्कघुँक्क गर्दै भन्यो छोराले ।
‘अनि तिमीले त तिम्रो बाबुआमालाई नै ल्याएर छोडेका थियौ त । बुहारीलाईचाहिँ ल्याएनन् छोराले ?’ आमाले सोधिन् ।
‘आमा ! तपाईँलाई बुहारीले बेलनाले हिर्काएकी थिई हैन ?’ छोरोले आँखाभरि आँसु पार्दै सोध्यो ।
‘हो छोरा । बुहारीले बेलनाले हानेकी थिई । तिमीले तिम्रो बाबुलाई धकेलेर लडाएका थियौ । तिम्रा छोराले के गरे बाबु ?’ आमाले सोधिन् ।
‘हजुरकी नातिनी बुहारीले त कुकर उठाएर हानिछन् । तपाईँको बुहारी त उठ्दै उठिन । मलाईचाहिँ छोरोले आफैँले घाँटीमा झुण्ड्याएको त्यो बिरामी जाँच्ने स्टेथेस्कोप भन्छ क्यारे त्यसैले हानेको थियो ।’ छोरोले सुँक्कसुँक्क गर्दै भन्यो ।
‘आम्मै मेरो बाबुलाई कति दुख्यो होला ? कहाँ चोट लाग्यो बाबु ?’ आमाले छोरोलाई सुमसुम्याउँदै सोधिन् । छोरो पनि मातृस्नेहमा पग्लिँदै चिच्यायो ‘आमा मलाई टाउकोमा हानेको थियो । खै पछि कता लगेर उपचार गर्यो कुनि । थाहा पाइन ।’
छोरो रोएकोले आमाले धेरैबेर मुसारिन् । उसका आँखा अलि ओभानो भए ।
‘बाबु ! तिमी पनि यही वृद्धाश्रममा आइपुगेछौ जहाँ हामी बसेका थियौँ । तिम्रो नाम सुनेपछि यो वृद्धाश्रमले पैसा त मागेन नि ?’ आमाले सोधिन् ।
‘खै आजसम्म मागेको छैन । छोरोले बुझाएछ कि ।’ छोरोले आश्चर्यभावमा आमालाई भन्यो ।
‘तिमीसँग अझै त माग्दैन होला छोरा । किनभने तिम्रो बाबा र मैले धेरै नै पैसा जम्मा गरिदिएका थियौँ । त्यो पनि तिम्रै नाममा ।’
‘हँ कसरी जम्मा गरिदिनुभयो ? कहाँबाट आयो त्यतिका पैसा आमा ?’ छोरोले उठेर सोध्यो ।
‘तिम्रो बाबा धागो कात्नुहुन्थ्यो । म बत्ती कात्थेँ । हामीले निकै दुख गरेर पैसा कमाएका थियौँ ।’ आमाको गला अवरुद्ध भयो ।
‘आमा ! अनि के आधारमा हजुरहरूले मेरो नाममा पैसा जम्मा गर्नुभयो त ?’ छोरोको रुञ्चे बोली निस्क्यो ।
‘हामीलाई थाहा थियो तिमी पनि यहीँ आइपुग्नेछौ भनेर । हामीले यहाँ बाँच्न निकै दुख गर्नुपर्यो ।तिम्रा हजुरबा र हजुरआमाले आफ्ना छोराबुहारी यस्तो ठाउँमा आउनुपर्ला भन्ने सोचेका पनि रहेनछन् । किनभने उनीहरूलाई त यहाँ आउनुपरेन । त्यसैले हाम्रा लागि केही गरिदिने कुरै भएन । तिमीलाई भने यस्तो बाध्यता आउला भन्ने हामीले सोच्यौँ । यहाँ आएपछि हामीलाई जस्तो दुख तिमीलाई नपरोस् भन्ने तिम्रो बाबा र मेरो चाहना थियो । भगवान दाहिना भएर तिमी यहाँ आइपुगेनौ भने हामीजस्ता अलपत्र परेका वृद्धको लागि हामीले जम्मा गरेको पैसा खर्च गर्नु भनेर भर्पाइ गरिदिएका थियौँ ।’ आमाले सुनाइन् । आमाको आँखाबाट अविराम आँसु झरिरहेका थिए ।
‘बाबाचाहिँ मलाई हेर्न आउनु भएन नि ।’ छोरोले फेरि जिज्ञासा राख्यो ।
आमाले पछिल्तिर देखाइन् । छोरोको पछिल्तिर दुवै आँखाबाट आँसु बगिरहेका अवस्थामा बाबु र छोराको आँखा जुध्यो । छोरो चिच्यायो ‘बाबा ! आमा !!!’
बिचरोको सपना टुट्यो । बाहिर मानिसहरूको आवाज सुनिँदै थियो ‘आज आमाऔँसीको दिन । हामी यहाँ बसेका आमाहरू लगायत सबै वृद्धहरूलाई आफ्नै हातले फलफूल खुवाउँछौँ ।’
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































