जीवनाथ अधिकारीपछुतो- २
कोही छैन सँगै अलग्ग सब छन्, झन् दूरमा छन् सबै लठ्ठी खोजिदिने सहाय अब खै ? टाढा भएका सबै ॥

जीवनाथ अधिकारी :
(अहिले छोराछोरीलाई जसरी पनि विदेश (युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत आदि मुलुक) पठाउने प्रवृत्ति डरलाग्दो रूपमा बढ्दो छ । यसले गर्दा गाउँघर युवाविहीन भएका छन् भने वृद्ध बाबुआमा सहाराविहीन भएर बाँचिरहेका छन् । बाबुआमालाई छोराछोरी विदेश पठाउन पाए के के न भइन्थ्यो भन्ने लाग्छ सुरुमा अनि पछि सहाराहीन भएपछि पछुताउन वाध्य देखिन्छन् । यो कविता यही सन्दर्भमा आधारित छ ।- जीवनाथ अधिकारी ।)
यस्तै रम्य सुरम्य भाव गतिमा बर्सौँ बितेछन् अहो
बिस्तारै अब जिन्दगी सजलको बुझ्नै परेझैँ भयो ।
गोडा लुग्लुग गर्दछन् अझ अरू लठ्ठी भयो आश ता
कोही छैन समीपमा जल दिने हामी भयौँ दास ता ॥६॥
पैसा आउँछ हुर्हुरी तर कतै चल्दैन गोडा रती
अस्पत्ताल पु-याउने अब कुनै छैनन् यहाँ सन्तति ।
तातो भात न मिल्छ साँझ अथवा पानी तताई कुनै
खाऊ भन्दछ, प्यारले अब यहाँ माथा समाई कनै ॥७॥
छोरो सात समुद्र पार पुगिगो छोरी छ उस्तै अनि
बोल्छन् नाति र नातिना फुन गरी ग्रान्फा र ग्रान्मा भनी ।
बुझ्दैनौँ उनका न भाव मजले हामी यता गाउँमा
नौला छन् विचरा छ शून्य मनमा वैराग्यका ठाउँमा ॥८॥
पुर्जा छन् खुकुला शरीर अबको हो हाडछाला सरि
चट्टै चुँड्न तयार काल कसिलो दौर्बल्य माला सरि ।
यै बेला सब साथ साथ नहुँदा एकान्तको वास भो
कोही चाल नपाउँदै मरणको सन्त्रासमा त्रास भो ॥९॥
बाजेबाउ सदैव साथ रहँदा झुप्रो सधैँ स्वर्ग हो
आमा नाति र नातिना र भतिजा भान्जा भए स्वर्ग हो ।
कोही छैन सँगै अलग्ग सब छन्, झन् दूरमा छन् सबै
लठ्ठी खोजिदिने सहाय अब खै ? टाढा भएका सबै ॥१०॥
क्रमशः
०००
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































