एल् पी खनालहाम्रो आवश्यकता
सक्छन् बाड्न अनेक ज्ञान सिपका पाकाहरू केबल संस्था माझ समेट्न पर्छ सब यी जेठाहरूकै बल उत्साही अब बन्नुपर्छ जन हो त्यागेर अल्छीपना वृद्धा वृद्धहरू बढौँ अघि वढौँ राखी ठुलो चाहना ।

एल् पी खनाल :
पाको मानिस मै तथापि अहिले भन्दै छु खस्रो खरो
हामी बढ्नु अगाडि पर्दछ यहाँ छाती बनाई दरो
वृद्धा वृद्धहरू पुगी सदनमा धेरै कुरा भन्नु छ
हाम्रा निम्ति र देश निम्ति गतिलो खाका नयाँ कोर्नु छ ।१
केही सांसद वृद्ध मानिसहरू पार्टीविना छानियून्
राम्रो रक्षण वृद्ध बाल वनिता गर्नेहरू राखियून्
होस् निर्माण सशक्त कानुनहरू पाकाहरू लक्षित
चर्चा होस् अधिकार वृद्धजनका निष्कर्षमा होस् हित ।२
हाम्रो धर्म परम्परा रहिरहोस् यो देश बाध्ने कडी
शिक्षा नैतिकको पढाइ पनि होस् खाँचो भयो यो घडी
हाम्रा मूर्तिकला अनेक थरि छन् बुट्टा कलाका कृति
राम्रा झ्याल मयूर पङ्ख छ सफा आश्चर्य त्यो आकृति ।३
सक्छन् बाड्न अनेक ज्ञान सिपका पाकाहरू केबल
संस्था माझ समेट्न पर्छ सब यी जेठाहरूकै बल
उत्साही अब बन्नुपर्छ जन हो त्यागेर अल्छीपना
वृद्धा वृद्धहरू बढौँ अघि वढौँ राखी ठुलो चाहना ।४
हो प्राङ्गारिक खाद जैविक भलो खेती हलक्कै हुने
शाकाहार असाध्य अन्न रसिला स्वादिष्ट सारै हुने
सक्छन् बाँड्न अनेक ज्ञान यसका पाकाहरू नै अब
खेती गर्न सिपालु ज्येष्ठ जन हो आई सिकाऊ सब ।५
०००
कामपा १६, नयाँबजार, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































