देवीप्रसाद मिश्रबुढ्यौली (काव्य शृङ्खला ३०)
मैला छन् कपडा धुने प्रविधिले ल्यायो नयाँ साधन । हाल्दा झट्ट पखाल्छ जो मिसिनले हुन्छन् लुगा कञ्चन ॥ पाएको सुबिधा प्रयोग गरिँदा हाम्रा बुढ्यौली तन । बन्छन् झर्झर चम्किला कनकझैँ यस्तै त हो जीवन

देवीप्रसाद मिश्र :
धेरै कारण दुःखका मनुजमा हुन्छन् जमेका तर
सोच्दै व्याकुलता भएर मनमा आस्वाद के मिल्छ र ?
पायौँ मानव जन्म कर्म बलले छौँ चेतनाका धनी
भेट्छौँ खोज गरे यसै हृदयमा आनन्दको पावनी ॥१५०॥
झर्छन् दाँत कपाल पाक्छ जनको लाग्दा बुढ्यौलीपन ।
यो संसार चलाउने प्रकृतिले त्यस्तै रच्यो कानुन ॥
पा-यो च्याप्प बुढ्याइँले अब भनी चिन्ता नमान्ने गरौँ ।
ठानौँ हुन् उपहार वृद्ध पगरी स्वीकार राम्रो गरौँ ॥१५१॥
जस्ता बोझ थिए वयस्क रहँदा बोक्दै उचाल्दै पर ॥
थन्क्याएर बुढ्याइँको पद मिल्यो आनन्द के छैन र? ॥
फुल्दा केश अझै अलङ्कृत भयो हो वृद्धको शोभन।
कालो पार्छु भने छ साधनसँगै यस्तै त हो जीवन ॥१५२॥
तक्माझैँ उपहार यो प्रकृतिले लौरो दियो सादर ।
जाँदा टोल छिमेकमा छ यसको कस्तो ठुलो आदर ॥
थाले कार्य समाल्न सन्ततिहरू राम्रो लिऊन् चिन्तन ।
थामून् यी वसुधैव, संस्कृति कला यस्तै त हो जीवन ॥१५३॥
फुक्ले दाँत भने,छ आज सुबिधा लाए नयाँ के भयो? ।
टोकिन्छन् फलफूल भट्ट र मकै हाँस्दै चपाए भयो ॥
आँखामा व्यवधान देखिन गए चस्मा लिऊँ साधन ।
सक्छौँ पढ्न,नियाल्न विश्व रमिता यस्तै त हो जीवन ॥१५४॥
मैला छन् कपडा धुने प्रविधिले ल्यायो नयाँ साधन ।
हाल्दा झट्ट पखाल्छ जो मिसिनले हुन्छन् लुगा कञ्चन ॥
पाएको सुबिधा प्रयोग गरिँदा हाम्रा बुढ्यौली तन ।
बन्छन् झर्झर चम्किला कनकझैँ यस्तै त हो जीवन ॥१५५॥
बस्ने चट्ट परी सफा मन गरी हिँड्ने सकेको जति ।
त्यो पल्लाघर मात्र जान सकिए सम्मान मिल्ने कति ॥
झुक्ने छन् भतिजाहरू पयरमा सङ्लो बनाई मन ।
केही ज्ञान सुझाव बाड्न सकेए यस्तै त हो जीवन ॥१५६॥
(क्रमशः)
०००
२०८०/०५/११
Subscribe
Login
0 Comments
Oldest






































