पिता
भएर खिन्नता सधैँ सुता र पुत्र छन् भने । भएन पूज्य कर्म यो पिता यसै बसे भने ।। दिउन् सुकर्म बाबुले हिँडुन् सुमार्ग सन्तति । हियारमा सजी बसुन् पिता बनेर सादगी ।।
कविराज घिमिरे :
पिता अमूक हुन् उनै विशिष्ट बन्नसक्तछन् ।
सुधीर चालका धनी पिता युगान्त चल्दछन् ।।
प्रसाद शुद्ध फूल हुन् रहुन् सदैव माथमा ।
सुमार्गमा हिँडाउँछन् बसुन् सदैव साथमा ।।
पिता हुंँदैन मृत्युको सिकार जो अभेद्य छ ।
रहन्छ प्राण कीर्तिमा शरीर ढल्न सक्तछ ।।
पिता समान विश्वमा मिलेन खै सुशासक ।
सबै छ गौणमात्र झन् पिता बुझौँ उपार्जक ।।
हराभरा बनाउने समस्त हुन् सुचालक ।
बनिन्छ वृद्ध प्रौढ वा युवा भएर बालक ।।
पिता विवेकका धनी पिता त फूल बाबरी ।
भनेर कामना गरौँ पिता बनुन् अजम्बरी ।।
सदैव दूरदृष्टि होस् मिलुन् सुकामनाहरू ।
पिता बनुन् सुधीर झन् सुगम्य भावका बरु ।।
चढेर शैलमा कडा गरी सयौँ परिश्रम ।
दिउन् पिता समग्रमा खुसी बनेर आश्रम ।।
भएर खिन्नता सधैँ सुता र पुत्र छन् भने ।
भएन पूज्य कर्म यो पिता यसै बसे भने ।।
दिउन् सुकर्म बाबुले हिँडुन् सुमार्ग सन्तति ।
हियारमा सजी बसुन् पिता बनेर सादगी ।।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest