विष्णुहरि पाैडेलचिनी रोग
दिए चिनी नाम रहेछ दुच्छर । धपाउँदै बस्तछु रात मच्छर । न पर्छ निद्रा न त चैन मिल्दछ । दिँदैन मीठो चिज खान दिक्क छ ।

विष्णुहरि पौडेल :
म लालसीको रसना महारथी ।
नवीन मीठो चिज चाख्न पारखी ।
कसार होस् दूध मलाई, किस्मिस ।
खुदो नचाखी किन मर्दथ्यो धित ।१।
उमेरमा खान जुरेन तक्दिर ।
भएँ म बूढो अब पच्छ के खिर ?
विडम्वना जीवनका आनेकन ।
उदेक नै लाग्छ गुने मनै मन ।२।
असाध्य मीठो गुलियो छ मोदक ।
म चाख्छु के छोड्नु र लाग्छ थक्थक ।
चिनी र चास्नीतिर हेर्छु टक्टक ।
मिठाइमा बाहुनकै छ रे हक ॥३।
म घुम्छु मौरी महको तलासमा ।
कुराउनी होस् हलुवा निवासमा ।
देखेर केरा,उखु हुन्छु घायल ।
अचाक्लि खाएछु, हुँदैछु कायल ।४।
शरीरमा लक्षण छैन रोगको।
मनग्य खाँदैछु खुराक भोकको।
कता गयो तागत,तौल खुम्चियो।
नयाँ चिनी रोग भनेर खुट्टियो।५।
दिए चिनी नाम रहेछ दुच्छर ।
धपाउँदै बस्तछु रात मच्छर ।
न पर्छ निद्रा न त चैन मिल्दछ ।
दिँदैन मीठो चिज खान दिक्क छ ।६।
बिगार्छ मातेपछि अंग चौकुना ।
सडाउँदै लान्छ नसा र रेटिना ।
दबाइले हुन्न निमान क्यै गरी ।
चिनी सुखी रोग भयो अजम्बरी ।७।
म चाहिँ लौ बाहुन नै परें अरे।
बिगार जेरी गुलियो भयो अरे।
सहेन यस्ले अरु जात खै किन?
बिमार छन् उत्तरदेखि दक्षिण ।८।
दुधालु गाई सरि ठान्छ डाक्टर ।
दबाइले रोग भएन मत्थर ।
नखान पाइन्छ मनग्य राशन ।
छडी लिई बस्छ कडा छ शासन ।९।
कुजात यो शत्रु भयो सहोदर ।
गरीब कंगाल भएँ हरोहर ।
चिता नपुग्दातक यो छ सारथी ।
गरेर जाला कि त अन्त्य आरती ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































