देवीप्रसाद मिश्रबुढ्याैली काव्य (शृङ्खला – ४९)
अनेक भक्ति मार्गछन् गरी कुनै सुसाधन । यता लगाइयो भने प्रसन्नता हुने मन ॥ गरेका कार्यमा सदा नहौँ अतृप्त सज्जन । सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥

देवीप्रसाद मिश्र :
सदा अभाव चित्तमा लिएर झन् सबैजना ।
मडारिँदै दगुर्दछन् न पूर्ण हुन्छ कामना ॥
छ साथमा सबै कुरा भनी बुझाउँदै मन ।
सिकौँ अगाडिबाट नै विशेषा बुढो हुन ॥ (२९२)
पहाड फोरिए, ठुला थुनेर ल्याइए कुला ।
खटेर कर्मभूमिमा फलाइए ठुला मुला ॥
सदा युवा ,वयस्क यो रहन्न सत्य जीवन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९३)
चरप्प थाल्छ फेरमा बुढ्याइँले समाउन ।
अवश्य पर्छ अन्त्यमा नजानिए सदा रुन ॥
गरौँ उदात्त तर्जुमा बनाउँदै खुसी मन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९४)
फुलेर केश देखिने सफेद यो हिमालझैँ ।
तथापि चित्त दौडिने पहाड टाकुरा अझै ॥
न हट्छ तिर्सना उता कमाउँदा अझै धन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९५)
सुकल्पना उदात्तको बनाउने ठुलो घर ।
अभावमा लपेटिने मनुष्य जिन्दगी भर ॥
शरीर काप्छ अन्त्यमा यता अतालिने मन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९६)
उमेर खट्कँदा उता युवा वयस्क सक्कल ।
गुमेर जान्छ साथको शरीर हुन्छ दुर्बल ॥
तृषा छ सूर्य पक्रिने अझै मनुष्यको किन ?।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९७)
अनेक भक्ति मार्गछन् गरी कुनै सुसाधन ।
यता लगाइयो भने प्रसन्नता हुने मन ॥
गरेका कार्यमा सदा नहौँ अतृप्त सज्जन ।
सिकौँ अगाडिदेखि नै विशेषता बुढो हुन ॥ (२९८)
(क्रमशः)
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































