देवीप्रसाद मिश्रबुढ्याैली काव्य (शृङ्खला – ५०)
नलाग आस रासमा झुकेर दासता तिर । बितेर जान्छ जिन्दगी बनी सदैव अस्थिर । समान मित्र साथमा मिलेर कार्य फाँटमा । जुटे पुगिन्छ लक्ष्यमा रहिन्न झोस काँठमा ॥

देवीप्रसाद मिश्र :
युवा थिएँ बुढो भएँ तथा छ सभ्य चेतना ।
कुनै निराश रासमा म लिन्न व्यर्थ वेदना ॥
निशा धपाउँदै उता,प्रभात नित्य डाक्दछु ।
न हार मान्छु कर्ममा विधानमा रमाउँछु ॥२९९॥
हिँडाउँदै छु जिन्दगी अझै छ जोस जाँगर ।
युवाहरू समस्तमा विशेषता छ आदर ॥
भरे म शून्य मार्गमा अवस्य जानुपर्दछ ।
बुढो लगाम अन्त्यमा युवा समक्ष छाड्नुछ ॥३००॥
मनुष्य जन्म साथमा चलायमान छन् पला ।
भुरा युवा र प्रौढ नै हुने पछाडिका बला ।
छ तथ्य हेर बाबु हो सपार भित्रको मन ।
सुयोग्य ठान चित्तमा सदैव वृद्ध चिन्तन ॥३०१॥
पछाडि गन्छ पाइला ढुकेर काल दुच्छर ।
अगाडि हिँड्छ आँटले शरीर अस्थिपञ्जर ॥
छ सोचमा उदारता समस्तका मुहारमा ।
खुसी सदा सदा झुलोस् प्रभातमा ससाँझमा ॥३०२॥
नथाक कर्म फाँटमा, नसाट सत्य दाममा ।
नपाल त्रास चित्तमा नलाग द्रोह भावमा ॥
ननाघ वृद्ध भावना विशेषता अमालमा ।
समाल सत्य साधना प्रभात झुल्छ माथमा ॥३०३॥
जुवा र तास खेलमा भुलेर द्वन्द झेलमा ।
पिटेर ढोँङ गेहमा छरेर अर्थ भेलमा ॥
विनाश हुन्छ जिन्दगी प्रताड घुस्छ देहमा ।
समाल वृद्ध भावना मनोभिराम गेहमा ॥३०४॥
नलाग आस रासमा झुकेर दासता तिर ।
बितेर जान्छ जिन्दगी बनी सदैव अस्थिर ।
समान मित्र साथमा मिलेर कार्य फाँटमा ।
जुटे पुगिन्छ लक्ष्यमा रहिन्न झोस काँठमा ॥३०५॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































