देवीप्रसाद मिश्रबुढ्यौली काव्य शृङ्खला (५४)
जमानाका गाना न त सहजले गाउन सिकेँ । रमानाका पाना न त कलमले बाहिर झिकेँ ॥ बचेराको चारो अपुग छ सदा पूर्ण ढुकुटी । बनाऊँ भन्दै यो,अझ पनि म गर्दो छटपटी ॥

देवीप्रसाद मिश्र :
लिई खाली भाँडो, धनधन भनी नित्य म बढी ।
कुदेँ भत्क्यो मेरो तर रहरको सुन्दर गढी ॥
छ आशाको भारी अझ पनिसँगै हे शिव हरे ?
न साथै लैजाने, धन पउल त्यो आखिर भरे ॥ (३३३)
नबल्झाऊँ केही विषय जटिला लाग्छ कहिले ।
सदा खेल्ने गर्छन् तर हृदयमा तर्क जहिले ॥
गुजुल्टेका तृष्णा अझ पनिसँगै छन् विविधता ।
यिनैले पार्दै छन् मगज वशमा दैनिक यता ॥ (३३४)
न नाङ्ने गौँडो यो अभर भरमा ख्याल गरियो ।
न साङ्लो, मायाको सहजसितले पार गरियो ॥
छ दिग्दारी, आफ्नो अविरलपला जीवनसित ।
न साट्ने कोही छन् वितल तलमा पावन हित । (३३५)
कुनै चर्दै हिँड्ने हरिण वनमा,त्यो मन भरी ।
लिँदै त्यस्तै चाला रनवन घुमेँ फुर्फुर गरी ॥
छ व्याधाले ताक्दै अविरल खुँडाले दिन गनी ।
त्यतै कुद्ने गर्दो म किन बिचरो मार्ग नचिनी ॥ (३३६)
गडेका छन् आफ्ना विविध घटना चङ्गुल बनी
सदा फन्को मार्छन् अझ हृदयमा हा! फनफनी ।
जवानीले छाड्दा सिथिल तन बन्दै अब गयो ।
त्यसै झस्क्यो मेरो मनमगज झन् त्रास भरियो । ( ३३७ )
जमानाका गाना न त सहजले गाउन सिकेँ ।
रमानाका पाना न त कलमले बाहिर झिकेँ ॥
बचेराको चारो अपुग छ सदा पूर्ण ढुकुटी ।
बनाऊँ भन्दै यो,अझ पनि म गर्दो छटपटी ॥ (३३८)
क्रमशः)
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































