हेम अधिकारीभो जीवनी बञ्जर (१४)
छोरा जोर हुँदा शशी-रवि दुवै साँच्चै उदाएसरि कत्रो हर्ष थियो,खुसी कति थियो आनन्दको बल्लरी ! पुग्दैनन् अब शब्द भन्न अगिका आनन्दका हर्षका पुग्दैनन् सब भन्न शब्द अहिले पीडा व्यथा कर्षका ॥

हेम अधिकारी :
चाँडै फर्क सँगै लिएर दुलही धन्दा बिहेको गरौँ
भित्र्याई दुलही नयाँ, सुमनझैँ शोभा र आशा छरौँ
खर्चै छैन फिरेस् लिएर सँगमा कर्तब्य आफ्नो भनी
भित्र्याई दुलही र भाइ घरमा फर्केर जानू अनि ॥
कस्ले सुन्छ, ठुले छ कुन् सहरमा, कस्ले लगी भन्दिने
जेठो बाहिरियो छ आस घरमा कान्छो भने के हुने
जम्मै छन् तर साथ छैन बुढियौँ मान्दैन कोही भनी
छोरा छन् ,दुलही छ तैपनि यहाँ छैनन्, सहारा पनि ॥
आशा लाग्छ सधै बधूसुत मिली जिम्मा लिऊन् यो अनि
तातो भात सधैँ मिठा वचनले पस्केर दिन्छन् भनी
हाम्रो हालत बिग्रँदैछ दिनहूँ, थामी घरैमा बसून्
कान्छी मात्र छ आस दीप घरमा छोरी-बुहारी बनून् !
छोरा जोर हुँदा शशी-रवि दुवै साँच्चै उदाएसरि
कत्रो हर्ष थियो,खुसी कति थियो आनन्दको बल्लरी !
पुग्दैनन् अब शब्द भन्न अगिका आनन्दका हर्षका
पुग्दैनन् सब भन्न शब्द अहिले पीडा व्यथा कर्षका ॥
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































