वृद्ध चिन्तन
घरझगडामा सरिक हुँदामा । मन अमिलो भो मसिन बुँदामा ॥ झुटमुट सौदा कपकप खाने । अशुभ कुरामा किन अब जाने ?
कविराज घिमिरे :
मयल निखारी हुनु छ सफेद ।
उचनिच त्यागी नगर विभेद ॥
कति कति हुन्छन् मनबिच गर्दा ।
रुख खुस हुन्छन् पतकर झर्दा ॥
चउर नजोती फसल हुँदैन ।
चुप किन बन्ने कथन हुँदैन ॥
रुन जब सक्छौ तब सिक हाँस्न ।
जतिजति लड्छ्यौ उठ अनि नाच्न ॥
पयर खिइन्छन् हतपत दौडी ।
नद किन घट्थ्यो अलिकति पौडी ॥
सबकन हुन्छन् यति गति बुझ्दा ।
कवि पनि रुन्छन् निच मति पुज्दा ॥
घरझगडामा सरिक हुँदामा ।
मन अमिलो भो मसिन बुँदामा ॥
झुटमुट सौदा कपकप खाने ।
अशुभ कुरामा किन अब जाने ?
पर हित गर्दै नजिक सपारौँ ।
जति कुभला छन् परपर पारौँ ॥
नरम कुराले कलुष बढारौँ ।
अब त बुढ्यौलीपन सुख पारौँ ॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest