
मातृमहिमा
आमा हुन् दरबार भव्य र ठुलो सन्तान खोपासरि आमा सागर हुन् अथाह जलको सन्तान थोपासरि । आमा हुन् सब बाँस झ्याङ तिनका सन्तान तामासरि तिम्रो चित्र उतार्न यो कलम के सक्थ्यो कठै ! के गरी ?

वासुदेव पाण्डेय :
धर्तीझै भरिपूर्ण, छ्यौ गगनझै छ्यौ स्थूल आमा तिमी
माया, धैर्य, सुसिर्जना र करुणा हौ मूल आमा तिमी ।
उस्तै जाँगर, कर्मशील, ममता छ्यौ दक्ष आमा तिमी
तिम्रा लागि समान सन्तति सबै निष्पक्ष आमा तिमी ॥
आमा छिन् घर स्वर्गतुल्य रसिलो चम्की सिताराहरू
आमा व्योम समान स्वच्छ र सफा सन्तान ताराहरू ।
आमा छैन भने त जीवन हुने निष्प्राण संसारका
आमाभित्र पगाल्न शक्ति छ कडा पाषाण संसारका ॥
आमा सूर्य समान छिन् र जगको सम्भार गर्छिन् सदा
न्यानो ज्योति सप्रेम उच्च करुणा वात्सल्य छर्छिन् सदा ।
आमाको ममता छ रश्मिसरिको देखिन्छ हिँड्ने पथ
आमा अक्ष भएर घुम्दछ सधैं यो जिन्दगीको रथ ॥
पीडा, दर्द, अशान्ति वा छटपटी बढ्थ्यो म हारेपछि
हुन्थ्यो रोग निको तुरुन्त करले आई मुसारेपछि ।
आमाको कर औषधी अमृतझै, मुस्कान सञ्जीवनी
आमा दृष्टि पुऱ्याउँछिन् दशदिशा रोकिन्न दैनन्दिनी ॥
आमाको महिमा अपार छ कहाँ लेखेर सिद्धिन्छ र
आमा काख समान भव्य र ठुलो के ठाउँ भेटिन्छ र ?
आमाको मन फैलियो अझ बढी, सन्तानको खुम्चिई
आमाको मन दाँज्न शब्द छ भने किन्थें म नै बेचिई ॥
खोजी जागिर चैन सौख सुविधा सन्तान जान्छन् पर
आमाको मुख हेर्न मात्र अहिले सन्तान फिर्छन् घर ।
आफू मर्न तयार सन्तति कतै नासिन्छ भन्ने डर
मानी मौन रहेर वृद्ध जननी कुर्छिन् पुरानो घर ॥
आमा हुन् दरबार भव्य र ठुलो सन्तान खोपासरि
आमा सागर हुन् अथाह जलको सन्तान थोपासरि ।
आमा हुन् सब बाँस झ्याङ तिनका सन्तान तामासरि
तिम्रो चित्र उतार्न यो कलम के सक्थ्यो कठै ! के गरी ?
०००
दुलही (२०७८)
Subscribe
Login
0 Comments
Oldest