नदी भट्टराईआमा ! म एक्लै कसरी रमाऊँ
रङ्गीविरङ्गी सपना छ मान्छे उत्सर्ग खाली मनले सँगाल्छे । यो चित्त खुल्ने नवचोट पाऊँ आमा म एक्लै कसरी रमाऊँ ॥

नदी भट्टराई :
संसार रित्तो ममता नभेट्दा
त्यो मातृवात्सल्य कतै नदेख्दा ।
बाँचेर आफू कति सास फेरूँ
आमा म एक्लै कसरी रमाऊँ ॥१॥
आकाश धर्ती पनि शून्य लाग्छ
को छैन आफ्नो मन दूर जान्छ ।
हाँसो र खुशी अब भन्न पाऊँ
आमा म एक्लै कसरी रमाऊँ ॥२॥
वर्षाद बग्दो चुहुँदो झरीमा
आए मलामी जब आँगनीमा ।
छोडी गएको दिन आज वर्षौंँ
आमा म एक्लै कसरी रमाऊँ ॥३॥
ओछ्यान भाँडो चुपचाप बस्छन्
सोधौंँ भने लौ नयनाश्रु खस्छन् ।
भित्ताहरूमा प्रतिविम्ब खोजूँ ?
आमा म एक्लै कसरी रमाऊँ ॥४॥
आफ्ना र अर्का चिनिंदैन हेर्दा
प्रत्येक पीडा छिनिदैन काट्दा ।
भोग्ने म नै हो अब न्याय पाऊँ
आमा म एक्लै कसरी रमाऊँ ॥५॥
चिन्नेहरूले पनि आश मार्छन्
नाताहरूले रमिता निकाल्छन् ।
पैसा भएको टुहुरो बनाऊ
आमा म एक्लै कसरी रमाऊँ ॥६॥
रङ्गीविरङ्गी सपना छ मान्छे
उत्सर्ग खाली मनले सँगाल्छे ।
यो चित्त खुल्ने नवचोट पाऊँ
आमा म एक्लै कसरी रमाऊँ ॥७॥
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest








































