हरि खनालआमा
पिण्डादि कर्ममा ढोंग आमा दूर गएपछि । गर्नु ख्याल हुँदा साथ सन्तान हुर्किएपछि ॥ देह विदेह भो के भो ? उनै छिन् गाँस सासमा । निद्रामार्ग हिँडी आमा आउँछिन् हर रातमा ॥

हरि खनाल :
अभाव शब्दमा भाव भएको मन जान्दछ ।
आमाको महिमा गान शब्दले कति धान्दछ ??
देवी हैन महादेवी उत्सर्गकी महारथी ।
सृष्टिकै जननी आमा रश्मि शीतलमा शशि ॥ १ ॥
युद्ध जीवनकै लड्छिन् ल्याउँछिन् शिशु बाहिर ।
महाकालसँगै लड्दै ल्याउँछिन् तन बाहिर ॥
छाम्छिन् खै ? मनको रत्न आफू चेत अचेतमै ।
च्याहाँ गर्छ जसै बालो पीडा निल्छिन् निमेषमै ॥ २ ॥
निख्रिँदै रित्तिदै जान्छिन् दिँदा जीवनको रस ।
लोली बोली सबै उर्जा उनकै भर निर्भर ॥
दुख्दा सन्तानको घाउ आमा आँसु बगाउँछिन् ।
खाँदा सन्तानले सामु आमा आफै अघाउँछिन् ॥ ३ ॥
आँधी हुरी झरोस् पानी छातीभित्र लुकाउँछिन् ।
मायाको रापले सेक्दै चिसोलाई सुकाउँछिन् ॥
पहिऱ्याई नयाँ बस्त्र खुसीभित्र हराउँछिन् ।
आफू टालाटुलीभित्र दङ्ग पर्दै रमाउँछिन् ॥४॥
तर्सिन्छिन् सपना देख्दा सन्तानतिर छाम्दछिन् ।
आँखा फर्फर गर्दैछ चिन्ता गर्दै डराउँछिन् ॥
धेरै हाँस्दा हुने चिन्ता रुँदा आकाश नै खस्यो ।
आमाको जिन्दगी सिङ्गै सुरक्षा सुरमा बस्यो ॥५॥
मातृवात्सल्यको धारा सन्तानमा बगाउँदै ।
जिन्दगी सुम्पिने आमा बैंस ऐस चढाउँदै ॥
दुःखमा सुखमा आमा सिर्जना कल्पनाभरि ।
माया छायाँ सबै आमा सच्चिदानन्दकी चरी ॥ ६॥
लाग्दा ठेस झरे केश ऐया आमा पुकारमा ।
कालको खेल नै फेल छोइँदैमा निधारमा ॥
उर्लने मनको चोखो चक्षुमा स्नेह सागर ।
आमा ! मात्रै भने पुग्छ चाहिन्न झूट आदर ॥७॥
पिण्डादि कर्ममा ढोंग आमा दूर गएपछि ।
गर्नु ख्याल हुँदा साथ सन्तान हुर्किएपछि ॥
देह विदेह भो के भो ? उनै छिन् गाँस सासमा ।
निद्रामार्ग हिँडी आमा आउँछिन् हर रातमा ॥ ८॥
०००
२०७९/१०/१८
मुजुरा (२०८१)









































आमाको महिमा गान शब्दमा भावमा बुनी ।
आएकोछ कवितामा छन्द माधुर्यता पनि ।
मुजुरा गर्भमा यो हो यौटा उत्कृष्ट सिर्जना ।
समेटिएछ यसैमा कविको काव्य तिर्सना।
लेखिएछ कविता यो जननी भावमा डुबी ।
लेखनी मात्र हैन यो कविको सिर्जना खुबी ।
कथा निबन्ध आदिमा देखिन्छ विविधा छवि ।
बाद्यवादनमा त्यस्तै अपार उनको खुबी ।