कविराज घिमिरेआमा
वृद्धा प्रौढा नतुन वयका जोसुकै हुन् तथापि आमा नै हुन् हृदयबिचकी साधनाकी उपासी सिर्जिन्छिन् यी सय सय गुना पूर्णताका प्रकाश आमाभित्रै भुवनभरिको सृष्टिको हुन्छ बास ।।

कविराज घिमिरे :
आमा हाम्री अमृत फल हुन् जिन्दगी स्वर्णहार
पार्छिन् नाना तरहसँगले दीप्त हाम्रो मुहार
छैनन् कुण्ठा फजित दिलमा प्रेम बाँडेर खात
आमाजस्तै विनय सुषमा उर्लिउन् पात पात ।। १
पुग्दा हामी हिमगिरि उता टुङ्गिने गर्छ यात्रा
आमा जान्छिन् अझ उपरमा गर्न हाम्रो सुरक्षा
जान्छौँ तीर्थाटन सकलले धर्म आओस् भनेर
आमाभन्दा नजिक रहने देवता को छ हेर ? २
वास्ता गर्छिन् चकचक गरे बिग्रने छैन कोही
माया दिन्छिन् असहज हुँदा व्यर्थमा रुन्न कोही
छोराछोरी सबलपनका पार्दछिन् साथ लागी
आमा हुन् यी असलपनकी कामदा प्रेम-दायी ।। ३
आँधीबेरी पनि नरमझैँ मान्दछिन् जुध्न सक्छिन्
कालामैला कहर ननिका वेदना तुर्न सक्छिन्
आमाको नै विगत छ ठुलो दैनिकीको व्यवस्था
आमा ! भन्दा गगन धरती बन्दछन् दीनजस्ता ।। ४
वृद्धा प्रौढा नतुन वयका जोसुकै हुन् तथापि
आमा नै हुन् हृदयबिचकी साधनाकी उपासी
सिर्जिन्छिन् यी सय सय गुना पूर्णताका प्रकाश
आमाभित्रै भुवनभरिको सृष्टिको हुन्छ बास ।। ५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































