कविराज घिमिरेवृद्ध
गुणरस भरिएका फूल हुन् वृद्ध वृद्धा कसुर कसर फाल्ने मूल हुन् वृद्ध वृद्धा हडबड सब छाडी धीरताका निसान परम सुख दिने यी प्राणझैँ हुन् तमाम ।।

कविराज घिमिरे :
जति छ सफर लामो जोसमा हौ नथाक
वय अझ खँदिलो होस् भित्रभित्रै नपाक
मनभरि नबजाऊ घन्टको नाद धेर
वरिपरि कति वृद्धा वृद्ध हाँस्छन् रमेर ।। १
जति गर मन बढ्दै जान्छ खाँचो भरिन्न
कपट छ तन भित्रै सुक्ख सन्तोष हुन्न
फगत छ धनमा नै ध्यानको बास तिम्रो
गलित मन त्यसैले पार्छ सारै नराम्रो ।। २
प्रतिपल बस वृद्धा वृद्धका छेउ नेर
अगणित शुभ वार्ता लागु गर्नू गमेर
सररर नतिजाका खुल्न सक्छन् मुहान
मन मगज बराल्ने शोच ती व्यर्थ ठान ।। ३
सकुशल हुन सक्छौ भोक तिर्खा नखप्ता
वय पनि तरुनो नै हुन्छ चिन्ता नपर्दा
विगत कति हरिया पूर्ण लाग्थे वसन्त
सुखकर दिन हुन् यी शुद्ध सायुज्य सन्त ।। ४
प्रकृति प्रगति हो यो घुम्छ आफैँ फनन्न
तरुणवय कसैको टक्क रोक्नै सकिन्न
फल पनि जब काँचो हुन्छ खाला र कल्ले ?
जब जब सब पाक्छन् खान थाल्छन् सबैले ।। ५
गुणरस भरिएका फूल हुन् वृद्ध वृद्धा
कसुर कसर फाल्ने मूल हुन् वृद्ध वृद्धा
हडबड सब छाडी धीरताका निसान
परम सुख दिने यी प्राणझैँ हुन् तमाम ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































